October 15, 2024, Tuesday
२०८१ आश्विन २९

गौचनको श्रद्धाञ्जलि सभामा उद्योगी–व्यवसायीले भने– ‘असल र सक्षम अभिभावक गुमायौं’

भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार ओमकार गौचनको सम्झनामा शनिवार यहाँ श्रद्धाञ्जलि सभा गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा भैरहवाका दर्जन विभिन्न संघसंस्थाले उक्त श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् । संघको सभाहलमा भएको उक्त सभामा भैरहवा क्षेत्रका उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि, समाजसेवी र सरोकारवालाको सहभागिता थियो ।

भदौ १७ गते दिवंगत भएका भैरहवाका अग्रज समाजसेवी गौचन सरल र मृदुभाषी थिए । विक्रम सम्बत् २००० बैशाख १७ गते मुस्ताङको जोमसोङमा जन्मिएका उनी ६ दशकदेख भैरहवामा व्यवसाय गर्दै आएका थिए । उनले भैरहवामा दर्जन संस्थाको नेतृत्व गरे । कयौंमा संचालक, सल्लाहकार भएर काम गरे भने कतिमा आफै नेतृत्व लिएर संस्था हाँके ।

Advertisement

लामो समयदेखि उद्योग, व्यवसाय र समाजको हितमा काम गर्दै आएका गौचनको दुई साता अघि उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । सामाजिक हित र उद्योग, व्यवसाय बिस्तारमा योगदान पुर्याएका गौचन अन्तिम समयसम्म पनि सामाजिक क्रियाकलापमा सक्रिय थिए । लामो समयदेखि उद्योग वाणिज्य संघको सल्लाहाकारको भूमिका निभाउँदै आएका गौचनका योगदानको स्मरण गर्न र सच्चा श्रद्धाञ्जलि अर्पण गर्न सभा आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, भैरहवा मर्निङवाक ग्रुप, बैद्धिक सनातन धर्म सेवा समिति, लायन्स क्लव अफ सिद्धार्थनगर, जेसीआई सिद्धार्थ नेपाल, थकाली सेवा समाज, नेत्र ज्योति संघ, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, संस्कृति विद्याश्रम र सहीद स्मृति पुस्ताकालयको संयुक्त आयोजनामा सभा गरिएको हो ।

उद्योग बाणिज्य संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी वक्ताले गौचनले भैरहवाको बिकासमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो । सभामा कयौं उद्योगी व्यवसायी, आफन्त, गौचनलाई नजिकबाट चिन्नेहरु भावुक बनेका थिए । मर्निङवाक गु्रपमा संस्थापक अध्यक्ष विजयगोविन्द श्रेष्ठले सामाजिक र व्यवसायिक जीवनमा गौचनले स्मरणयोग्य काम गरेर विलय भएको बताए ।

‘उहाँ प्रष्ट वक्ता हुनुहुन्थ्यो, समाजसेवामा सधैं अग्रस्थानमा उभिनुहुन्थ्यो’, उनले भने, ‘जहाँ नेतृत्व गर्नुभयो, त्यो संस्थालाई उचाईमा पुर्याउनुभयो । यसले पनि भैरहवाबासीले गौचनलाई सदियौंसम्म सम्झिरहनेछन् ।’ संघका अध्यक्ष श्रेष्ठले सधै उद्योगी व्यवसायीको हीतलाई सर्वोपरी ठानेर पूर्वअध्यक्ष स्वर्गीय गौचनले काम गरेको स्मरण गरे ।

‘उहाँले उद्योगी व्यवसायी, भैरहवाबासी र समग्र मुलुकको हीतका लागि निरन्तर आवाज उठाउनुभयो’, अध्यक्ष श्रेष्ठले भने, ‘सकारात्मक सोंच, सधैं युवाजस्तो ऊर्जावान क्षमता, केही गरौं भन्ने हुटहुटी, आदर्श र प्रेरणाका स्रोत पूर्वअध्यक्ष गौचनलाई गुमाउँदा हामी दुखित छौं । हाम्रो मानसपटलमा सधैं रहीरहनु हुनेछ ।’ गौचनका सत्कर्मबाट भैरहवाबासीले धेरै कुराहरु सिक्नसक्ने अध्यक्ष श्रेष्ठले बताए ।

श्रद्धाञ्जली सभामा बोल्ने उद्योगी–व्यवसायी र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले स्व.गौचनले अन्तिम समयसम्म पनि सामाजिक र यहाँको समग्र विकासका लागि आवाज बुलन्द गरिरहेको स्मरण गर्दै भैरहवा एउटा असल र सक्षम अभिभावक गुमाएको बताएका थिए । संघका महासचिव कृष्णप्रसाद घिमिरेले सकारात्मक प्रेरणाका स्रोत स्व.गौचले भैरहवाको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएका योगदान कहिल्यै विर्सिन नसकिने जनाए ।