October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

नाकामा तैनाथ सशस्त्र तर रातिदिन तस्करी

भैरहवा– रुपन्देहीका सीमा क्षेत्रमा ५–७ किमीको दूरीमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) छन् । बीओपी डण्डा, भैरहवाबाहेक अन्य सबैमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्व छ । डण्डामा भने डीएसपीको नेतृत्वमा सशस्त्रको टोली छ । तर, यी सबै बीओपी तस्करीमा तल्लीन छन् । संगठनले दिएको अधिकार बाहिर गएर सूचना संकलनका नाममा बीओपीले घुमुवा प्रहरी राखेर तस्करी गराउँदै आएका छन् ।

Advertisement

तस्करहरुसँग लाइन मिलाएर घुमुवा मार्फत् सशस्त्र प्रहरीका निरीक्षकहरुले लाभ उठाउँदै आएका छन् । पछिल्लो समय रुपन्देहीको बेलहिया नाका, पक्लिहवा, मर्चवार, लुम्बिनी क्षेत्रका साथै पजरकट्टी, बोदवार, बुची, बरवा, अमवा, भगवानपुर र मैनहिवा लगायतका नाकाबाट ब्यापक तस्करी हुने गरेको छ । चाडपर्व नजिकिँदै गएकाले यी नाकाबाट कपडा तस्करी गर्न तस्करहरु तल्लीन छन् । तर, रोकतोक गर्ने सबै निकाय मौन छन् ।

Advertisement

सबै ठाउँमा नाकामै रहेका सशस्त्रका बीओपीको काम अहिले तस्करी गराउने मात्रै जस्तै देखिन्छ । आर्थिक लाभमा परेका सशस्त्रका बीओपी इन्चार्ज तस्करसँग साँठगाँठमा छन् । लाभका लागि भन्सार छलीबाट हुने तस्करीलाई उनीहरुले प्रसय दिइरहेका छन् । ‘प्रत्येक नाकामा सशस्त्रको रातदिन डियुटी हुन्छ, सशस्त्रले चाहेमा तस्करी निर्मूल हुन्छ तर मिलमतोमा तस्करी गराउन दिइएको छ’, रुपन्देहीको रोहिणीस्थित बुचीका एक स्थानीयले भने, ‘प्रत्येक तस्करसँग सशस्त्रले पैसा असुल्दै आएको छ ।’

आइतबार दिउँसो मात्रै रोहिणी गाउँपालिका–५, तरकुलहा बस्ने महेन्द्र यादव र ईश्वर यादवको घरमा छापा हानेर भैरहवा भन्सार कार्यालयले कपडा बरामद गरेको थियो । यसमा सशस्त्रको संलग्नता रहेको दावी स्थानीयको छ । भन्सारले यादवद्वयको घरबाट भारतबाट चोरिपैठारी गरी गोदाममा राखेको करिब २० लाखको लेडिज सुट, साडी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको डे«समा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जनाए ।

सशस्त्र प्रहरी पजरकट्टी र सशस्त्र प्रहरी बेस क्याम्प बुची बरवालाई मासिक ३५–३५ हजार रुपैयाँ बुझाएर यादवद्वयले तस्करी गराउँदै आएको स्रोतको छ । यो सूचना भन्सारसम्म पुगेपछि छापा हानिएको थियो । ‘सशस्त्रलाई तस्करी भइरहेकाबारे स्थानीयले खबर गर्दासमेत बेवास्ता गरेपछि स्थानीयले भन्सारलाई खबर गरेका थिए’, भन्सारका एक अधिकृत भन्छन्, ‘सशस्त्रका बीओपीहरु नै तस्करीमा लिप्त हुँदा राजश्व चुहावट बढ्यो ।’

सशस्त्रले तस्करीमा शून्य सहनशीलता रहेको दावी गर्दै आएको छ । तर, मातहतका बीओपीहरु भने मिलेमतोमा रातदिन तस्करी गराउँदै आएका छन् । अहिले कपडासँगै काजुबदाम, हार्डवेयर, मोटरपार्टस् समेत तस्करी हुँदै आएको छ । यस्तै नेपालबाट भारततर्फ कवाड तस्करी भइरहेका छ । यी सबैमा सशस्त्र प्रहरी संलग्न हुँदै आएको दावी सीमा क्षेत्रका स्थानीयको छ । मर्चवार र कालिदह नाका पनि अहिले तस्करीका लागि ट्रान्जिट बनिरहेका छन् । यहाँबाट पनि रातदिन कपडा तस्करी हुने गरेको बताइन्छ ।

‘सेटिङ नमिलेको मात्रै समाउने तर सेटिङ मिलेपछि मासिक रकम बुझेर सशस्त्रले तस्करहरुलाई सघाउँदै आएको छ’, मर्चवारका स्थानीय हरिओम यादवले भने, ‘सीमा क्षेत्रमा रहेका सशस्त्रका बीओपीको काम सीमा सुरक्षा भन्दा पनि तस्करी गराउने मात्रै भयो ।’ सीमा नाकामा सशस्त्र प्रहरी नै खट्ने भएकाले उसले चाहे मात्रै तस्करी हुने नत्र रोकिने दावी सीमा क्षेत्रका बासिन्दाको छ । ‘रातभर तस्करका मोटरसाइकल र पिकअपले सुत्नै दिँदैनन्, नाकाभरी तस्करका सानाठूला गाडीको लाइन हुन्छ’, रोहिणीस्थित सेमलपानीका एक स्थानीयले भने ।

सीमा क्षेत्रबाट भन्सार छली गरी भित्र्याइएको तस्करीको सामान भैरहवा, बुटवल, पोखरा, चितवन, काठमाडौं लगायतका सहरमा पुर्याइन्छ । यसका साथै पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा लगायत पनि तस्करीका कपडा लगायतका सामान पुग्ने गरेका छन् । तस्करहरुले सबै तहमा सेटिङ मिलाएर अवैध काम गरिरहेका छन् । यसले गर्दा भन्सारको राजश्वमा निरन्तर गिरावट आइरहेको छ ।

यसबारे बुझ्न खोज्दा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा थापाले आफू बाहिर रहेको र पछि कुराकानी गर्ने जनाए । सशस्त्र प्रहरी लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नावय महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले गत वर्षको तुलनामा यो वर्ष अवैध सामान बढी बरामद गरेको जनाए । ‘डाटाले अवैध बाटोबाट भित्रिएका सामान पक्राउ बढीमात्रामा गरेको देखाउँछ’, उनले भने, ‘यहाँहरुसँग सशस्त्रले त्यस्तो गलत गरेको पाइए कारबाही हुन्छ ।’

उनले सीमा क्षेत्रमा एकदुई बोरा मल ल्याउने किसानका हक सहजीकरण गरे पनि अन्यलाई भने छुट नदिएको सुनाए । ‘फिल्डमा खटिने भनेका तल्ला तहका सशस्त्रका कर्मचारी हो, काम गर्ने क्रममा बद्मासी गरेकालाई कारबाही गर्दै आएका छौं’, उनले भने, ‘गलत गरेको पाइए त्यस्तालाई फेरि पनि कारबाहीको दायरामा ल्याउँछौं ।’ डीआईजी खत्रीले गलत कार्य गर्नेविरुद्ध सूचना दिन पनि आग्रह गरे ।