May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

दल फेरुवा यादव

भैरहवा– सिद्धार्थनगरको मेयर उम्मेदवार बन्न टिकट नदिएपछि तीन दशक लामो समय काम गरेको नेपाली काँग्रेस त्यागेर जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका मातृकाप्रसाद यादवले उक्त पार्टी पनि छाडेका छन् । उनी जसपा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका हुन् ।

Advertisement

सिद्धार्थनगर–७ निवासी यादव ३२ वर्षदेखि सक्रिय राजनीतिमा छन् । नेपाली काँग्रेसमा रहेर तीन दशक बढी राजनीतिमा क्रियाशील यादव गत वर्ष बैशाखमा भएको स्थानीय तह निर्वाचनको मुखमा काँग्रेस छाडेका थिए । २०७९ बैशाख ९ गते उनलाई जसपा नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

जसपा प्रवेशपछि सिद्धार्थनगरको मेयरमा उम्मेदवार बनेका उनी नराम्ररी हार व्यहोरे । काँग्रेसमा रहँदा क्षेत्रीय सभापति रहेका उनी जसपा प्रवेशपछि एकैपटक केन्द्रीय सदस्य बन्ने शौभाग्य पाए । काँग्रेस छाडेर आएको भन्दै केन्द्रीय सदस्य बनाएको जसपालाई उनले लामो समय साथ दिएनन् ।

अवसरको खोजीमा रहेका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि सिद्धार्थनगरको मेयरका प्रत्यासी थिए । उसबेला पनि हार ब्यहोरेका यादव २०७९ मा पनि काँग्रेसबाट मेयर उम्मेदवार बन्न आकांक्षी थिए । टिकट नपाएको झोंकमा उनी जसपा प्रवेश गरे । आफूले पार्टी छाडे पछि काँग्रेसले नगरमा मेयर नजित्ने आँकलन गरेका उनले रिजल्ट ठीक उल्टो देख्न पाए । काँग्रेसबाट उम्मेदवार बनेका इश्तियाक अहमद खानले मेयरमा जिते ।

त्यसयता जसपामा पनि त्यति सक्रिय नरहेका उनलाई स्थानीय नेताहरुको जोडबलमा केन्द्रीय सदस्य बनाइएको थियो । तर, अन्ततः जसपा पनि छाडेर उनी राप्रपा प्रवेश गरेका छन् । सोमबार भैरहवामा आयोजित कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, बरिष्ठ नेता दीपक बोहरा लगायतले यादवलाई राप्रपामा स्वागत गरेका छन् । उनले राप्रपाको नीति सही भएकाले पार्टी प्रवेश गरेको बताएका छन् । तर, स्थानीय नेताकार्यकर्ताले भने यादव पछिल्लो समय महत्वकाँक्षी र ढुलमुले भएकाले राप्रपामा पनि कति दिन टिक्छन् भन्ने बारे आशंका व्यक्त गरेका छन् ।