May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

नेम्वाङको निधनमा कसले के भने ?

भैरहवा– संविधान सभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । राति उनको निधन भएको हो । सरल स्वभावका नेता नेम्वाङको निधनमा सबैजसो दल र तिनका नेताले दुःख व्यक्त गरेका छन् ।

Advertisement

कसले के भने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Advertisement

संविधानसभाका अध्यक्ष नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । सभामुख घिमिरेले नेम्वाङको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस आफूले गरेको उनले बताएका छन् ।

“संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ः३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छु । उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ,” घिमिरेले शोक वक्तव्यमा लेखेका छन्, “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । ‘एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई स्मरण गरिरहने छ ।’ नेम्वाङ संविधानसभाबाट संविधान घोषणाका कुशल नेता मात्र नभएर संसदीय अध्यासमा सिद्धहस्त नेता पनि भएको श्रेष्ठले बताए । ‘कुनै जटिलता आए खोजी गर्ने र निकास दिने गर्नुहुन्थ्यो,’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘पछिल्लो पटक जब मिटरब्याजीसम्बन्धी विधेयक जटिल अवस्थामा पुगेको थियो । त्यसलाई संसदबाट पारित गरेर कानुन बनाउने दिशामा निर्णायक भूमिका खेल्ने काम उहाँबाट नै भएको थियो ।’

गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि (बुधबार) सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।