September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

रूपान्तरण

आगोमा रूपान्तरित भएपछि
आफूतिर जम्मै पानी बगेर वेगमा आइरहेको देख्थेँ

Advertisement

पानीमा रूपान्तरित भएपछि
आफूबाट जम्मै आगो भागेर दनदन सल्किरहेको देख्थेँ

धर्तीमा रूपान्तरित भएपछि
भित्रैबाट भूकम्प, आँधी, पहिरो र भुईँचालो विस्फोट बनाएर 
आफूतिर आकाश आइरहेको पाउँथेँ

आकाशमा रूपान्तरित भएपछि
भित्रैबाट प्रकाश, वर्षा, चट्याङ र कुइरो अभिव्यक्त गराएर 
आफूइतर धर्ती गइरहेको पाउँथेँ

प्रतीक्षालयमा रूपान्तरित भएपछि
आफूमा सारा अन्धकार लुकाई 
धपक्क बलेर जडवत् उभ्भिएको ल्यामपोस्टलार्ई हेर्ने गर्थेँ
ल्यामपोस्टमा रूपान्तरित भएपछि
आफैँलाई पूर्णतया थकाएर अरूलाई आराम दिई 
थचक्क बसेको प्रतीक्षालयलाई हेर्ने गर्थेँ 

सहरमा रूपान्तरित भएपछि
आफूले अरूलाई देख्न छाडेको हुनाले
आफूलाई झन्–झन् नदेख्ने बनाउँदै गएको महसुस भइरहन्थ्यो

गाउँमा रूपान्तरित भएपछि
आफूलाई सहरले देख्न छाडेकाले 
आफैँलाई नै सहर बनाउन लागेको महसुस भइरहन्थ्यो

हो, यसरी रूपान्तरित हुन थालेदेखिबाट नै
मैले बुझेको हुँ अर्काको अस्तित्व
अर्काको अस्तित्व आफू भइन्जेल थाहा नपाइने रहेछ
थाहा पाउन अर्कामा रूपान्तरित हुनैपर्ने रहेछ 
र, जब अर्कामा रूपान्तरित भइन्छ    
हामीले स्वतः आफ्नो पनि अस्तित्व थाहा पाइहाल्ने रहेछौँ 

रूपान्तरण आवश्यक छ
त्यसकारणले मृत्यु जन्ममा रूपान्तरित हुनुपर्छ
र, जन्म मृत्युमा रूपान्तरित हुनुपर्छ
रूपान्तरित भएपछि उनीहरू बुझ्नेछन्
किन हामी सँगै जन्मिन्छौँ
तर, किन सँगै मर्दैनौँ 

नदी किनारमा रूपान्तरित हुनुपर्छ
र, किनार नदीमा रूपान्तरित हुनुपर्छ
रूपान्तरित भएपछि उनीहरूले बुझ्नेछन्
कति सकस छ 
कसैलाई अविरल बगाइरहनुपर्दा 
झन् कति सकस छ
आफैँ अविरल बगिरहनुपर्दा

धुलो हावामा रूपान्तरित हुनुपर्छ
र, हावा धुलोमा रूपान्तरित हुनुपर्छ
रूपान्तरित भएपछि उनीहरू बल्ल बुझ्नेछन्
कत्ति गाह्रो हुने गर्दछ
जब कसै गरेर पनि एकै ठाउँमा अडिन नसक्दा 
झन् कति गाह्रो हुने गर्दछ
जब कसैले एकाएक उडाइ दिँदा

रूपान्तरण आवश्यक छ
हो, यसरी हरेक चिज रूपान्तरित हुन आवश्यक छ
रूपान्तरित नभएर नै  
यहाँ एकार्काको अस्तित्व अधिनस्थ पार्ने 
घिनलाग्दो खेल खेलिँदै छ
अहो, अस्तित्व नै नामेट पारिदिने खेल !
अहो, अस्तित्व नै संकट हुने खेल !

रूपान्तरण आवश्यक छ
हो, म पनि रूपान्तरित हुन अत्यन्त आवश्यक छ
यसर्थ, योपटक राक्षसबाट मानिसमा रूपान्तरित हुँदै छु
मानिस भएर राक्षस कस्तो हुन्छ, हेर्नु छ
राक्षस भएर मानिस कस्तो हुन्छ, जो हेरिसकेको छु !

-baahrakhari