April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भूतपूर्व प्रेमिकाको नाउमा

मेरी भूतपूर्व प्रिय मान्छे !
आज तिम्रो विजयोत्सवको धुनले
मेरा सामान्य जीवनको लय तरंगित बनेको छ ।

टेकेर मेरा छातीमाथि
कुनै नावालकझैँ उभिन सिक्यौ
र पो आज बेरोकटोक
पाइला चाल्न पाइरहेकी छ्यौ निन्तर
तोडेर मसितको सम्बन्ध
उड्न जान्यौँ गुँड छाडेकी चरीलेझैँ
र पो आज निश्चिन्त
शिखरमाथि मुस्कुराउन पाएकी छ्यौ मुसुक्क ।

म त एक भुइँ न हुँ
यही भुइँमाथि उभिएर
सपना देखेथ्यौ कुनै बेला
त्यही सपनाको पखेटाले
उडाएर तिमीलाई लग्यो कता कता
यसरी हामी नछुट्टिएको भए
तिमी यतै कतै डुल्थ्यौ होला सायद
तिमी यतै कतै भुल्थ्यौ होला सायद
फुल्थ्यौ होला मेरै हाँसोमा
बोल्थ्यौ होला मेरै चासोमा
आँधीपछिको साँझजसरी मन बिथोलिएको छ सम्झेर
भूकम्पपछिको घरजसरी छाती हल्लिएको छ बेस्सरी
मेरी भूतपूर्व प्रिय मान्छे !
आज तिम्रो विजयोत्सवको धुनले
मेरा सामान्य जीवनको लय तरंगित बनेको छ ।

हो, म त एक भुइँको माटो न हुँ
मेरा अङ्ग प्रत्यङ्गमाथि टेकेर
उभिएका तिम्रा पाइला छुटाएर जब
म जस्ता एकपछि अर्को ‘भुइँ’हरुको
माटोलाई सिडी बनाएर उक्लियौ
त्यसपछि म भन्दा अझ अग्ला माटोहरुका
झनै अग्ला सिडी बनाएर सर्वोच्च शिखर पुग्यौ
लाग्छ, शिखरबाट धेरै धेरै चिजहरु देखिन्छन्
पर परसम्म देखिन्छन् होला– पहाडहरु, हिमालहरु, क्षितिजहरु
तल तलसम्म देखिन्छन् होला– खोलाहरु, खेतहरु, फाँटहरु
तर तिम्रो मुन्तिरका थुम्कामुनि
म र म जस्तै भुइँहरु देखिन्नन्
सम्झ– तिम्रा पाइतला बोकेका
सर्वोच्च शिखरलाई काँध थाप्नेहरु
म र म जस्तै भुइँहरु नै हुन
ए शिखरप्रेमी मेरी भूतपूर्व प्रिय मान्छे !
आज तिम्रो विजयोत्सवको धुनले
मेरा सामान्य जीवनको लय तरंगित बनेको छ ।

(घोराही, दाङ) -nepalisathiyaghar

Advertisement