September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

लुम्बिनी प्रदेशमा २ हजार ७ सयलाई डेंगु संक्रमण

भैरहवा– पछिल्लो समय डेंगु संक्रमण तिब्र छ । घरघरै यसका बिरामी हुन थालेका छन् । पहिले घना सहरी क्षेत्रमा मात्र सीमित संक्रमण अहिले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वसम्म फैलिएको छ । संक्रमितको संख्या बृद्धिसँगै यसबाट मृत्यु समेत बढेको छ । पहिले तराईका जिल्लामा संक्रमित धेरै हुन्थे । यसपटक पहाडी जिल्लामा समेत संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ ।

Advertisement

यसले डेंगु प्रकोपका रुपमा समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालमा दिनहुँ उपचारका लागि आउनेको चाप छ । बुटवलस्थित प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म प्रदेशभरि २ हजार ६ सय ८३ डेंगुका संक्रमित पत्ता लागिसकेका छन् । ज्वरो आए पनि अवस्था गम्भीर नहुँदासम्म अस्पताल नपुग्ने र रगत नजचाएर आराम गर्नेको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रत्येक दिन एक सय ५० जनासम्म संक्रमित थपिने गरेका छन् । जसले गर्दा अस्पतालमा बेड अभाव हुन थालेको छ । कतिपय अस्पतालमा भुइँमै राखेर उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलका अनुसार अहिलेसम्म दाङमा सबैभन्दा धेरै १ हजार १ सय ८० संक्रमित फेला परेका छन् । दाङपछि रूपन्देहीमा डेंगुका संक्रमित बढी रहेको तथ्यांकमा उल्लेख छ ।

रूपन्देहीमा ६ सय ७९ डेंगु संक्रमित फेला परेका छन् । त्यस्तै, पहाडी जिल्ला गुल्मीमा २ सय ९२ जना, अर्घाखाँचीमा १ सय ३८, पाल्पामा ९७, बर्दियामा ८६ जना डेंगु संक्रमित फेला परेका छन् । त्यस्तै, पश्चिम नवलपरासीमा ६०, बाँकेमा ४४, प्यूठानमा ३६, कपिलवस्तुमा ४९ जनामा डेंगु संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । रुकुमपूर्वमा १६ जना डेंगु संक्रमित छन् भने रोल्पामा ६ जनामा डेंगु संक्रमण देखिएको छ ।