March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

एमालेद्वारा रुपन्देही १ को समानुपातिकतर्फको मत पुनःगणना गर्न माग

बुटवल– नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर १ को समानुपातिकतर्फको पुनः मतगणना माग गरेको छ । बुटवलमा सोमबार पत्रकार सम्मेलन गरी एमालेले ओमसतिया गाउँपालिका वडा नं. ६ (ख), केरवानी (क), तिलोत्तमा वडा नं. ९ गौतमबुद्ध शिशु सदन आ.वि., (क) देवदह वडा नं. ६, युगज्योति (ख), तिलोत्तमा वडा नं. ८ ज्योति मावि (घ), ओमसतिया वडा नं. १ ठुटीपिपल मावि (ख), देवदह वडा नं. ३ केरवानी मावि (ख), देवदह वडा नं. १० सिता मावि (क), देवदह वडा नं. १२ सिक्टहन (ख) समेतका ९ वटा मतपेटिकाको गणनामा धाँधली भएको छ दावी गर्दै पुनः गणनाको माग गरेको हो ।

Advertisement

एमाले सचिव एवं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएको दावी गर्दै समानुपातिकतर्फको मत पुनः गणना गर्नुपर्ने जनाए । ‘हामीले प्रमाण भेटाएका छौं, त्यसैले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धाँधली भएको हुनसक्छ’, उनले आशंक व्यक्त गर्दै भने ।

Advertisement

९ वटा मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको दावी गरेको छ । एमाले रुपन्देही सचिव यज्ञमुर्ति गैरेले भने, ‘विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक–एक सयको मुठ्ठा गणना गर्ने प्रक्रिया विपरीत एकै पटक १९१ मत चढाइएको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरुले पाएको वास्तविक मत संख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको छ ।’

निर्वाचन क्षेत्रका अन्य मतदान केन्द्रको मतगणनामा पनि यस्तै नियोजित लापरवाही हुन सक्ने आशंका रहेकाले निर्वाचन सम्बन्धी ऐन, नियम, निर्देशिका विपरीतको कार्यलाई सच्चाई पुनः मतगणना गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा मंसिर ११ गते लिखित निवेदन पेश गरेको गैरेले जनाए । यस विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामान्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रुपमा मतपरिणाम फरक पार्न खोजेको पुष्टि हुने गैरेको दावी छ ।

यता निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्याम श्रेष्ठले एमालेले भनेजस्तो नभएको जनाए । उनले पुनः मतगणनाको निवेदन आएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र लेखेर पठाउने तयारी भइरहेको बताए ।