March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

भैरहवामा सांस्कृतिक मेला हुँदै

भैरहवा– स्थानीय कला–संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यसहित भैरहवामा ‘प्रथम सिद्धार्थनगर साँस्कृतिक मेला–२०७९’ हुने भएको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा यही कार्तिक १७ देखि २७ गतेसम्म मेला हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

Advertisement

क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायका अनुसार रुपन्देहीको सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा हुने मेलाले यस क्षेत्रका सांगीकृत मनोरंजन प्रदान हुनुका साथै आर्थिक क्षेत्रलाई चलायमान बनाउन पनि सहयोग पुग्ने छ । मेलामा स्थानीयसँगै राष्ट्रियस्तरमा ख्याती प्राप्त कलाकारको पनि सहभागिता रहने छ । सहभागीहरुलाई कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत् मनोरंजन प्रदान गर्नेछन् ।

Advertisement

सांस्कृतिक मेलामा व्यवसायिक प्रबद्र्धनका कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएका । मेलामा कृषि, होटल रेष्टुरेण्ट, बाल उद्यान लगायत गरी ५० वटा बढी स्टल रहने उपाध्यायले बताए । ‘यसले कला–संस्कृतिको संरक्षण मात्रै हुने छैन, स्थानीय बजारको प्रबद्र्धन गर्ने र कोरोना महामारीले खुम्चिएको व्यापार–व्यवसायलाई माथि उठाउन थोरै भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ’, उपाध्यायले भने ।

मेलामा ५० हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ । मेलाको अन्तिम २ दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गरिएको हो । यसले खेल संस्कृतिको विकासमा पनि टेवा पुग्ने छ । बिहान ११ देखि राति ८ बजेसम्म सञ्चालन हुने मेलामा प्रवेश शुल्क वापत ७० तथा विद्यार्थी र बालबालिकाका लागि ५० रुपैयाँ तोकिएको छ ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहनेछ । त्यस्तै डान्स आइडल प्रतियोगिता समेत आयोजना हुनेछ । डान्स आइडलमा प्रथम पुरस्कार ३० हजार ५ सय ५५, द्वितीय पुरस्कार १५ हजार ५ सय ५५, तृतीय पुरस्कार १० हजार ५ सय ५५ र सान्त्वना पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ राखिएको छ । मेलामा आउने दर्शकलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ख्याती प्राप्त भोजपुरी कलाकारको समेत प्रस्तुती रहने उपाध्यायले जनाए ।

यस्तै मेलामा स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकार प्रकाश सपूत, ज्योती मगर, प्रिति आले, हेमन्त शर्मा, दुर्गेश थापा, कर्णराज गिरी, प्रिति पासवान, बबिता धिताल लगायतको प्रस्तुति रहने छ । यस्तै भारतबाट कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराज लगायत पनि मेलामा मनोरंजन प्रदान गर्न आउने आयोजकले जनाएका छन् ।

कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले केही फरक र मनोरंजन काम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले क्लबले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले मेलाको आयोजना गरेको बताए । मेला आयोजनापश्चात बचेको रकमबाट अपांगता भएका व्यक्ति तथा असहायलाई सहयोग गरिने आयोजकले जनाएका छन् । मेलामा अनुमानित २५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का कोषाध्यक्ष विनोद खरेलले केही समय अघि स्थापना भएको लायन्स भैरहवा लिगेसीले सराहनीय कार्य गर्न लागेकोमा सबै लायन्स क्लबहरुको खुशी भएको बताए । ‘राम्रो भावनाले काम गरेकाले क्लबले आयोजना गरेका कार्यक्रमहरुमा सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने, ‘यसमा हामीले पूर्णरुपमा सहयोग गर्नेछौं ।’

लायन्सका एरिया चिफ संगम न्यौपानेले सामाजिक कार्य गर्ने उद्देश्यले साँस्कृतिक मेलाको आयोजना गरेको जनाउँदै यसमा सबै भैरहवाबासीले साथ दिनेमा आफूहरु विश्वस्त रहेको जनाए । क्लबका मानार्थ सदस्य उमाशंकर पाठकको स्वागत तथा संस्थापक सचिव नारायणप्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।