May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

बालकृष्ण खाँणको कुनै गल्ती छैन, चाँडै बाहिर आउनुहुन्छः सिटौला

भैरहवा- नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीले केन्द्रीय सदस्य बालकृष्ण खाँणको कुनै दोष नरहेको दावी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका पुर्पक्षका लागि थुनामा रहेका खाँणबारे उनले यस्तो धारणा राखेका हुन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै सिटौलाले आफ्नो विचारमा खाँणको कुनै दोष र गल्ती नरहेको जिकिर गरे ।

Advertisement

‘खाँणजीको बारेमा मैले पार्टीका बैठक र पदाधिकारीबीच पनि कुरा राखेको छु’, उनले भने, ‘म कानूनको विद्यार्थी पनि हुँ । मेरो विचारमा खाणजी चाँडै आउनुहुन्छ । विचाराधीन मुद्दाका बारेमा म त्यति बोल्दिनँ ।’ उनले के आधारमा खाँण बाहिर निस्कन्छन् भन्नेबारे भने केही खुलाएनन् । नाम उच्चारण नगरे पनि उनले पछिल्लो पटक पपुलिष्ट पत्रकारिता भइरहेको आरोप लगाए । ‘एउटा अनलाइनले लेख्यो भने त्यसका पार्टनरले शेयर गर्छन्, लेख्छन्’, उनले भने, ‘त्यसपछि लाखौं शेयर भइहाल्छ ।’

Advertisement

खाँणको बचाउमा भाषण गरेका उनले घुमाउरो तरिकाले खाँणलाई मिडिया र पत्रकारले लखेटेको संकेत गरे । यस्तै, उनले सामाजिक संजालको पनि आलोचना गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले माओवादी आएर मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रम रहेको बताउँदै यो भ्रममा नहिंड्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरे ।
‘धर्मनिरपेक्षता संसद्बाट सर्वसम्मतिले पारित भएकाले माओवादीका कारण आएको भन्ने भ्रममा नपर्न आग्रह गर्छु’, उनले भने, ‘७ दलको एलायन्सले माओवादीसँग १२ बुँदे सम्झौता गरिएको र १२ बुँदाको निष्कर्ष माओवादी हतियार छाडेर शान्ति प्रक्रियामा आउनुपर्छ र लोकतन्त्रको मूल्य मान्यता मान्नुपर्छ भन्ने हो ।’

सिटौलाले तीनै तहको सरकारको अहिले मूल्यांकन गरिहाल्ने बेला भइनसकेको जनाए । ‘स्थानीय सरकार दोस्रो बजेटमा गएका छन्, केन्द्र सरकार भर्खर पहिलो बजेटमा गएको छ, प्रारम्भिक अवस्था मान्नुपर्छ । मूल्यांकन गरिनहालौं’, उनले भने । कांग्रेस कांग्रेसका लागि मात्र नभइ देश र जनताको अधिकारका लागि जन्मेको पार्टी भएको उनले बताए । ‘कांग्रेस सबै धर्म, संस्कृति, भाषा र सबै क्षेत्रको आस्थाको केन्द्र हो । कांग्रेसमाथि अनेकौं षडयन्त्र भयो । तर, सकेनन्, भविष्यमा पनि कांग्रेसलाई सकाउन सक्दैनन्’, उनले भने ।

उनले कांग्रेसकै नेतृत्वमा मुलुकमा परिवर्तन आएको दावी गरे । कमजोर अर्थतन्त्र नेपालको समस्या भएको र यही ढंगले अर्थतन्त्र सुधार हुन नसक्ने सिटौलाले जनाए । कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । छलफलमा स्थानीय नेताकार्यकर्ताहरुले सिटौलालाई पार्टीलाई एकढिक्का बनाएर अझै बलियो बनाएर लैजान सुझाव दिएका थिए ।