September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

जगदीशपुरमा बचेरा हुर्काउँदै रैथाने चरा

कपिलवस्तु– जगदीशपुर तालमा अहिले रैथाने चराले बचेरा हुर्काइरहेका छन् । उनीहरुको व्यस्तता र मनमोहक चहलपहलले सबैलाई आनन्दित बनाइरहेको छ । विश्व सिमसार क्षेत्रमा सूचिकृत ताल आफैमा मनमोहक छ । त्यसमाथी माउले बचेरा हुर्काउन गरेको संघर्षले रोमाञ्चकता थपिरहेको छ ।

Advertisement

तालमा कुर्मा, लामर्औले, सिलसिले हाँस, सिमकुखुरा र ध्यानी बकुल्लाले बचेरा हुकाईरहेका छन् । त्यस्तै डुबुल्कीचरा, कोटेरो मुनिया, रातो मुनिया, वस्तु बकुल्ला र आसकोटे बकुल्लाले पनि व्यस्तता बढाएको छ । सानो जलेवा, कालो टाउके मुनिया तथा पहेला, रातो र कालो जुनबकुल्लाले पनि बचेरा हुकाईरहेका छन् । ‘उनीहरुको चिरविराहट, कोकिलकण्ठे बोली र बात्सल्य प्रेम हेरर सबै मन्त्रमुग्ध हुन्छन्,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘आल्हादित बन्छन् ।’

तालमा अहिले ३० बढी प्रजातिका रैथाने चराले गुड लगाएर, अण्डा पारेर बचेरा हुर्काइरहेका छन् । उनीहरु दिनभरि बचेराको हेरचार, आहारको जोहो गर्न व्यस्त हुछन् । बेचरालाई खान सिकाइरहेका छन् । आहार खोज्न सिकाइरहेका छन् । मुलुकभरिकै सिमसार क्षेत्रमध्ये अहिले जगदीशपुर तालमा सबैभन्दा धेरै प्रजातिका रैथाने चराले बचेरा हुकाईरहेको चराविद् डा. बरालले बताए । तालमा सिमसार क्षेत्र प्रशस्त हुँदा रोजरोजी ठाउँ पाउने र आहारविहारलाई समस्या नहुँदा रैथाने चरा ब्रिडिङका लागि यता आकर्षित बनेका हुन् । सुरक्षित ठाउँ पाउने, सिमसार क्षेत्रको संरक्षण र चरामैंत्री वातावरण हुँदा उनीहरु यहाँ ओथारो बस्छन् ।

असारदेखि ठाउँ खोज्छन् । झिजाझिजी, खरपात र घुरपात बटुलेर गुँड राख्छन् । तीनदेखि चार साता ओथारो बसेर बचेरा कोरल्छन् । दुईदेखि तीन महिनामा हुर्काएर असोजसम्म हुर्काएर वयस्क बनाउँछन् । अनी उडाएर लिएर जान्छन् । उनीहरु तालमा सुरक्षा, वातावरण र खाने लगायतका कुरा हेरेर गुँड लगाउने ठाउँ रोज्छन् । तालमा ३ सय ५० बढी रैथाने चराले गुँड लगाएर ओथारो बसेर बचेरा हुर्काईरहेका छन् । मुनिया प्रजातिका ३ वटा चराले यहा राम्रो आहारविहार पाउँदा यही मौषममा दुई पटकसम्म अण्डा पारेर बचेरा हुर्काउने गरेको चराविद् डा. बरालले बताए ।

तालले हिउँदमा उत्तरी क्षेत्रबाट बसाई सरेर आउने सबैभन्दा धेरै पानी चरालाई आश्रय दिँदै आएको छ । यहा हिउँदे आगन्तुक १५–२० हजार बढी चरालाई तालले हरेक वर्ष जाडोका ५–६ महिना आश्रय दिँदै आएको छ । १ सय ५७ हेक्टरमा रहेको ताल मुलुकको दोस्रो पंक्षी आरक्ष हो ।

चराले बचेरा हुँर्काउन गरेको संघर्ष, बात्सल्य प्रेम र उनीहरुका गतिबिधि निक्कै रोमाञ्चक देखिने नेचर गाईड अनिल चौधरीले बताए । चराको चंचलता, कलरव जलक्रिडा र चिरविराहट र उनीहरुको हरेक गतिबिधिले मानव जीवनलाई उल्लासमय वनाउने वातावरण रहेको उनले बताए । ‘वास्तवमा चरा पर्यटनको आकर्षण यही छ,’ उनले भने्, ‘यसलाई जोडर योजना बनाउन सके मुलुकले राम्रो फाइदा पाउँछ । नेपालमै चरा पर्यटन फस्टाउँछ । ’

सिंचाई प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकलन गर्न मुलुककै उत्कृष्ट स्थल बनेको छ । मानव निर्मित मुलुकको सबैभन्दा ठूलो तालमा आईयूसिएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख गरेको छ । त्यस्तै ताल क्षेत्रमा १ सय ६८ प्रजातिका चरा पाइने जनाएको छ ।

त्यस मध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चराहरु जाडो याममा आउने र ३ प्रजातिका चराहरु आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभवन्य जन्तु पानी विरालो र ८ प्रजातिका चरा पनि पाइन्छ । रामसार क्षेत्रमा सूचिकृत नेपालको १० सिमसार क्षेत्रमध्ये जगदीशपुर पनि एक हो । कपिलवस्तु नगरपालिकाका वार्ड नं. ९ र १० मा रहेको ताल १९७२–१९८० मा सिंचाई प्रयोजनका लागि निर्माण गरिएको थियो । बसाइँसराई गरि आउने पाहुना र रैथाने चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाईने वन्यजन्तु र वनस्पति यहाँका मुख्य जैविक विविधता हुन् ।