March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनीमा श्रीलंकन नृत्य आकर्षण

लुम्बिनी– कोरोना महामारी सुस्ताएसँगै बुद्ध जन्मस्थल लुम्बिनी र आसपास पर्यटकीय चहलपहल बढ्न थालेको छ । लामो समय सुनसान लुम्बिनीमा केही समयदेखि बौद्ध धर्मावलम्बी आउन थालेका छन् । विभिन्न मुलुकबाट आइरहेका उनीहरुले बुद्धजन्मस्थलमा आफ्नो संस्कृति र परम्परा प्रदर्शन गर्न थालेका छन् ।

Advertisement

एक महिनायता श्रीलंकाबाट आएका धर्मावलम्बीले विभिन्न पूजा र आफ्नो कलासंस्कृति प्रदर्शन गरिरहेका छन् । यसैक्रममा शनिवार श्रीलंकाका कलाकारले नृत्य प्रदर्शन गरेका थिए । त्यसले लुम्बिनी घुम्न आएका पर्यटकलाई रोमाञ्चित तुल्याएको थियो । उक्त नृत्य अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटक झुम्मिएका थिए ।

Advertisement

श्रीलंकाली कलाकारले शनिबार झण्डै दुई घण्टा त्यहाँका क्यान्डियन डान्स देखाइएका थिए । कलाकारले टाउकोमा कलात्मक हेड ड्रेस, घाँटीमा चित्ताकर्षक माला र कुममा आम गार्ड पहिरिएर नृत्य देखाएका हुन् । उनीहरूले हत्केलामा कल्ला, उस्तै आकर्षक पेटी, परम्परागत र कलात्मक पहिरन लगाएका थिए । नेपाली परिवेशभन्दा फरक पहिरनको सजावटमा सजिएका नर्तकी र बाजाले सबैको ध्यानाकर्षित गरेको थियो ।

नवमैत्री महाविहारद्वारा कठिन चिबर दान उत्सवमा उनीहरूले शान्ति, करुणा र सद्भावमूलक क्यान्डियन नृत्य देखाएका हुन् । महाविहारद्वारा निकालिएको शोभायात्रामा नृत्य र बाजा सबैको आकर्षण बनेको थियो । शुभ मानिने बाजा र नाचलाई अघि लगाउँदै शोभायात्रा मायादेवी मन्दिर दर्शन गर्न पुगेको थियो । झण्डै दुई किलोमिटरसम्म नाच्दै, अभिवादन गर्दै कलाकारको टोलीले कला देखाएको हो ।

सात जनाको टोली श्रीलंकाबाट यही नृत्य प्रस्तुत गर्नकै लागि लुम्बिनी आएको हो । श्रीलंकाका कोरियोग्राफर तथा पत्रकार नलिन मालीगास्पेको नेतृत्वमा आएको टोलीमा कथकली डान्समा विद्यावारिधि गरिरहेकादेखि नृत्यकला विषयमा कलेज अध्ययन गरिरहेका विद्यार्थीसम्मको उपस्थिति छ । श्रीलंकाली कला देखेर स्वदेशी र विदेशी पर्यटक मन्त्रमुग्ध बनेका थिए । नेपाली भूमिमा श्रीलंकाको प्राचीन नाच हेर्न र बाजाको धुन सुन्न पर्यटक एकत्रित भएका थिए ।

बाजाको ध्वनि र तरंगले पवित्र लुम्बिनी उद्यान गुन्जायमान बनेको थियो । बाजा सुन्ने सबै मन्त्रमुग्न बनेका थिए । राजकुमार सिद्धार्थ लुम्बिनीमा जन्मेपछि नवजात शिशुलाई राजदरबार प्राचीन कपिलवस्तुबाट बाजागाजासहित लावालस्करले लिन आएको दृश्यभन्दा कम नभएको सहभागीले सुनाए । लुम्बिनी घुम्न आएका बेला श्रीलंकाली नाच हेर्न पाउँदा निकै आनन्दित बनेको डोटीको बडीकेदारबाट आएका हरिसिंह विष्टले बताए । ‘नेपालमै श्रीलंका घुमेजस्तो अनुभव भयो,’ लुम्बिनी घुम्न आएका हास्य कलाकार राजाराज पौडेलले सुनाए ।