बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउन लागिपर्छुः उपाध्यक्ष लामा
भैरहवा– लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेका छन् । उपाध्यक्ष डा.लामा नेतृत्वको टोलीले शुक्रबार कपिलवस्तुको ऐतिहासिक एवं प्राचीन, धार्मिक, पर्यटकीय भग्नावशेष स्थानहरुको अवलोकन एवं निरीक्षण गरेका हुन् ।
लुम्बिनी विकास कोषका अनुसार कपिलवस्तुको तिलौराकोट, कुदान, गोटिहवा, सगरहवा, जगदिशपुर, निग्लिहवा, अरुयरकोट, सिसनिया लगायत स्थानहरूको उपाध्यक्षको टोलीले अबलोकन तथा निरीक्षण गरेको हो । यी बौद्धस्थलहरुको उत्खनन्, संरक्षण, प्रबद्र्धन र विकासका लागि विकास कोषले काम गर्दै आएको छ । तिलौराकोटलाई त विश्व सम्पदामा राख्ने प्रक्रिया अघि बढाइएको छ ।
राजा शुद्धोधनको राजधानी प्राचीन कपिलवस्तुको तिलौराकोट राजा शुद्धोधनको राजप्रसाद तथा भगवान गौतमबुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल हो । उक्त स्थलहरुको निरीक्षण पश्चात् उपाध्यक्ष डा.लामाले लुम्बिनी र आसपासका क्षेत्रहरु लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउन लागि पर्ने जनाए ।
‘यी सबै क्षेत्रको विकास र प्रबद्र्धनमा हामीले ध्यान दिन्छौं’, उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार भयो भने यहाँ अधिक पर्यटक आउँछन् । यसका लागि वातावरण तयार गर्ने काम हुँदैछ ।’ उनले विश्वस्तरमा प्रचारप्रसार गरेर आगामी महिनादेखि हजारौं धार्मिक पर्याटकहरु भित्र्याउन पहल थाल्ने बताए ।
विश्वले शान्तिका दुत मानेका शाक्यमुनी गौतमबुद्ध मात्रै नभई कनकमुनी, कक्रुछन्द बुद्धको जन्मस्थलसँगै कपिल ऋषि र श्रृङ्गी ऋषिको उद्गम थलो कपिलवस्तु भएको जनाउँदै उपाध्यक्ष लामाले यहाँको विकासले बृहत् लुम्बिनी क्षेत्रको विकासमा प्रभाव पार्ने जनाए । ‘हरेक बौद्धस्थलको खोज, उत्खनन्, प्रबद्र्धन र विकास गर्न हामी लागि पर्ने छौं’, उनले भने, ‘ऐतिहासिक संरचना संरक्षणमा कोषले अझ विशेष ध्यान दिनेछ ।’
अशोकस्तम्भ, मायादेवी मन्दिर, विहारखण्ड, सकुर्लर लेभी, शान्तिदिप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआई पर्यटकमैत्री बनाउने र तत्काल मायादेवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए । कोषका प्रशासन प्रमुख ज्ञानिन राईले यस क्षेत्रको पछिल्लो अवस्थाबारे उपाध्यक्ष लामा लगायतलाई जानकारी गराएका थिए । बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण समेत गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्