May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल दुई मतान्तरले विजयी

भैरहवा– पदाधिकारीमा बहुमतसहित एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल दुइ मतले विजयी भएका छन् । बुधबार बिहान पूरा भएको मतगणना अनुसार कँडेलले प्रतिष्पर्धी प्युठानका हरि रिजाललाई २ मत अन्तरले हराएका हुन् । रिजालले सुरुवाती अग्रता हासिल गरे पनि अन्तिममा कडा प्रतिष्पर्धा भएको थियो ।

Advertisement

अधिवेशनका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनसार कँडेलले ४ सय ७९ मत प्राप्त गरेका थिए । त्यस्तै रिजालले ४ सय ७७ मत ल्याए । लामो समय सर्वसम्मत नेतृत्वका लागि पहल गरिएको थियो । त्यसमा सहमती जुटाउन सम्भव नभएपछि मंगलबार मतदान भएको थियो । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट १ हजार ४ प्रतिनिधि सहभागी थिए । ती मध्ये ९ सय ६५ जनाले मतदान गरे । ३९ जना अनुपस्थित रहे ।

Advertisement

प्रदेश उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भएकी छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानलका हुन् ।

उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ४ सय ५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याए । बराल रिजाल समूहका हुन् । अन्य दुई जनाले छुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उपसचिव खुलामा बुढामगर ४ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, रोल्पाका उपेन्द्रलाल कामीले १ सय १० मत ल्याएका थिए । चौधरी कंडेल प्यानलबाट निर्वाचन लडेका थिए ।

महिला उपसचिवमा लिला रानामगर ३ सय ५२ मत ल्याएर विजयी भएकी छन् । उनले रिजाल समूहकी वसन्ती अधिकारीलाई १ मतले पराजित गरेकी हुन् । अधिकारीले ३ सय ५१ मत ल्याएकी छन् । त्यस्तै प्यानल बाहिरबाट प्रतिस्पर्धा गरेकी लुम्बिनी प्रदेशकी पूर्व कृषिमन्त्री आरती पौडेलले २ सय २१ मत ल्याएकी छन् ।

लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बीसीलाई २ सय ७ मत अन्तरले पराजित गरेका हुन् । लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भए । मंगलबार नेकपा एमालेको प्रथम लुम्बिनी अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्लामा भूगोलबाट प्रतिनिधित्व गर्ने पद र खुल्ला पदहरुमा पनि प्रतिस्पर्धा भएको थियो ।

एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित बहुमत सदस्य पनि कँडेल समूहकै छन् । निर्वाचित भएपछि कँडेलले आफू पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएकोले अब पार्टीमा अर्को कुनै समूह नरहेको बताए । ‘हाम्रो समूह र प्यानल भन्ने कुनै केही छैन,’ उनले भने, ‘जो जसरी निर्वाचित भए पनि सबै एमाले हौं, पार्टीमा कुनै त्यस्तो छुट्टै समूह रहन्न ।’ उनले प्राविधिक रूपमा आफू निर्वाचित भए पनि दुवै उम्मेदवारको जित भएको बताए ।