तीजलाई मौलिक पर्वका रूपमा मनाऔंः सभामुख घर्तीमगर


बुटवल– लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सोमवार शुभकामना सन्देश जारी गर्दैै देश विदेशमा रहेका लुम्विनी प्रदेशवासी सम्पूर्णमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले विशेष गरी महिला दिदी वहिनीहरुमा यो पर्वले हरेक दृष्टिकोणले अब्वल र सक्षम बनाउन अभिप्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । सभामुख घर्ती मगरले सामाजिक, राजीतिक, सांस्कृतिक र आर्थिक बेदना र दर्द भरिएको तीजको गीतको लय अन्त्य गरी खुसी, समृद्धिको लय साट्न सकौं भनी शुभकामना ब्यक्त गरेका छन् ।
‘नेपालमा पौराणिक समयदेखि नै यो पर्व मनाउंदै आएको पाइन्छ । नेपाली जनजीवनको सामाजिक–साँस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वको आफ्नै विशेषता र महत्व रहेको छ’, उनले भनेका छन्, ‘आमा– बुवा, दाजु–भाई, दिदी– बहिनीहरुमा धेरै धेरै शुभकामना ।’
सभामुख घर्ती मगरले आधुनिकीकरणको नाममा भड्किलो कार्यले साँस्कृतिक पक्षलाई ओझेलमा पारेको भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘आधुनिकीकरणको नाममा तिजलाई उत्ताउलो र खर्चमूखी बनाउँदै लगिएको छ । यसले सामाजिक मुल्यमान्यता बोकेको मौलिक सांस्कृतिक पर्वहरुमा विकृतीहरु घुस्न थालेका छन् । जुन तीजको नाममा हाम्रो समाजमा भित्रिएको नकारात्मक पक्ष हो । यस्ता गलत प्रवृति बढ्दै जाँदा आर्थिक भार मात्र होइन मौलिक सँस्कृतिमा पनि असर पुगेको छ । तसर्थ तीज पर्वलाई मौलिक पर्वको रुपमा मनाउन म अनुरोध समेत गर्दछु ।’
धर्म सस्कृति, परम्परासंग जोडिएको पर्वहरुले एकता, सामाजिक सद्भाव, सह–अस्तित्व, भातृत्वको विकास र सम्बन्ध सुदृढ गर्दै आएकाले ति पर्वहरुको संरक्षण गर्नु सबै नेपालीहरुको दायित्व रहेको शुभकामना सन्देशमा उल्लखे गरिएको छ । सभामुख घर्ती मगरले राजनीतिक परिवर्तनमा नेपाली महिलाहरुको अतुलनीय योगदान रहेको उल्लेख गर्दै योगदानको उच्च सम्मान व्यक्त गर्नुपर्ने जनाएका छन् ।
लुम्विनी प्रदेश सभा महिलाहरुको हक अधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानुन निर्माण गर्दै आएको उनले जनाएका छन् । महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि पनि पहल गरिरहने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्