निर्दयी
“त्यसको क्रियाकलाप देखेर मलाई साह्रै रिस उठेर आयो । अनि पकडेर जोडले भुइँमा पछारे । अनि लात्तैलात्ताले भकुरे ।”
“हँ ! कसले रिस उठायो ? किन भकुरेको त्यसरी ?”
“सङ्गत गरेको त्यत्रो समय भैसक्दा पनि, जहिल्यै धोकाबाहेक केही दिएन ।”
“(डराएर अलि पर सर्दै) कसले ? त्यसरी पिट्दा त्यसले केही गरेन ?”
“गर्यो नि । मदेखि टाढा टाढा भाग्यो । अरु त के नै गर्न सक्थ्यो र बिचरो ? तैपनि लखेटी लखेटी बेस्सरी भकुरे ।”
“कस्तो निर्दयी तिमी ? कठै ! बिचरोलाई कति पीडा भयो होला ? तिमीलाई कसैले रोकेनन् त ?”
“हुन्छ पीडा .. ! साह्रै ढिठ र अटेरी रहेछ । उफ्रीउफ्री नाँचिरहेको थियो । मलाई रोक्नेहरू पनि थुप्रै थिए, उनीहरू । म रिसले मात्तिएको साँढे भएको थिएँ । झनै जोडले लात्ताले हानेर उसलाई उनीहरुकै घरभित्र हुलिदिएँ ।”
“कठै … अनि के भयो ?”
“गोल भयो । त्यसपछि गडगडाहट ताली बज्यो । हुटिङ भयो । नेपालको झण्डा फरफरायो । पहिलोपटक स्वर्णपदक हासिल भयो ।” -sahityapost
प्रतिकृया दिनुहोस्