April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कटक्क मन

“साहिँला आज कसको मेलामा गयौ ?” मैले सोधेँ । “आज उदयनन्द बा को रोपाइँ थियो । साँझ परिसक्दा दुइटा गरा बाँकी थियो । हल के फुकाउनु । भ्याउँछु भन्दा रातै पर्‍यो । धान रोप्न त भ्याएनन्, एउटा गरो बासी छोडे । भोलि जालान् बाँकी मेलो सक्न ।” साहिँलाले भन्यो । 

Advertisement

ऊ कोठामा जाने बेलामा भित्री चोकमा रहेको मेरो पसलमा आउँछ । उसले सधैँ जसो किराना सामान लैजाने मेरै पसलबाट हो । एक पकेट चुरोट, एउटा बटारे, दुई केजी चामल, एक पाउ चिनी, कहिलेकाहीँ नुनको पकेट, रातो दाल यस्तै यस्तै सामान उसले लैजान्छ  ।

Advertisement

“आज पनि लैजाने होला नि सामान ?” मैले सोधे । 

उसले आज चामल, रातो दाल र नुन मात्र लियो । 

“यो चाहिँदैन ?” मैले बटारे र चुरोटको प्याकेट देखाउँदै सोधेँ । 

“भयो अब बरु चकलेट दिनु न ।” उसले भन्यो । 

मैले एउटा ललिपप दिएँ । 

उसले भन्यो “यो त खाएकी छ छोरीले । अर्को राम्रो गतिलै चकलेट लैजानु पर्यो दिनु न । छोरीले बा मलाई पनि प्याट्ट भाँचेर खाने मिठाइ ल्याई देऊ न भनेर कटक्क मन कटाउँछे ।” 

उसको इसारा क्याटवरी, नेस्ट्ले अथवा यस्तै चकलेटतर्फ थियो ।

-ratopati