August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

‘पहिलो कार्यकालमा प्रदेश समृद्धिका आधारहरू तयार पारिसकेका छौं, यसलाई कार्यान्वयन गर्छौं’

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएको झण्डै एक महिना पुग्न लाग्यो । तर, सरकारले अझै पूर्णता पाउन सकेको छैन । विगतमा प्रदेश सरकारले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै प्रदेश खारेजीसम्मका मागहरु नउठेका होइनन् । यस्तोे अवस्थामा गिरी आधा दर्जन बढी दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश राजधानी रहेको दाङ देउखुरीमा पर्याप्त संरचना नहुँदा नहुँदै राजधानी सारिएको भन्दै सरकारको आलोच भइरहेको छ । मुख्यमन्त्री गिरीलाई सरकारलाई पूर्णता दिन चुनौति छँदैछ, त्यसमा प्रदेशप्रति जनमानसमा जागृत भइरहेको वितृष्णा मेटाउन र प्रदेशको औचित्य पुष्टि गर्ने थप चुनौति छ । अर्कातर्फ नयाँ ठाउँमा राजधानी लगिएकाले त्यहाँ संरचना बनाउनु पर्ने छ । यसअघि रहेका १३ वटा मन्त्रालयबाट घटाएर मुख्यमन्त्री गिरीले पहिलो मन्त्रिपरिषद् बैठकबाटै प्रदेशका मन्त्रालयको संख्या १० बनाएका छन् । ती मन्त्रालयका भवनको व्यवस्थापन गर्दै मुख्यमन्त्रीले सरकारको पूर्णता दिने र सँगसँगै सत्ता साझेदार दलहरुको सहकार्यमा न्युनतम साझा कार्यक्रम बनाउने तयारी पनि अगाडि बढाएका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री गिरीले कसरी काम गर्ने योजना बनाइरहेका छन्, सरकार विस्तार कहिले हुन्छ ? लगायत विषयमा रहेर मुख्यमन्त्री गिरीसँग पब्लिक कुराले गरेको कुराकानीको सम्पादित अंशः

Advertisement

आधा दर्जन बढी दल, स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा यहाँ मुख्यमन्त्री बन्नुभयो । कसरी मिलाएर अगाडि बढ्नुहुन्छ ?
ठुला दलहरुले बहुमत ल्याउँछौं भनेर निर्वाचनमा होमिएका थिए । तर, जनमत त्यस्तो देखिएन । जसले गर्दा हामीले दलहरुका बीच साझेदारी गरी बुहमतीय सरकार निर्माण गरेका छौं । सबैको सहकार्यमा जनअपेक्षाअनुसार काम गर्ने गरी योजना बनाउने तयारी गरेका छौं । प्रदेशलाई बलियो बनाउने, प्रदेश सरकारको खर्च घटाउने कामलाई हामीले प्राथमिकता साथ सुरुवात गरिसकेका छौं । अनावश्यक मन्त्रालय कटौती गर्ने र खर्च कम गर्ने योजनाकासाथ मन्त्रिपरिषद्को पहिलो बैठकले नै मन्त्रालयको संख्या घटाउने निर्णय गरिसकेको छ । लुम्बिनी प्रदेश सरकारले अनावश्यक रुपमा खर्च गर्ने छैन र अनावश्यक सवारीसाधन समेत खरिद गर्ने छैन । जनतामा असल प्रभाव पर्ने काममा पक्कै पनि सबै सहयात्रीहरुको साथ रहने नै छ । अहिले प्रदेश सरकारलाई पूर्णता दिँदै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारीमा छौं । न्यूनतम साझा कार्यक्रमले सबै दलका भावनालाई समेट्ने छ । चुनावमा गरिएका प्रतिबद्धतालाई पनि सम्बोधन गर्नेगरी कार्यक्रम बनाइराखेका छौं । समग्रमा प्रदेश सरकारले ल्याउने न्यूनतम नीति तथा धेरै विषयलाई स्पष्ट पार्ने नै छ । यसका लागि सत्ता साझेदार दलहरुका बीचमा छलफल गरिरहेका छौं ।

Advertisement

यहाँले साझा कार्यक्रम बनाइरहेको बताउनुभयो, प्रदेश सरकारका प्राथमिकताहरु के–के हुन्छन् ?
जनतामा विकासप्रति तीब्र चाहना छ । जनआकांक्षा अस्वभाविक पनि होइनन् । तर, हाम्रा सिमित साधन, स्रोत र सामथ्र्यले असिमित काम एकै कार्यकालमा गर्न सक्ने अवस्था छैन । हामीले सत्ता साझेदार दलहरुका बीचमा बसेर नीति तथा कार्यक्रम बनाउँदा नै सकेसम्म धेरै विषय प्रष्ट हुनेगरी प्रस्तुत हुनेछौं । प्रदेशको आम्दानीका क्षेत्रको बृद्धि गर्दै सामथ्र्यको विकास गर्ने र जनतामा सुशासनको अनुभूति हुनेगरी कार्यक्रम बनाउने कुरा नै हाम्रो प्राथमिकता रहने छ ।
यसका साथै प्रदेशका विभिन्न जिल्लामा रहेका विभिन्न तहका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउनुपर्ने छ । एक चरणमा हामीले त्यस्ता कार्यालयहरुलाई प्रभावकारी बनाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिइसकेका छौं । अस्पताल, मालपोत, नापी, विद्युत् तथा यातायात कार्यालयका सेवा प्रवाहलाई सकेसम्म प्रभावकारी बनाउने, सहज बनाउने र छिटोछरितो बनाउँदा जनतामा सकारात्मक सन्देश पनि जान्छ । प्रदेश सरकारको प्रभावकारिता बृद्धिका लागि सोही अनुरुपका कानुनी व्यवस्था, प्रशासनिक पुनर्संरचना र जनशक्तिको परिचालन तथा क्षमता विकासलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेशको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा कृषिलाई लिएका छौं र सोही अनुरुपका कार्यक्रमहरु बनाएका छौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने, उद्योगहरुको संरक्षण, स्थापना र स्थानीय स्रोत साधानमा आधारित उद्योगको विकास गर्नेतर्फ प्रदेश सरकारको विशेष चासो रहेको छ ।

प्रारम्भिक खाका र अवधारणामा कस्ता विषयवस्तुलाई प्राथमिकता दिनुभएको छ ?
लुम्बिनी प्रदेश सरकार गठन भएको यो तेस्रो र अवधिका हिसाबले दोस्रो हो । पहिलो तथा संस्थापन कालमा प्रदेशको मन्त्रीका रुपमा केही वर्ष अनुभव पनि हासिल गरिएको छ । हामीले त्यसबेला नै प्रदेशका समृद्धिका आधार तयार पर्ने र तिनै आधारहरुलाई साकार पार्न उपयुक्त कार्यक्रमका मोडल समेत बनाएका थियौं । त्यसबेलामा हामीले सुरु गरेका भौतिक पूर्वाधारका योजनालाई पूर्णता दिनेतर्फ नै हाम्रो ध्यान रहने छ । अधुरा रहेका गौरवका आयोजनालाई अगाडि बढाउने छौं ।
संघीय सरकारले सुरु गरेका राष्ट्रिय गौरवका आयोजना, प्रदेश सरकारले अगाडि बढाएका गौरवका योजनाहरुको पूर्णता तर्फ नै हाम्रो ध्यान रहने छ । तीनै तहका सरकारको ध्यान नै समृद्ध मुलुक निर्माणमा केन्द्रित गराउनुपर्ने छ । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्गहरुको पूर्णता, स्तरोन्नती र विस्तार गर्नुपर्ने छ । प्रदेश सरकारले सुरु गरेका रामपुर–कपुरकोट मार्ग र उत्तर–दक्षिणका मार्गहरुका अवधारणालाई साकार पार्नुपर्ने छ । संघीय सरकारका आयोजनालाई संघीय सरकार संग समन्वय गरेर अगाडि बढाउने र प्रदेश सरकारको रामपुर कपुरकोट सडकलाई तीव्र गतीमा अगाडि बढाउने छौं । यससँग जोडेर उत्तर दक्षिणका सडकहरु र पुल पुलेसाहरु निर्माण गर्ने बिगतको योजनालाइ तदारुकताका साथ बढाइने छ ।
यसका साथै पर्यटकीय किसावले गन्तव्य निर्माण गर्ने, हिल स्टेशनहरु, पुथा, सिस्ने हिमाल देखि रेसुङ्गा, स्वर्गद्धारी, तिनगिरे, पाणिनी तपोभुमी, रुरुक्षेत्र, रेसुङ्गा धामलगायतका क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई अघि बढाइने छ भने पर्वतीय श्रृखलाहरुमा पदमार्ग तथा हिल स्टेशन निर्माण गर्ने र लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन सर्किटको विकास गर्ने कार्यक्रम बनाउने छौं । धार्मीक पर्यटनलाई लुम्बिनीदेखि रुरुरेसुङ्गा, स्वार्गद्धारी, बागेश्वरी, सुपादेउरालीसम्म जोडेर धार्मीक पर्यटनको रुपमा अगाडि बढाउने जस्त बिगतमा पर्यटकीय र संस्कृतिक हिसावले बनाएका योजनालाई साकार पार्ने कार्यक्रम बनाउने छौं ।
अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कृषि क्षेत्रको आधुनिकीकरण, विविककरण, व्यवसायिकरण गर्ने कार्यक्रम बनाउने छौं । किसानहरुलाई आयआर्जन बढाउने गरी नयाँ कार्यक्रम बनाउने र कृषिक्षेत्रको प्रबद्र्धनका प्रभावकारी कार्यक्रम बनाउनुपर्ने छ । उद्योग र पर्यटन लाई जोडने हाम्रा प्राथमिकता हुन । अवको पाँच बर्षमा प्रदेशका जनताको जीवनस्तर परिवर्तन हुने गरि कुनै न कुनै रुपमा सङ्घीयताले हामीलाई छोयो भन्ने महशुस हुने गरि काम गर्ने छौँ ।

प्रदेश समृद्ध बनाउने आधारहरु के छन् ?
हामीले यसअघि नै खासगरी प्रदेशको पहिलो कार्यकालमै प्रदेशका समृद्धिका अधारहरु तयार पारिसकेका छौं । संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा हामीले समृद्ध प्रदेशका आधारलाई साकार पार्ने उपयुक्त कार्यक्रम समेत बनाएर अगाडि बढेका हौं । अहिले समृद्ध प्रदेश ः आत्मनिर्भर लुम्बिनीको लक्ष्य हासिल गर्नका लागि विभिन्न नीतिगत निर्णय गर्दै अघि बढने छौं ।
सडक सञ्जाल, यातायात, सञ्चार, विद्युत्लगायतका पूवार्धारको तीव्र विकास, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आमसरोकारका विषयमा विकासको प्रत्याभूति गराउनुपर्ने छ । प्रदेश सरकारलाई भरपर्दो र एउटा विश्वासको संरचना बनाउनेगरी कार्यक्रम बनाउनुपर्ने छ । सिक्दै र अनुभव गर्दै समय खर्चिने छुट अब धेरै छैन । जनताको आकांक्षा र विकासको तीब्र चाहनालाई हाम्रा सिमित साधन स्रोतले एकै पटक साकार पार्ने सामथ्र्य छैन । तसर्थ प्राथमिकता निर्धारण गर्दै साधान स्रोतको परिचालन गर्नुपर्ने छ ।
सुशासनमा हामी प्रतिबद्ध रहने छौं । सहज, सरल, पारदर्शी र जवाफदेही सेवा प्रवाहका लागि शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण हाम्रो प्राथमिकता रहनेछ । प्रदेश सरकार मातहत रहेका समग्र स्रोत, साधन, सामथ्र्यलगायतका संयन्त्रलाई अभियानका रूपमा परिचालन गर्ने विशेष कार्यक्रम बनाउने छौं । विविधताले भरिएको लुम्बिनी प्रदेशमा रहेका प्रचुर सम्भावनाका क्षेत्रलाई उपयोग गर्न नीतिगत निर्णय गर्दै अगाडि बढ्ने कार्यको थालनी तत्काल गर्नेछौं ।

प्रदेश संरचनाप्रतिप्रति आम जनमानसमा अरुचि र असन्तुष्टि पनि छन् नि ?
पहिलो कुरा मुलुकमा राजनीतिक स्थायित्वको खाँचो छ । जनतामा समग्र राजनीति र अहिलेको नयाँ व्यवस्थाप्रति नै एक प्रकारको वितृष्णा बढाउने खालका कोसिसहरु भइरहेका छन् । कतिपय हाम्रै तौरतरिकाहरुले पनि जनतामा निराशा उत्पन्न गराउने काम गरेको छ । हामीले सकेसम्म निराशालाई आशामा बदलेर प्रदेश सरकार जनताको सरकार हो, जनपक्षीय काम गर्ने संरचना हो भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने छ । हामीले आफूहरुलाई सेवकका रुपमा प्रस्तुत गर्ने छौं । हो, खासमा राजनीतिक अस्थिरताका कारणले धेरै क्षेत्र प्रभावित भएको छ । जनतामा निराशामात्रै होइन एकप्रकारले आक्रोस पनि छ भन्ने मैले बुझ्छु । हिंजो कतिपय विषयमा हेक्का नराख्दा र सबै शून्यबाट सुरु गर्नुपर्दा कतिपय विषयमा त्रुटिहरु पनि भएका छन् । कमीकमजोरी जोसुकैबाट भएको होस् समग्रमा जनताले बुझ्ने भनेको राजनीतिक नेतृत्वलाई नै हो । अब हामीले तिनै विगतका कमिकमजोरी र त्रुटिहरुबाट पाठ सिकेर प्रभावकारी काम गर्नुपर्ने छ । जनतामा निराशा होइन आशाका किरण संचार गर्नुछ ।
अहिलेको चुनाबले कसैलाई पनि बहुमत दिएको छैन । त्यसैले दलहरुका बीचमा साझेदारी गरी बुहमतीय सरकार निर्माण गरेका छौं । लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिंदै न्यूनतम साझा कार्यक्रम ल्याउने छौं । न्यूनतम साझा कार्यक्रमले धेरै विषयलाई स्पष्ट पार्ने नै छ । सत्ता साझेदार दलहरुका बीचमा छलफल गरिरहेका छौं । प्रदेशलाई बलियो बनाउने, प्रदेश सरकारको खर्च घटाउने कामलाई हामीले प्राथमिकता साथ सुरुअत गरिसकेका छौं । अनावश्यक मन्त्रालय कटौती गर्ने र खर्च कम गर्ने योजनाकासाथ मन्त्रिपरिषद्को पहिलो बैठकले नै मन्त्रालयको संख्या घटाउने निर्णय गरिसकेका छौं । लुम्बिनी प्रदेश सरकारले अनावश्यक रूपमा खर्च गर्ने छैन र अनावश्यक सवारीसाधन समेत खरिद गर्ने छैन ।

प्रदेशसभा रहेको प्रमुख प्रतिपक्ष दललाई के भन्न चाहनुहुन्छ ?
लुम्बिनी प्रदेश सरकारले सबै दलहरुसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने छ । संसदमा रहेका सबै दलका चुनावी घोषणा पत्रलाई समेटेर हामीले न्यूनतम साझा कार्यक्रम बनाउने छौं । विश्वासको मत दिने र नदिने सबै दलहरुसंग हामीले समन्वय गर्नेछौं । जहाँसम्म प्रतिपक्षी दलको कुरा रह्यो कुनै पूर्वाग्रह नराखीकन रचनात्मक विपक्षी दलको भूमिका निर्वाह गरियोस् भन्ने हाम्रो आग्रह छ । प्रतिपक्षले रचनात्मक सहयोग गरेर अगाडि बढ्ने विश्वास हामीले लिएका छौं । त्यसका लागि सरकारले समन्वय गर्नेछ । गलत अभ्यासमा लाग्नु हुनेछैन भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, यहाँ मुख्यमन्त्री नियुक्त भएको पनि एक महिना पुग्नै लाग्यो तर सरकार अझै पूर्णता पाएको छैन, कहिले पूर्णता पाउला ?
कुनै विवाद र असन्तुष्टिका कारणले सरकार गठनमा ढिलाई भएको होइन । केही दिनमै मन्त्रिपरिषद पूर्णता पाउँछ । बाहिर भागबण्डा नमिलेर मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको भनिएको छ, यो केही होइन् । कतिपय साथीहरुले त्यसरी पनि टिप्पणी गर्नुभएको छ । यसमा सत्यता छैन । खासमा अहिले राजधानीका रुपमा रहेको राप्ती उपत्यकाको देउखुरीमा मन्त्रालयका भवन निर्माण गर्ने, व्यवस्थापन गर्ने, मन्त्री र कर्मचारीहरुका निवासको प्रबन्ध मिलाउने काम तीब्र रुपमा चलिरहेको छ । मन्त्रालयका भवन निर्माणका काम जारी रहेको र सत्तासाझेदार दलका नेता मातृवियोगमा परेका कारणले पनि सरकारले पूर्णता पाउन केही ढिलाई भएको हो । अबको केही दिनमै सरकारले पूर्णता पाउनेछ । सरकारले पूर्णता पाएपछि जनभावना अनुसारका कामले गति लिन्छन् ।