April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

तिलोत्तमा गोल्डकप भोलिदेखि, कसले चुम्ला उपाधि ?

बुटवल– यस क्षेत्रमा लोकप्रिय मानिएको सर्वाधिक राशीको फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप भोलिदेखि हुँदैछ । प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भएको छ । चार वर्षदेखि रोकिएको यो प्रतियोगिता शनिबारदेखि सुरु हुने आयोजकले जनाएका छन् । २२औं शृङ्खलाको तिलोत्तमा गोल्डकपको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।

Advertisement

दुई विभागीयसहित ८ टिम सुहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका अध्यक्ष लोक पुनले पब्लिक कुरालाई जानकारी दिए ।

Advertisement

बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस क्षेत्रमा चर्चित यो प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही–११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने संघले जनाएको छ । यस्तै, चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा अध्यक्ष पुनले जनाए ।

उनका अनुसार ८ गते रुपन्देही–११ र सुदूरपश्चिमबीचको विजेता तथा हिमालय शेर्पा र थ्रीस्टारको विजेताबीच पहिलो सेमिफाइनल खेल हुने छ । यस्तै, अन्तिम सेमिफाइनल ९ गते एपीएफ र फ्रेण्ड्सबीचको विजेता तथा मनाङ मर्स्याङ्दी र पुलिसको विजेताबीच हुने छ । पुनले जनाएअनुसार चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो । २०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायतका कारणले २२औं संस्करण हुन सकेको थिएन । लामो समयपछि यसपटक गर्न लागिएको हो ।

संघका अनुसार २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजेता बनेका थिए । आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्र मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९औं संस्करणको उपाधि सीएमसी संकटा क्लवले चुम्दा २०औं उपाधि थ्री स्टार क्लब, काठमाडौंले हात पारेको थियो ।