April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कविता: बिदा भएको बस्ती

मैले बेहोरेको एउटा बस्ती थियो,
समयको गोरेटोमा 
विस्मृतिको खास्टो ओढेर
सुस्तसुस्त पदचापले 
चुपचाप बिदा भयो 
हल्का सम्झना छ–
पाकोको मिठाई पसल
भोटहिटीको पुस्तक पसलहरू
असनको नेपाल क्याप हाउस
जमलको मोमो
त्यो बिट्रिस लाइब्रेरी
फ्रस्टिँयाक रेस्टुराँमा पाक्ने विदेशी परिकार
बेग्लै आनन्दको मौलिक आभास
पार्कमा बसेर बदाम छोडाएको
पार्क रेस्टुराँको ज्याज
स्वीट भ्यालीको समोसा
नयाँसडकको चुरा पसल
न्यानो खास्टो
न्यानो चप्पल
अति सुन्दर यौवनाहरूको
मादक मुस्कानको घातक प्रहारले
छटपटिएर
मुटु ढुकढुक गर्दै
कुरा कोट्ट्याउन सँगालेको आत्मबल,
साक्षी बसेको त्यो बस्ती
कसरी चुपचाप बिदा भयो होला,
म छक्क पर्छु !

थ्वः रेडियो नेपाल खः
त्यो प्रस्ट उद्घोषण
बच्चु कैलाश, नारायणगोपाल, प्रेमध्वजले
जगाएको छटपटाहट,
संस्कृतिको त्यो आवरण
हठात् हरायो
हरायो सँगै
संवेदनशीलता,
लुछाचुँडी र लुटमारको बन्धक भएर
चुपचाप बिदा भयो 
त्यो बस्ती !

अहिले अखबार छ,
खबर छैन
शरीर छ, वस्त्र छैन
प्यास छ, तर माया छैन
सबैथोक सजिएर झकाझक छन्,
तर कौतूहल छैन
चाहना छ, 
तर शाश्वत विश्वास छैन
टोलाएर एक्लै झोक्रिएको छ
टुँडिखेल
सबका सब खेलाडी छन्,
कुनै नियम छैन 
अन्धाधुन्ध दौडेका छन्
खेलाडी कम, रेफ्री बढी
ठेलमठेल,
लुछाचुँडी 
र, कुनै औचित्यविनाको
चौरस्तामा हुलका हुल मान्छे चलाएमान छन्
तर, बस्ती उदास र रोगी भएर
बिदा भएको छ
दुःख लाग्छ सम्झँदा 
बिदा भएको बस्ती ! -baahrakhari

Advertisement