मारवाडी युवा संगठनको सहयोगले दुई हजार विद्यार्थी लाभान्वित


भैरहवा– नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले ‘स्कूल डोनेसन ड्राइभ’ नारा संचालन गरी मुलुकभरका २० वटा विद्यालयमा सहयोग गरेको छ । संगठनको केन्द्रीय कमिटीले आवश्यकताका आधारमा विद्यालयहरुमा सहयोग गर्ने उद्देश्यसहित उक्त अभियान गरेको हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संचालित अभियानबाट मुलकुभरका विभिन्न विद्यालयमा गरी १० लाख रुपैयाँ बढीको सामाग्री सहयोग गरिएको संगठनका राष्ट्रिय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।
संगठनका भातृ शाखाका मारवाडी युवा मंच, भैरहवा, धनगढी, दुहबी, विराटनगर, काठमाडौं, जनकपुर, धुलाबारी, नारायणगढ, विरगंज, लहान, राजविराज, भद्रपुर, दमक लगायतबाट विद्यालयहरुमा र विद्यार्थीलाई अवावश्यक शैक्षिक एवं भौतिक सामाग्री सहयोग गरिएको अग्रवालले बताए । ‘जहाँ समस्या छ, त्यहाँ–त्यहाँ हामी पुग्ने गरेका छौं, यसपटक विशुद्ध विद्यालयलाई केन्द्रित गरेर सहयोग गरेका हौं’, अध्यक्ष अग्रवालले भने, ‘आगामी दिनमा पनि आवश्यकताका आधारमा जुनसुकै ठाउँमा सहयोग गर्ने हाम्रो अठोट छ ।’
संगठनका कार्यक्रम संयोजक मोहित खेडियाले स्कूलहरुमा कापी–किताब, स्कुल ब्याग, खाजा, खेलकुदका सामाग्री, मनोरंजन उपकरण, पंखा, धारा जडान, टिफिन बक्स, डस्टविन, कम्प्युटर लगायतका सामाग्री वितरण गरिएको जनाए । ‘हामीले अत्यावश्यक सामाग्री दिँदा विद्यार्थी, अभिभावक र विद्यालयका शिक्षक–शिक्षिका हर्षित हुनुभएको छ’, खेडियाले भने, ‘आउँदा दिनमा पनि विद्यालयहरुलाई प्राथमिकता दिएर सहयोग गर्ने हाम्रो उद्देश्य छ ।’

संगठनका महासचिव विनितकुमार बेरिवालले समाज सेवा गर्ने उद्देश्यसाथ स्थापना भएको संस्था भएकाले सधै सामाजिक कार्यलाई पहिलो प्राथमिकता राखेर अघि बढेको जनाए । ‘कतिपय सरकारी विद्यालयहरुमा विद्यार्थीले पोसाकसमेत नपाएको पाइयो, यस्ता अन्य समस्या विद्यालयहरुमा धेरै छन्’, उनले भने, ‘हामीले थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी छौं । सरकारी विद्यालयको शिक्षालाई राम्रो, प्रभावकारी र भरोसायोग्य बनाउन हाम्रो संगठनले सधै साकारत्मक एवं रचनात्मक सहयोग गर्दै जानेछ ।’
मारवाडी युवा संगठनको सहयोगबाट करिब २ हजार बढी विद्यार्थी लाभान्वित भएका छन् । संगठन धरानमा डेंगी परीक्षण समेत गरेको छ भने केही स्थानमा वृक्षारोपणसमेत गरिएको अध्यक्ष अग्रवालले बताए । लामो समयदेखि संंगठनका मुलुकभर रहेका शाखाले सामाजिक कार्यमार्फत् विभिन्न सहयोग र रचनात्मक क्रियाकलाप गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्