लुम्बिनीमा सरसफाई अभियान सुरु, स्थानीय र होटल व्यवसायीको लापरबाहीले चुनौति


लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा सरसफाई अभियान शुरु गरिएको छ । ‘ग्रिन लुम्बिनी, क्लिन लुम्बिनी’ भन्ने नाराका साथ लुम्बिनीलाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान शुरु गरिएको विकास कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जनाए । उनले अन्तर्राष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताए ।
कोषले नियमित रुपमा सफाई गर्दै आए पनि ३, ४ र ५ नम्बर गेटसम्म फोहोर चुनौतीपूर्ण बनेको छ । शनिबार कोषका पदाधिकारी, कर्मचारीहरु, सुरक्षाकर्मी, केही होटल व्यवसायी र जागरुक स्थानीय बासिन्दाले लुम्बिनीमा सरसफाइ गरेका हुन् । तर, केही होटल व्यवसायी र स्थानीयले कोषको आग्रहलाई बेवास्ता गरेर लुम्बिनी परिसरभित्र फोहोर फ्याँक्दा समस्या निम्तिरहेको छ ।
लुम्बिनी विकास कोषले पटक–पटक पवित्र क्षेत्र लुम्बिनी परिसरमा फोहोर नफ्याँक्न आग्रह गर्दै आएको छ । तर, यसलाई बेवास्ता गर्दै स्थानीय र होटल व्यवसायीले डम्पिङसाइड जस्तै गरी लुम्बिनीको पर्खालभित्र फोहोर फाल्दै आएका छन् । जसले गर्दा लुम्बिनीको दक्षिणतर्फको पर्खाल क्षेत्र दुर्गन्धित बनेको छ । लुम्बिनी सांस्कृति नगरपालिकाले पनि स्थानीयस्तरमा उत्पादित फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयले लुम्बिनीको पर्खालभित्र फोहोर फाल्ने गरेका छन् । स्थानीयकै कारण फोहोरले दुर्गन्ध बढ्न थालेपछि विकास कोषले सरसफाई अभियान नै सुरु गरेको हो ।
विकास कोषको दक्षिणपट्टी गेट नम्बर ३, ४ र ५ तर्फ स्थानीय र होटल व्यवसायीले जथाभावी फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ । कोषको दक्षिणपट्टी बाक्लो बस्ती छ भने दर्जनौं होटलहरु संचालनमा छन् । अधिकांश होटलहरुले कोषको पर्खालभित्र फोहोर फ्याँक्ने गर्छन् । जसले गर्दा ओहोरदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटकले नाक खुम्च्याउनु पर्ने बाध्यता छ । ‘लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र र आसपासमा विकास कोषले नियमित सरसफाइ गर्दै आएको छ । सीमित कर्मचारीले सबै ठाउँमा काम गर्न कठिनाई छ’, सदस्य सचिव शाक्यले भने, ‘तर, होटल र स्थानीयको घरबाट निस्केको फोहोर कोष परिसरमा फल्दा समस्या भएको हो । कोषले पटक–पटक आग्रह गर्दासमेत लुम्बिनीको पर्खालभित्रै फोहोर फ्याँक्न नरोकिए पछि अब कारबाही गरेरै अघि बढ्ने तयारीमा हामी छौं ।’

पर्यटन व्यवसायी र स्थानीयकै कारण दुर्गन्ध बढ्न थालेपछि विकास कोषले शनिबारबाट सरसफाइ अभियान नै सुरु गरेको जनाएको । २५६७ औं बुद्धजयन्तीलाई लक्षित गरी शनिबार पवित्र उद्यान क्षेत्र र गेट नम्बर ३, ४ र ५ तर्फ सयौंको उपस्थितिमा सरसफाइ गरिएको हो । सरसरफाइ अभियानमा सहभागी स्थानीय र पर्यटन व्यवसायीले लुम्बिनीलाई स्वच्छ राख्न आफूहरु कटिबद्ध रहे पनि नगरपालिका जिम्मेवार नबन्दा समस्या भएको गुनासो गरे ।
लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले कयौंपटक लुम्बिनी परिसरभित्र फोहोर नफाल्न आग्रह गरेको जनाए । ‘नगरपालिकाले व्यवस्थित डम्पिङसाइड बनाउने हो भने फोहोरको दीर्घकालीन समाधान हुन्थ्यो’, उनले भने, ‘यसका लागि सबै पक्षले पहल गर्नुपर्छ ।’ उनले कोष परिसरमा फोहोर नफाल्न सबैमा अपिल गरे । स्थानीय मञ्जु ढकालले कोषका कारण भन्दा पनि नगरपालिका र स्थानीयकै कारण लुम्बिनी फोहोर भएको बताइन् । उनले नगरपालिका निकम्मा बन्दा समस्या बल्झिरहेको जनाइन् । लुम्बिनीभित्र फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।
लुम्बिनी सांस्कृति नगरपालिका क्षेत्रमा दैनिक १५ देखि २० टन फोहोर उत्पादन हुन्छ । तर, डम्पिङसाइड नहुँदा स्थानीयले जथाभावी फोहोर फाल्दै आएका छन् । यसको असर लुम्बिनी परिसरभित्र पनि परेको छ । बर्सेनि आन्तरिक र बाह्य गरी लुम्बिनीमा लाखौं पर्यटक आउँछन् । यसरी आउने पर्यटकले समेत जथाभावी फोहोर फ्याँक्दैनन् । तर, लुम्बिनीको सामिप्यमै रहेका स्थानीय र होटल व्यवसायीले फोहोर लगेर कोषको परिसरभित्रै फ्याँक्दा लुम्बिनीप्रति उनीहरुको दृष्टिकोणमा परिवर्तन आउन नसकेको हो की भन्ने प्रश्न उब्जिएको छ ।
‘लुम्बिनी सफा रहनुपर्छ, सफा नभएको खण्डमा स्थानीयकै पहलमा सरसफाई गरिनुपर्ने हो । तर, लुम्बिनीको संरक्षणमा सबैभन्दा बढी जिम्मेवार मानिनुपर्ने स्थानीय र पर्यटन व्यवसायीकै लापरबाहीले दुर्गन्ध फैलिरहेको छ । लुम्बिनीलाई सफा राख्न कोषसँगै स्थानीय सरकार र स्थानीय बासिन्दा उत्तिकै जिम्मेवार बन्नुपर्ने हुन्छ । होइन् भने फोहोरकै कारण अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश नजाला भन्न सकिँदैन’, ढकालले भनिन् ।


प्रतिकृया दिनुहोस्