March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

व्यंग्य: नेताहरूलाई भनेको होइन


एउटा खुसीको लहर आयो र स्वाट्टै चोर समाजमा छायो । चोरहरू नेतृत्वविहीन थिए । चार्ल्स शोभराज पनि फ्रान्स फर्किसक्यो । उसको ठाउँ नेतृत्वमा त थिएन, तर एउटा भरोसा थियो—ठगहरूले बेताज बादशाह उसलाई मान्दा हुने । तर, त्यो सम्भावना पनि समाप्त भयो ।

Advertisement

योबीचको अन्योलमा एक वरिष्ठ हितैषीको सुझाउ आयो, पीएमले रात्रिकालमा उद्घाटन गर्दा हुन्छ । दिउँसोको उद्घाटनमा लागेर मुलुकका समस्या अल्झोमा परे भनियो । कामै नगर्ने भएपछि उद्घाटनलाई पनि एउटा राष्ट्रिय काम मान्दा हुने हो भन्नेहरू पनि थिए ।

Advertisement

उद्घाटन नगरी मन्त्री र पीएमका हातहरूले शून्यताको अनुभव गर्थे, यो प्रचलनमा थियो । हात खाली राखेर कसरी बस्ने ? कैँची बोकेर रिबन काट्न नपाए नेता मिडियामा छाउन सक्तैनथ्यो । जो नेता हो, उसैको हातमा कैँची छैन भने उसलाई कसरी नेता मान्ने ?

चलन यो थियो, प्रत्येक नेताका खल्तीमा एकेकवटा कैँची राखिएको हुन्छ । नेताहरू जनता ठग्नलाई आश्वासनका मिठो भाषणको कैँची चलाएर हुन्छ कि मुलुकको ढुकुटीलाई आफ्नो मनोमानीको कैँची चलाएर रित्तो पार्ने हो भन्ने कथन व्यापकतामा छ ।

तर, कमन फ्याक्टर कैँची । यी सबका लागि कैँचीको आवश्यकता पर्छ । मन्त्री पदमा नियुक्त भएकै दिन मन्त्रालय सचिवले केही नभने पनि सांकेतिक रूपमा एउटा कैँची मन्त्रीको टेबुलमा राखिदिएको हुन्छ । मन्त्रीले धेरै बेर घोरिएर त्यो  कैँचीलाई हेरपछि सचिवतिर मुसुक्क मुस्काएर यसो भन्न पनि बेर लाउँदैनन्— कैँची चलाउनलाई हामी एक हुनुपर्छ ।

एक हुने कुरा चोरहरूलाई मन पर्यो । वास्तवमा चोरी गर्ने काम मिलेर गर्दा बढी फलदायी हुन्छ । चोरहरू आपसमा झगडिनु हानिकारक हुन्छ । कसैले सेनमारी गरेर चोर्छन्, कसैले पकेटमारी गरेर त कसैले चेन स्न्याचिङ गरेर भने कसैले सोझै पेस्तोल–कट्टा देखाएर । मिलेर काम गर्दा राम्रो हुन्छ ।

दलहरूमा पनि यो भावना आयो । मुलुक संघीयतामा गएपछि अनेक पद बने । यसका लागि एउटै दलले भ्याउने भएन । व्यवस्था यस्तो भयो, एउटै दलले बहुमत ल्याउनै नसक्ने । यसैले नयाँ समीकरण सुरु भयो । संसद्मा विपक्षमा बस्ने भने पनि सरकारमा गएको दललाई पदप्राप्तिका लागि विश्वासको मत दिने । यस्तो देखियो, अब मुलुकमा विरोधी स्वर छैन ।

कोही दन्तहीन बुढाखाडा होलान् जो दन्तबझान पनि गर्न सक्ने होइनन् । दन्त नै नभएपछि बझान गर्न थोत्रा गाला बजाएर मात्रै भएन । यस आधारमा सबै दल एउटै भएपछि मुलुकमा एउटा नयाँ राजनीतिक विचारधारा र पद्धति उदायो । भन्नै नसकिने विचारधाराले मुलुकलाई सही दिशातिर लग्नेछ ? जनता सोचमा परे । 

विचार गर्दा नेताहरूको भनाइअनुसार अहिलेसम्म मुलुक गलत दिशातिर गइरहेको रहेछ । सबै नेता मिलेर भने पनि– हामी एकै दिशातिर बढ्नेछौँ, बढिसकेका पनि छौँ । 

चोरहरूमा पनि यो भावना आयो, हामी पनि अगाडि बढ्नुपर्छ । किनभने, सुझाव यो आएको छ, पीएमले दिवा उद्घाटन छाडेर रात्रिकालीन उद्घाटनतिर लाग्नु ठिक हुन्छ । चोरहरूको प्रिय थियो, किनभने उनीहरू धेरैजसो राति मात्रै काम गर्न निस्कन्थे ।

मन्त्रीहरू उद्घाटनका कार्यक्रममा गएर मुलुकको समय अपव्यय गर्नु हुँदैन भनेर भन्न गाह्रै थियो । भनियो— नेताले कैँची चलाउने काम रोक्नु हुन्न । उद्घाटन नगरेसम्म नेतामा विचार फुर्दैन ।

जनता नेताका दिमागमा के विचार फुर्ने हो भनेर सधैँ त्रस्त रहन्थे । जस्तै, बनेको सडकलाई खानेपानी तथा ढलवालाले र बिजुलीको पोल सार्ने भनेर काम देखाउनेहरूले फोरफार गरेर ध्वस्त पार्थे । ध्वंसपछि उनीहरू गाडी चढेर जान्थे, जनता दुःख पाउनेमा पर्थे । यसले गर्दा एउटा आम्दानीको चक्र निर्माण हुन्थ्यो, बनाऊ—भत्काऊ र कमाऊ ।

चोरहरूको कुरो थियो । नेताहरूलाई भनिएको होइन । टोलैपिच्छे नेता छन् । टोलैपिच्छे चोर पनि छन् । मनमानी भाउ बढाएर महँगी चुल्याउने व्यापारी पनि छन्, तिनलाई पनि चोर भन्न डराउनुपर्छ ।

चोरहरूले भने— चोर शब्दको एउटा पवित्रता छ । त्यसलाई बिटुल्याउनु हुँदैन । चोर शब्दको पवित्रता कसरी छ भने चोर्ने काममा समातियो भने थुनामा लग्छन्, थुनामा पिटाइ खाइन्छ, मारिन पनि सकिन्छ । तर, पर्यो भने लेनदेन गरेर सहजै छुटिन्छ पनि । मुलुककका ठूलठूला सुनकाण्डलाई सहजै उम्किनुको उदाहरण दिन्थे ।

व्यापारीहरू पनि कालाबजारीमा समातिए भने लेनदेनले छुट्छन् । पहिलो कुरो त समातिँदै समातिँदैनन् । नसमातिनेमा ठूला नेता पनि पर्छन् । एउटा कथन छ— हात्तीछाप चप्पल लगाएर राजनीतिमा पसेका खिन्याउरा नेताहरू छोटो समयमै रातापिरा र भव्य भवनमा बस्ने हुन्छन् ।

तिनै भन्छन्, पार्टी सुकिलामुकिलाको कब्जामा गयो । एउटा कुरा यहाँ यो स्मरणीय छ, हात्तीछाप चप्पल कम्पनी रिसाउन पनि सक्छ । किनभने, उसको दाबी यो हुनसक्छ, हात्तीछाप भनेर लेखिदिनाले हाम्रो फोकटमा प्रचार भए पनि हात्तीछाप चप्पलभन्दा कमसल चप्पल पड्काएर राजनीतिमा प्रवेश गरेपछि धनाढ्य हुने नेता पनि छन् ।

यसो भन्दा हात्तीको र हात्तीछापको प्रतिष्ठा कायम रहने देखिन्छ । हात्ती त हात्ती नेता त हात्तीहरूमध्ये श्रेष्ठ सेता हात्ती हुन्, जसलाई मुलुकले मन अमिलो पारेर भए पनि पालिरहेछ ।

तर, सेतो हात्तीको प्रसंगअघि उठेको कुरो यो हो, चोरहरूले भन्ने गरेका छन्— हामी समातियौँ भने पचास अटाउने जेलमा पाँच सय कोचिएर बस्नुपर्छ । एउटा प्रकृतिको अपराधमा दुई थरीको जेल हुनु नपर्ने हो भने ।

उनीहरूको आशय नेता र व्यापारीतिर होला, तर फरक यो थियो, कागज मिलाएर र ठाडै नगद वा गहना चोर्नुमा ठूलो परक छ । तर, चोरहरूले प्रतिवादमा भने— हामी यो मान्दैनौँ, किनभने चोर्नु भनेको चार्नेु नै हो ।

विवाद गर्नतिर नलागौँ । मुलुकै सत्ताविवादका कारण यो हालतमा छ । चोरहरूको कुरा ठिकै हो । यो कुरालाई साम्य पार्न चोरहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भन्न पनि सकिन्थ्यो । पूरै समूह एकै खालको भएपछि केको प्रतिनिधित्व भनेर चर्को प्रतिवाद पनि आयो, शक्तिकेन्द्रहरूबाट ।

यो जरुरी भएन, चोरहरूको प्रतिनिधित्व सत्तामा होस् । किनभने, अपराधको राजनीतिकरण त भइरहेकै छ । राजनीति पनि अपराध गर्नेलाई सांसद बनाउन तयारै छ भनेपछि यसमा विशेष बहस गरिरहनुपर्ने खण्ड आएन । के हुन सक्तैनथ्यो भने, अपराधलाई संरक्षण नदिएर राजनीति फस्टाओस् ।

यो समयको माग हो पनि भनियो । चुनावमा अथाह रकम चाहिन्छ र पैसो अपराधीहरूसँग छ । वरिष्ठ नेताले यो भने । चोरहरू खुसी भए, यो एक किसिमले अपराधकर्मलाई राजनीतिले स्वीकृति दिनु हो । त्यसैले पनि उनीहरूले चोरी गर्ने कर्म बढाए ।

हुँदाहुँदा यतिसम्म भयो, उनीहरूले सिन्डिकेट खडा गरे । सिन्डिकेटले चोरहरूबीच इलाका तोक्यो, यसले यो ठाउँ चोर्ला, यसले यो ठाउँ । त्यहाँ पनि यस्तो देखियो, मालदार एरियामा को जाने भन्ने हानथाप ! जस्तै, सजिलोका लागि यसो भनौँ न– मालदार मन्त्रालयमा कुन दलले मन्त्री लिने भन्ने भित्री विवाद ।

विवाद नभनौँ, परामर्श भनौँ । राजनीतिको पनि थोरबहुत इज्जत शेष छ । जसरी पनि परामर्श यस कारण कि गठबन्धनमा त्यो कुरो मिलेन भने सरकार ग्वार्लाम्म ढल्ने थियो ।

चोरहरूबीच यही कुराको खुसी थियो, अब सरकार प्रमुखबाटै रात्रिकालीन उद्घाटन कार्यक्रम हुने भए । सुरक्षातन्त्र त्यतै लाग्या बेला चोेर्न सहज हुने भयो । -baahrakhari