November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

भाग्यमानी दाजुभाई, जो एकैपटक प्रत्यक्ष निर्वाचन जितेर माननीय भए

भैरहवा– राजनीतिक इतिहासमा पहिलोपटक एकैघरमा दुई दाजुभाई प्रत्यक्ष निर्वाचित भएर प्रदेशसभा सदस्य चुनिएका छन् । अहिलेसम्म एकैघरका दाजुभाइ अथवा श्रीमान–श्रीमती प्रत्यक्ष र समानुपातिक प्रणालीबाट सांसद भएका थुप्रै उदाहरण छन् । तर, प्रत्यक्ष निर्वाचन जितेर एकैघरका दाजुभाइ प्रदेशसभा सदस्य भएको पहिलोपटक हो ।

Advertisement

यसरी एकैघरका दाजुभाइ एकैपटक प्रत्यक्ष निर्वाचन जितेर सांसद हुने मौका पाउने भाग्यमानी नेताहरुमा परेका छन्, नेकपा एमालेका नेता भोजप्रसाद श्रेष्ठ र उनका सहोदर भाइ राजुप्रसाद श्रेष्ठ । एमालेको राजनीतिमा सक्रिय श्रेष्ठ दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचन जितेर ‘इन्ट्री’ भएका हुन् ।

Advertisement

रुपन्देही क्षेत्र नम्बर २(२) बाट भोजप्रसाद श्रेष्ठ र पाल्पा क्षेत्र नम्बर १(१) बाट राजुप्रसाद श्रेष्ठ एउटै प्रदेशसभामा निर्वाचित हुने भाग्यमानी दुई दाजुभाइ बनेका हुन् । उनीहरु दुबैजना दाजुभाइ नेकपा एमालेबाट निर्वाचित भएका हुन् । भोजप्रसादले नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीलाई सात हजार बढी मतान्तरले पराजित गरे । उनी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले १६ हजार ३ सय मत प्राप्त गरेर विजयी हुँदा माओवादीका क्षेत्रीले ९ हजार ४ सय १० मत ल्याए । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १५८ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि उनी लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्री समेत भएका थिए ।

उता भोजप्रसादका सहोदर भाइ राजुप्रसाद श्रेष्ठले पाल्पा क्षेत्र नम्बर १(१) बाट १७ हजार ६४२ मतसहित बिजयी हुँदा काँग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । श्रेष्ठ र खनालको मतअन्तर ५ हजार ३ सय ९० छ । भाइ राजुप्रसाद पाल्पाबाट राजनैतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए भने भोजप्रसाद बुटवलबाट राजनीतिमा सक्रिय थिए । भोजप्रसाद एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुन् ।