May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

दुर्लभ सारसको बथान (फोटोफिचर)

मर्चवार– दुर्लभ पन्छी सारस पछिल्लो समय रुपन्देहीका विभिन्न ठाउँमा समूहमा देखिन थालेका छन् । नेपालमा सबैभन्दा बढी सारस पाइने क्षेत्र लुम्बिनी हो । दुर्लभ पन्छी सारस लुम्बिनीका आसपासमा समूह बनाएर आहारको खोजी गर्दै हिंडिरहेको पाइन्छ । बुधबार जिल्लाको मायादेवी गाउँपालिका–६, गरकट्टी (मर्चवार जाने बाटो छेउ) मा करिब तीन दर्जन सारसका जोडी भेटिएका छन् ।

Advertisement

यहाँ भेटिएका सारसलाई पब्लिक कुराको टीमले कैद गरेको छ । खेतमा आहार खोजिरहेका सारसको समूह हेर्दा छुट्टै आनन्दभूति हुन्थ्यो । स्थानीय रेशमी यादवले पछिल्ला केही वर्ष यता आफ्नो घर वरिपरी सारसको बथानै आहारको खोजीमा आउने गरेको बताइन् । ‘घरछेउमा सारसको बथान नै आएर बस्दा आनन्द हुन्छ, रमाइलो लाग्छ’, उनले भनिन् ।

विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा चार प्रजाति पाइने विज्ञको भनार्ई छ । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ पाँच फिटसम्म हुन्छ ।

लुम्बिनी क्षेत्रका खेतमा सारस बस्ने र त्यही प्रजनन् गर्ने भएकाले लुम्बिनीलाई सारस संरक्षण क्षेत्रका रुपमा विकास गर्ने काम भइरहेको छ । जोडी र बथानमा बस्न रुचाउने सारस हेर्न केही वर्ष पहिलेसम्म लुम्बिनी विकास कोषभित्रको संरक्षित क्षेत्रमा घन्टौं पर्खिनुपथ्र्यो । अहिले विकास कोषभित्र मात्र होइन, वरिपरिका खेत र सिमसार क्षेत्रमा सारस चरिरहेका र खेलिरहेका देख्न सकिन्छ ।

दुर्लभ पंक्षीमध्येको सारसका लागि लुम्बिनी आसपास स्थायी बसोबास क्षेत्र हो । यहाँबाहेक रुपन्देहीकै मायादेवी, सियारी, गैंडहवा, मर्चवार लगायत खेतका सारसका बथानै चरिरहेका भेटिन्छन् । धान, तोरी, गहुँ खेतीमा लाग्ने फट्यांग्रा, झुसिलकीरा, पतेरासँगै गड्यौंला, भ्यागुता, शंखेकीरा र सिमसारमा उम्रिएका कमला वनस्पति, सारसले मन पराउने आहारा हुन् । चराविदहरूका अनुसार सारस समूहमै बस्ने र चरणमा जाने भए पनि यिनीहरू आहारका लागि झगडा गर्दैनन् । आफ्नो नजिक कुनै खतरा संकेत देखियो भने कराएर अरूलाई पनि जानकारी दिन्छन् ।

समूहका सबै जम्मा भएपछि उड्छन् । खतराबाट जोगिन सारसले सिमसार, पोखरी वा तालका बीच घाँसपात जम्मा गरी गुँड बनाएर अन्डा पार्छ र ओथारो बस्छ । गुँडनजिक कुकुर, स्याल, मुसा गएको देखे जोडी मिलेर लखेट्छन् । सारसलाई शान्ति र प्रेमको प्रतीक पनि मानिन्छ । सारसलाई गौतमबुद्धको जीवनसँग समेत जोडिएको पाइन्छ । किम्बदन्तीअनुसार गौतमबुद्धका दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएका थिए । घाइते पंक्षीको प्राण बचाएकै कारण बुद्धको जीवनसँग जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका सिमसार क्षेत्रमा सारसको मुख्य बासस्थान भएको विश्वास पनि गरिन्छ ।