August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

‘हामीप्रति सबै मतदाताको आशा र विश्वास छ, निर्वाचन जित्छौं’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट एमाले, जसपा र राप्रपाको गठबन्धनबाट राप्रपा नेता दीपक बोहरा उम्मेदवार छन् । पटकपटक मन्त्री समेत भइसकेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बोहराले आफू मन्त्री भएका बेला रुपन्देहीको विकासमा उल्लेख्य काम गरेको बताउँदै आएका छन् । प्रस्तुत छ, मंसिर ४ को निर्वाचन, चुनावी अभियान, क्षेत्र विकासका योजना लगायतका विषयमा रहेर तीन दलीय गठबन्धनका उम्मेदवार बोहरासँग पब्लिक कुरा डटकमले गरेको कुराकानीको सम्पादित अंश:

Advertisement

निर्वाचनको मिति नजिकिँदै छ, तीन दलीय गठबन्धनको चुनावी अभियान कसरी अगाडि बढेको छ ?
हामीले क्षेत्रका सबै वडाहरुमा यसअघि नै प्रचारप्रसार कार्यालय खोलिसकेका छौं । विभिन्न ठाउँमा कोणसभा गरेका छौं । धेरै ठाउँमा घरदैलो पनि गरेका छौं । विभिन्न संघसंस्था र मतदातालाई भेटिरहेका छौं । हाम्रो एजेण्डा सुनाउने, बुझाउने गरेका छौं । विगतमा गरेका कामलाई बताइरहेका छौं । धेरै मतदाता हामीप्रति आकर्षित हुनुहुन्छ । अहिले पनि भेटघाटलाई तिव्रता दिइरहेका छौं । प्रचारप्रसार गरिराखेका छौं ।

Advertisement

मतदातासमक्ष के–कस्ता एजेण्डा लिएर जानुभएको छ ?
हाम्रो साझा एजेण्डा भनेको रुपन्देही क्षेत्र नम्बर ३ सहित समग्र रुपन्देही जिल्लाको दिगो विकास गर्ने नै हो । अर्कातर्फ जनजीविका र आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु लिएर मतदातासमक्ष पुगिरहेका छौं । म लगायत हाम्रो तीन दलीय गठबन्धनका साथीहरु हाम्रा साझा चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिएका छौं । यसबाट मतदाता उत्साहित पाएका छौं । हामीले खास गरी सडक संजाललाई विस्तार गर्ने, ग्राभेल नभएका सडकमा ग्राभेल गर्ने, कालोपत्रे पीच नभएका सडक पीच गर्ने, अन्य पूर्वाधार विकासलाई विशेष ध्यान दिने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका लागि थुप्रै काम गर्नुपर्नेछ । रुपन्देही क्षेत्र नम्बर ३ भौगोलिक, जातीय, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय विविधतामा एकता भएको निर्वाचन क्षेत्र हो । अन्तर्राष्ट्रिय सीमा नाका बेलहियादेखि पुर्व पश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासको लागि हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले हामीले अल्पकालीन र दीर्घकालीन योजनासहितको गुरुयोजना बनाएर काम गर्नेछौं । त्यसका लागि नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरेर विजयी बनाउनुपर्नेछ । विकास एउटा प्रक्रिया हो । यो प्रक्रियालाई सही ट्रयाक दिने काम हाम्रो हो । खास गरी हामीले हाम्रा क्षेत्रको नागरिकका समस्या संकलन गरी त्यसको समाधान गर्नेतर्फ लाग्नेछौं । नागरिकको सर्वोपरी हितलाई ध्यानमा राखेर विकासको मोडल तयार गर्ने, समृद्धिको खाका तयार गर्ने र नागरिकलाई रोजगारीसँग जोडेर उनीहरुको भविष्य उज्जवल बनाउने योजनामा हामी लागेका छौं । हाम्रो मुख्य चासो भनेको यहाँका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने नै हो । म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, तपाईंहरु समक्ष कसम खान चाहन्छु की यस क्षेत्रका जनतालाई समृद्धि र विकासको मूलधारमा जोड्ने काममा हामीले कुनै कसर बाँकी राख्ने छैनौ । हामी सबै मिलेर वर्गीय असमानतालाई पूर्ण रुपमा निर्मूल पार्न लागिपर्ने छौं । हामी विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यो क्षेत्रको विकासको मुख्य योजनाहरु हिजोको दिनमा पनि बनाएका थियौं र भोलिका दिनमा पनि बनाउनेछौं । हिजोका दिनमा एमाले, राप्रपा र जसपाको नेतृत्वमा भए गरेका प्रदेशका राम्रा र जनपक्षीय योजनालाई निरन्तरता दिदैं प्रदेश तहका थप महत्वपूर्ण योजनालाई यस क्षेत्रमा ल्याउने प्रतिवद्वता व्यक्त गर्न चाहन्छौं । त्यसैगरी संघमा भए गरेका कतिपय राम्रा र दीर्घकालीन योजनालाई निरन्तरता दिदैं थप नयाँ योजनाहरुलाई यस क्षेत्रमा हामीले सुरुवात गर्नेछौं । अर्कोतर्फ हामी कृषकको हितमा हुने गरी मलको डिपो सञ्चालन गर्ने, यस क्षेत्रका मत्स्य कृषकहरुको लागि ठोस योजनासहित काम अगाडी बढाउने, शुद्धोधन र सियारीको मत्स्य जोनलाई अझै व्यवस्थित गर्ने, यस क्षेत्रको उत्पादित हरियो तरकारी र कृषि उपजको बजारीकरणको लागि पूर्ण सहयोग गर्ने तथा चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाउनेगरी योजना अगाडि सारेका छौं ।

तपाईंहरुका एजेण्डालाई मतदाताले कसरी लिनुभएको छ ?
पक्कै पनि अहिलेसम्म हामी जहाँ गएका छौं, जति जनालाई भेटेका छौं, सबैले हाम्रा एजेण्डाहरु मन पराउनुभएको छ । हामीप्रति मतदाताको आशा र विश्वास अत्यन्तै धेरै भएको पाएका छौं । कतिपयले हामीले अघिसारेका एजेण्डालाई मूर्तरुप दिन आग्रह गर्नुभएको छ । कतिले हाम्रा बाचा पूरा हुनेमा विश्वस्त हुनुहुन्छ । मतदाताहरु हाम्रो तीन दलीय गठबन्धनलाई मत दिएर निर्वाचित गराउन आतु हुनुहुन्छ । हामीले गर्न सकिने र क्षेत्रलाई विकासको नमूना बनाउन सकिने एजेण्डा लिएका कारण पनि धेरैको भरोसा हामी माथि भएको पाएका छौं ।

यहाँ कयौं पटक सांसद र मन्त्री बन्नुभयो । तर, क्षेत्रको विकासमा काम नगरेको आरोप छ नी ? तपाई पदमा रहँदा के–के काम गर्नुभयो बताइदिनुस् न ?
म जनताको सेवक हुँ । चाहे पदमा रहँदा होस्, चाहे नरहँदा होस् सधै जनतालाई शीरमा राखेर काम गर्दै आएको छु । मैले रुपन्देहीको विकासमा गरेका कामले पनि यो कुरा छर्लङ पार्छ । अधिकांश जनता मैले गरेको कामबाट प्रभावित हुनुहुन्छ । मन्त्री र सांसद हुँदा काम गरेन भन्नु विपक्षको चुनावी एजेण्डा मात्रै हो भन्ने मलाई लाग्छ । खास गरी म रुपन्देहीबाट प्रतिनिधित्व गरेर सांसद् र सरकारमा सहभागी भएपछि मेरै नेतृत्वमा बुटवलको दीपनगरमा बस्ती बसाउनेदेखि भैरहवामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा ठूलाठूला आयोजना भित्र्याउने काम गरेको छु । रुपन्देहीमा विद्युतीकरण गर्ने, बिजुलीका पोल तान्ने तथा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि नीतिगत तहमा काम गर्नेदेखि लिएर जग्गाधनीलाई मुआब्जा दिलाउने काममा मेरो भूमिका यहाँका नागरिकले महसुस गरेका छन् । बुटवलको दीपनगर आज व्यवस्थित बस्तीको रुपमा विकास भएको छ भने भैरहवामा एडीबीको परियोजना भित्राएका कारण आज भैरहवा हेर्न लायक शहरको रुपमा विकसित हुँदै गएको छ । यी काम मेरै पहलमा भएका हुन् । अर्को कुरा रुपन्देहीबासीलाई सिंचाईसम्बन्धी समस्या समाधान गर्न भैरहवा लुम्बिनी भूमिगत जल परियोजना भित्र्याउने काम मेरै नेतृत्वमा भएको हो । त्यही परियोजनाका कारण अहिलेसम्म रुपन्देहीको भैरहवा, सियारी, तिलोत्तमा, शुद्धोधन लगायतका पालिकाहरुमा स्थानीय कृषकले सिंचाईको सुविधा पाएका छन् । सडक, शिक्षा, स्वास्थ्य, अन्य पूर्वाधार विकासमा मैले देखिने गरी काम गरेको जगजायर भएको कुरा हो ।

मुलुक अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ, केही उद्योग, कलकारखाना बन्द भएका छन् । उद्योगी–व्यवसायी तथा सर्वसाधारण सडकमा आएका छन््, यसलाई कसरी हेर्नुभएको छ ?
तपाईंले गरेको प्रशनले सबैको मन पोखिराखेको कुरा हो । मुलुकलाई अहिलेको अवस्थामा पुर्याउने पाँच दलीय गठबन्धन हो । दिनानुदिन उद्योग, कलकारखाना तथा व्यवसाय बन्दै हँुदै गएका समाचारहरु आइरहेका छन् । यो दुखद् छ । यसलाई रोके व्यवस्थित गर्नुपर्छ । आम नागरिकको रोजीरोटी गुम्ने अवस्थामा पुगेको छ । यी सबै समस्याको प्रमुख कारक तत्व भनेको वर्तमान सरकार हो । सरकारको गलत नीतिका कारण आज उद्योगी व्यवसायीले यो अवस्था झेल्नु परेको हो । सरकारले केहीसीमित उद्योगलाई पोस्ने काम गरेकाले गर्दा उद्योगी व्यवसायीले यो नियति भोग्नुपरेको छ । अर्कोतर्फ नेपाल राष्ट्र बैकको गलत कर्जा नीतिका कारण ८–९ प्रतिशत ब्याजदरमा कर्जा लिएका उद्योगी व्यवसायी तथा सर्वसाधारणले १७–१८ प्रतिशत ब्याज तिर्नुपरेको छ । यसका कारण उद्योगी व्यवसायी र सर्वसाधारण ठूलो मारमा परेका छन् । यसै कारणले गर्दा हामीले सरकारको गलत नीति परिवर्तन गरी सबैको हितमा हुने गरी नीति बनाउनका लागि एमाले, राप्रपा र जसपा नेतृत्व गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन जरुरी छ । हामी हिजो पनि उद्योगी व्यवसायीको पक्षमा थियौं । आज पनि छौंर भोलीका दिनमा पनि हुनेछौं । यो हाम्रो प्रतिवद्वता हो ।

यहाँ बहालवाला गृहमन्त्रीसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसलाई कसरी लिनुभएको छ ? र, निर्वाचन जित्नुहुन्छ ?
निर्वाचनमा होमिइसकेपछि प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर, निर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा हुन्छ की हुँदैन, सत्ता र शक्तिको कत्तिको प्रयोग हुन्छ भन्ने प्रश्न हो । हामी चाहन्छौं, निर्वाचन शान्तिपूर्वक हुनुपर्छ । शक्तिको दुरुपयोग हुनुहुँदैन भन्ने हो । यसमा सरकारले गंभीर ध्यान दिने छ र दिनुपर्छ भन्ने मेरो मान्यता छ । अर्कातर्फ हामी लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छौं । स्वतन्त्र प्रेस, न्यायिक सर्वोचतामा विश्वास गर्ने भएकाले मैले बहालवाला गृहमन्त्रीसँग चुनाव लड्नका लागि कुनै असहज महसुस गरेको छैन् । जनता जर्नादन हुन् । आफ्नो मतको पूर्ण अधिकार प्रयोग गर्न सक्ने अवस्थामा पुगेका छन् । कसैको धाकधम्की, डरत्रास र प्रलोभनमा परेर मताधिकार प्रयोग गर्दैनन् । यो कुरामा हामी विश्वस्त छौं । पद र पावरको दुरुपयोग भएको आम मतदाताले महसुस गरेको खण्डमा यसको जिम्मेवारी स्वयं सरकार र सरकारका मान्छेले लिनेछन् । म निर्वाचन जित्छु, मेरा विगतका काम र अहिलेका एजेण्डा हेर्ने हो भने त जिति नै सकेको छु । विश्वस्त हुनुस् फराकिलो अन्तरले हामीले क्षेत्रका तीनवटै पदमा विजयी हासिल गर्दैछौं ।

तीन दलीय गठबन्धनका उम्मेदवारले चुनाव जित्ने आधार के हुन् ?
पहिलो त हाम्रो अत्यन्तै राम्रो र मन मिलेको गठबन्धन नै हो । एमाले, राप्रपा र जसपा नेतृत्वको गठबन्धन प्राकृतिक छ । यसको संगठन बलियो छ । हाम्रा एजेण्डा राम्रा र जनजीविका परिवर्तन गर्नसक्ने खालका छन् । अरुले जस्तो गर्नै नसकिने र झुट्टा आश्वासन बाँडेका छैनौं । अर्को कुरा भनेको स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो । यसलाई आधार मान्दा अर्को पक्ष भन्दा हामी ६ हजार भन्दा बढी मतले अगाडि छौं । त्यसमा पनि अहिले हामीप्रति आम मतदाताको विश्वास बढ्दै गएको छ । हामीप्रति मतदाताको स्नेह र ममता पनि छ । त्यसकारण हामीले यसपटक निर्वाचन जित्नेमा ढुक्क छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनपछि जब राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी अगाडि बढ्यो, त्यसपछि राप्रपामा एउटा नयाँ खालको उत्साह–उमंग बढेर गएको छ । पुरातन शैलीमा सञ्चालित राजनीतिक दल र तीनको नेतृत्वप्रति आम नागरिकमा वितृष्णा जागेका बेला लिङ्देन नेतृत्वको राप्रपाले जनतामा उत्साह थपेको छ भने स्थानीय तहमा त्यसैकारण मतपरिणाम बढेको सशक्त उदाहरणको रुपमा लिन सकिन्छ । यसकै सिलसिलामा आउदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यो मत अझै बढेर जाने र रुपन्देही क्षेत्र नम्बर ३ सहित देशको विभिन्न क्षेत्रमा राप्रपाले अत्याधिक मतका साथ चुनाव जित्नेछ ।