March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

साथी हामी भेट्नेछौँ कुनै दिन

साथीबिनाको जीवन कसैको छ भने त्यो सायद अपवाद बन्छ । किनकि साथी छ र त जीवन सुन्दर छ । रमाइलो छ, सजिलो छ अनि सहज छ । हरेकको जीवनमा साथीको विशेष स्थान रहन्छ अनि साथको विभिन्न भूमिका पनि ।

Advertisement

प्रत्येक साथीको साथले जीवनमा केही न केही फरक पारेको हुन्छ । मेरा लागि पनि साथी शब्दको विशेष अर्थ हुन्थ्यो । एक यस्तो साथी जसले मलाई बुझोस्, मेरो दुःख सुखमा समभाव राखोस्, जोसित जुनसुकै विषयमा कुरा गर्न मलाई किमार्थ संकोच नलागोस् । जो मेरो अघिअघि वा पछिपछि होइन, सधैँ मेरै साथसाथै हिँडोस् । 

Advertisement

जो मेरा विषयमा राम्रो नराम्रो सबथोक थाहा पाएर पनि मलाई सार्वजनिक रुपमा अथाह स्नेह र समर्थन गरोस् । एक्लै हुँदा बेहिसाबले गाली गरोस् । जोसंत अर्थहीन, अन्टसन्ट बकबास कुरा गरेर घन्टौँ बिताउन सकियोस् । मानिस केवल वैयक्तिक शरीर मात्र होइन, भावनाको समागम पनि हो । मानिसभित्र उपयोगितावादको रणनीतिमात्र होइन, निःस्वार्थ सम्बन्धहरुको तृष्णा पनि लुकेको हुन्छ । मेरा लागि साथीको सम्बन्ध पनि त्यस्तै रह्यो । 

हरेक ब्यक्ति आफैमा फरक हुन्छन् । किनकि प्रत्येक ब्यक्तिको जन्मने, हुर्किने र शिक्षा लिने प्रक्रियाहरू अलग अलग हुन्छन् । तिनै विभिन्न तत्वहरूले मानवजीवनको बानी र व्यवहार केही भिन्न हुन्छन् । 

जुन साथीको बारेमा आज लेख्दै छु, त्यो साथी जो आफूमा मात्रै सीमित राखी कम बोल्ने तर फराकिलो सोचाई भएको, मायालु, दयालु अनि सहयोगी भावनाले ओतप्रोत थियो । तर, म त्यस समयमा केही चञ्चल अनि सार्वजनिक हुन रुचाउने बानीको थिएँ । सुरुमा त लाग्थ्यो, विपरीत बानीको यो मान्छे मेरो सुखदुःखको साथी कसरी हुन सक्छ होला ? दुई अलग अलग गुणको अनौठो समीकरण भएको हामीबीच साथीभन्दा माथिको सम्बन्ध बिछट्ट विकास कसरी भयो, यसको कहानी छ ।

स्नातक तह पढ्दै गर्दा भएको त्यो भेट सम्झिन्छु । सुरुमा तपाईंबाट सुरु भएको सम्बोधन, तिमी भन्दाभन्दै तँ तँ र म म को मीठो भाषामा हामी कसरी पुग्यौँ, साँच्चै याद नै छैन । बीएस्सी फरेष्ट्री पढ्दै गर्दा हरेक सेमिस्टरका शैक्षिक भ्रमणहरुमा विविध कारणवश म नजान खोज्दा कलेजको बस नै रोकी मेरो रुमसम्मै लिन आउने साथीलाई आज एयरपोर्टमा छोड्न त्यही रुमबाट निस्किनु पर्दाको भावना सायद शब्दमा व्यक्त गर्न यो पंक्तिकारले सक्ने छैन । 

स्नातक अध्ययनकै क्रममा जसले मेरो राजनीतिक चेतना र नेत्तृत्वशैली बढोस् भनेर आफ्नो आस्था विचारलाई थाँती राख्दै मैरै विचारमा समाहित भइरह्यो । स्नातकका चार अभिन्न साथीहरु प्रकाश सिर्माल, प्रसिद्ध खड्का, गोकुल सुनार र म मिलेर हरेक दिनजसो एकअर्काको रुममा रहेर पार्टी गर्नु, दिनदिनै नयाँ काण्ड मच्चाउनु, केटी साथी होस् या प्रेमको कुरा गरेर रमाउनु र प्रेम विछोडमा साथीहरु माझ बसेर उदास हुनु,  पीडा पोख्नु जस्ता क्रियाकलापमा हाम्रो लोभलाग्दो कलेज जीवन बित्यो । 

कहिलेकाहीँ नमीठोसँग एक अर्कालाई जिस्काउँथ्यौ तर त्यो जिस्काईमा पनि एक किसिमको मिठास थियो र समय औधी रमाइलो बनिदिन्थ्यो । एक अर्कालाई बोलाउँदा पनि नाम बिगारेर अथवा गाली गरेर बोलाइन्थ्यो तर त्यही गालीमा पनि साथीको माया र आफ्नोपन झल्केको हुन्थ्यो । 

पहिलो चोटि प्रकाश र म धादिङ्ग र डडेलधुरामा फिल्ड जाँदा घनघोर जंगलको रात्रीकालीन बाटोहरु ढुंगाको भर माटोझैँ एक अर्काको आड भरोसामा हिँडेका थियौँ । काम गर्दा ह्या ! झ्याउ लाग्यो मलाई भन्दा रुक न रुक अब सकिन्छ भनेर हौस्याउने गरेको, कठाङ्ग्रिने चिसोमा पनि ल आईज तलाईं पौडी सिकाउँछु भन्दै गहिराई नै थाहा नभएको पौडी पोखरीमा हाम फालेको जस्ता अविस्मरणीय क्षणहरु अहिले पनि दिल दिमागमा ताजै छन् । 

आफूलाई कुनै अप्रत्याशित खुसी मिल्दा होस् या कुनै समस्यामा नराम्ररी फस्दा होस्, सुरुमा सुनाउने एकअर्काका भरोसायुक्त पात्रका रुपमा हामी थियौ ।  घन्टौं यत्तिकै फोनमा नानाथरीका कुरामा समय बिताउँदा, केही काम नभएपनि भेटदा अलग्गै तरिकाको सामीप्यता, एकअर्काको जन्मदिन परिवारमा मनाइने चलन नभए पनि दुवैले मात्रै भएपनि मनाउँदाको खुसी बयान गरी साध्य छैन । 

स्नातक पढ्दा मेरो कोठामा उसको बास अनि दुवैले कञ्चनपुर जागिर खाँदा उसको कोठामा मेरो बासले लाग्थ्यो, हामी जसरी पनि जहिल्यै नजिक नै रहन्छौ होला । कुनै समय दुवैले काठमाडौंदेखि धनगढी जाँदा पहिलो चोटि प्लेन चढेका थियौ । तर, आज साथीलाई एक्लै काठमाडौंदेखि क्यानडाको यात्रा तय गर्दा भावनाका आवेगहरु अत्तालिएको पत्तै पाइनँ । 

साथीको साथको लागि परिवारमा होस् या जागिर गर्ने ठाउँमा समेत थाहै नदिई कति ठाउँ घुम्न निस्कियौं, सायद पृष्ठभूमिका परिस्थितिले ती यादगार तस्विरहरु प्रस्फुटन नै हुन पाएनन् । यसरी हामी कुरा गर्दा हाँसो र रोदनका बिच हाम्रै जीवन कैयौंचोटि आफै स्वतन्त्र बनायौँ । 

एक यस्तो साथी जो जिन्दगीको बाटोको हरेक पाइलामा सँगसँगै थियौं । किशोरावस्थादेखि यौवनाअवस्थाका हरेक खुशी, आनन्द र उत्सवको क्षणहरूमा खुलेर रमाउने मात्रै होइन, साथीका शोक, निराशा र क्रोधको मौसममा पनि सहजताका साथ आडभरोसा बनेर उभिएको थियौं । त्यो साथी जसमा काम गर्ने क्षमता थियो भने म मा बोली बिकाउने कला । दुवैको सम्मिश्रणबाट सायद हामीले सँगै रहेर जीवनमा केही गर्न सक्थ्यौ तर परिस्थितिले पुरै हुन दिएन ।  

त्यस्तो साथीलाई विदाइ गर्नु कुनै पनि व्यक्तिको जीवनमा सबैभन्दा कठिन र अप्ठ्यारो हुने रहेछ । साथीले क्यानडाजस्तो विकसित देशमा सफलताको पाइला टेकेको खुसी एकातिर छ भने आफ्नै देशमा सँगसँगै हुने चाहनाको अन्त्य अर्कोतिर छ । जीवनमा पहिलोेचोटि एकैसाथ साह्रै खुसी र निकै दुःखी हुनुको अनौठो अनुभव रह्यो । 

भावनात्मक रुपमा साथीमात्र नभएर रगतको नाता जत्तिकै आफ्नोपन पनि हामीमा थियो । घरबाट बाहिर निस्किँदा परिवारलाई हामी दुबै सँगै छौ मात्रै भन्दापनि धेरै खोजीनीति हुन्न्थ्यो । एकअर्काको दाजुभाईको बिहेमा छमछमी नाच्दा होस्, साथीको बिहेमा सोमरसको मातमा पुरै रात झुमेको होस्, मेरो अस्तित्वको संसार बाको अस्तु हरिद्वार सेलाउन जाँदाको साथ होस् यादगार छन् । लाग्छ, यिनै कुराले मेरो जिन्दगीमा साथी नामक् अनुपम अभाव अब खट्की रहनेछ, सायद साथी नामक् अब अर्को उपहार हुनेछैन । 

हामीले सँगै बिताएका प्रत्येक मिनेट, हामीले साझा गरेको हाँसो, हामीले बिताएको प्रत्येक कुराको यो मनमस्तिष्कमा कहिल्यै नमेटिने गरी रेकर्ड बनेर रही रहनेछ । साथीको मित्रताको चमकले हामी संगत भएपछिका प्रत्येक वर्ष जीवित राख्यौं भन्ने कुरा सायद यो अन्तरआत्माले अल्लगै अनुभूति गर्नेछ ।  

विवेकानन्दले भनेझै जीवनमा कति जनासँग सम्बन्ध छ भन्ने कुरा मुख्य होइन । भएका सम्बन्धहरुमा जीवन छ वा छैन भन्ने तथ्य सर्वोपरि हो जस्तो लाग्छ । भेटेको समयदेखि छुट्टिदासम्म हाम्रा रंगीन जीवनमा विदाई गर्दा म केही रङ्गहरू फिक्का भएको महसुस गर्न सक्छु । 

जीवन एक यात्रा न हो, जसले हाम्रो आफ्नो बाटोमा धेरै मानिसहरूसँग मित्रता गर्न दिन्छ । यद्यपि, एक जोडी जसको हृदयमा समयको अन्त्यसम्म रहनको लागि सुसज्जित छ ।  हामी एकअर्काबाट दूरीमा जति टाढा छौँ, त्यसमा कुनै फरक पर्दैन । हामी सधैँ एकअर्काको भरोसा, विश्वास र साथको पर्यायको रुपमा असल साथीहरू रहिरहनेछौँ ।  

अब हामी भौतिक रुपमा हरेक दिन नभेट्न सक्छौं तर हाम्रो मित्रताको डोरी अझ कसिलो हुनेछ । भौतिक जीवनले हामीलाई कहाँ लैजान्छ यसले फरक पार्दैन, हामी दुवैको अन्तरआत्मालाई थाहा छ कि हामी जीवनको कुनै मोडमा फेरि भेट्नेछौं र केही उत्कृष्ट अनुभवहरू प्राप्त गर्नेछौं । 

साँच्ची, हाम्रो शब्दकोशमा विदाइ, विछोड जस्ता शब्दहरु हुने छैनन् । किनकि हामी दुबैलाई थाहा छ, हाम्रो मित्रता भन्दा ठूलो शक्ति यस संसारमा अरू कुनै छैन । नयाँ ठाउँमा जानु भनेको जीवनको एउटा टुक्रा हो । अब पक्कै पनि नयाँ नयाँ साथीहरू भेटिनेछन् र नयाँ अनुभवहरू प्राप्त हुनेछन् । तर, म निश्चिन्त छु कि हाम्रा विचार र भावनाका विशाल पोखरीहरुमा हामी सदैव डुब्नेछौ । 

हो, मानवीय स्वभाव पक्कै पनि आज मेरो हृदयले विदाइ गर्न अस्वीकार गर्छ तर मलाई लाग्छ कि जीवन यस्तै हुनुपर्छ । म सधैँ हाम्रा सम्झनाहरू सँगै राख्न समयलाई रोक्ने तस्विर अनि भिडियोमा कैद गरिरहेको हुन्छु । 

हाम्रो मित्रताले दुवैलाई एक जादुयी यात्रामा पुर्याएको छ । भौतिक संसारको रसातलमा अब हराउँदैछौ भन्ने तथ्यको बावजुद, हामी निरन्तर साथी हुनेछौं । झगडा, प्रेमिका, प्रेमी, बहस, झूट, बिहे कुनै कुराले हाम्रो बलियो मित्रतालाई अलग गर्ने छैन । त्यसैले, केही सय माइलले पनि कुनै प्रभाव पार्ने छैन । हामी सधैँभरि असल साथी हौं अनि रहिरहनेछौ ।  

एयरपोर्टको वातावरणमा म आफैलाई अलविदा शब्द भन्नको लागि जबरजस्ती गरेको छु । विदाइ भन्दै खुशी पनि छु भन्ने मुख्य व्याख्या यो हो कि मलाई थाहा छ कि जीवनले हामीलाई फेरि एकबद्ध गर्ने बाटो कहीँ कतै अवश्य फेला पार्नेछ । यो स्वीकार गर्न गाह्रो छ कि भाग्यको चौराहाले हामीलाई छुट्याइरहेको छ । हामीसँग पहिले जस्तो साहसिक कार्यहरू नहुने तथ्यको बावजुद, हाम्रा विगतका साहसिक कार्यहरूको औंठाछापहरू सधैँ सधैँ जीवित रहनेछन् ।   

हामीले हाम्रा जीवनको सबैभन्दा सुन्दर सुनौला वर्षहरू एक अर्काको सामीप्यमा बितायौं । अब हामी जति टाढा जान्छौ, कुनै फरक पर्दैन । किनभने हामी एकअर्काको हृदयमा सपाट छौ । 

जीवन र भाग्यले मेरो सबैभन्दा मिल्ने साथीलाई भौतिक दूरीले मबाट टाढा लैजान सक्छ तर कुनै पनि कुराले बहुमूल्य सम्झनाहरू विस्मृतिमा लान सक्दैन । जसरी अजर अमर गीतसंगै हामी धुन पनि सम्झिन्छौ । हाम्रो मित्रताको अमूल्य सम्झनाका धुनहरू पनि त्यसरी नै सम्झिरहनेछौं । 

जिन्दगीको सिकाई, साथी बन्न गाह्रो र साथीलाई बिदाइ गर्न सबैभन्दा गाह्रोबाहेक अरू केही नहुने रैछ । हो, यो बिदाइ हाम्रो मित्रताको परीक्षण मात्र हो । हाम्रो सम्बन्ध ट्राफिक सिग्नलजस्तै छ । कुनै समयमा चिह्न हरियो थियो, अहिले रातो भएको छ र फेरि केही समयपछि हरियो बल्नेछ ।  अब आफ्नो जीवनको जेब्रा क्रसिङमा हिँड्नेको लागि आदर्श अवसर पनि हो । सडकको एउटा छेउबाट अर्को छेउमा हात हल्लाउँदै हरियो बत्ती बल्ने पर्खाइमा हामी हुनेछौ ।  

अवश्य पनि सच्चा साथीको अनुपस्थितिले दुवैलाई एक्लोपन र निराश महसुस गराउनेछ । मलाई लाग्छ कि हामीसँग फेरि भेट नभएसम्म आफूलाई व्यस्त राख्नको लागि ठूलो सम्झौता छ । जीवनले हाम्रा लागि फरक फरक रोडम्यापहरू बनाएको थियो होला । र, त  हाम्रो बाटो छुट्टियो । यो नै जीवनको आदर्श मूल्य हो । यो अगाडि बढ्ने र नयाँ उचाइहरू मापन गर्ने एक अवसर पनि हो । 

जब सूर्यले पृथ्वीलाई बिदाइ गर्छ, उपहारको रूपमा सुन्दर सूर्यास्त छोड्छ । जब साथीहरूले एकअर्कालाई बिदाइ गर्छन्, तिनीहरूले अनन्त र अमूल्य सम्झनाहरू छोड्छन् । हाम्रो कपालमा हावा र हाम्रो आँखामा घामको साथ, हामीले हाम्रो मित्रतालाई जीवनको सबैभन्दा ठूलो पुरस्कारको रूपमा कदर गर्नेछौ । खुशीसाथ सबै सुन्दर सम्झनाहरूमा डुब्नेछौ ।  

मेरो रिस उठ्दा कसले सहने, मलाई रिस उठ्दा कसले शान्त गराउने । कसले सुन्ने मेरो दैनिकी, कसले पक्का गर्छ कि म सधैँ खुसी छु । कसलाई सताउने म मेरो ठट्टाले, कोसँग दिनहुँ घुम्ने ? यस मानेमा साथी टाढा जाँदा म केही हदमा दुःखी छु । 

तर, साथीबाट चिनिएको कडा परिश्रम गर्ने मनोवृत्ति र जिम्मेवारीलाई कायम राखेको सुनिश्चित गर्नको लागि म एक साहासी प्रयास गर्नेछु । प्रेरणाको लागि, यी र यस्तै प्रत्येक सुनौला अवसरका लागि धन्यवाद मेरा साथी । र, फेरि भेट्न सच्चा साथीहरूका लागि निश्चित छ । त्यसैले, साथी हामी भेटनेछौ कुनै दिन ।

लेखक वन प्राविधिक र सामाजिक अभियानकर्मी हुन्  – ratopati