September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

सुर्ता

म ४५ वर्षकी स्वास्नीमान्छे । गाउँमा सबैले मलाई कमलके महताइर (कमलकी आमा) भनेर बोलाउँछन् । मेरो नाम कास्मती हो ।

Advertisement

मेरो मासिक धर्म पनि सुक्न लागेको थियो । कहिले दुई महिना बिराएर महिनावारी हुन्थेँ, कहिले तीन महिना बिराएर । कहिले ६ महिना बिराएर हुन्थेँ ।

योपल्ट एक वर्ष भइसक्यो, तर भएकी छैन । मेरो जिउबाट सदाका लागि एउटा अंगले बिदा मागिरहेको थियो । एकैपटक जिउमा कति धेरै परिवर्तन ? म यो सब स्वीकार्न तयार थिइनँ ।

तयार हुनु पनि कसरी ? मैले किशोरावस्थासँगै मासिक धर्मलाई स्वागत गरेकी थिएँ । अब बुढेसकालको आगमनसँगै बिदाइ गर्नु थियो ।

आँगनबाट निस्केपछि ठिक अगाडि गोरु बाँध्ने गुहाली थियो । गुहालीको अगाडि बाँसको ढोक (धान राख्ने भकारी), ढोकको छेउमा बाख्राहरू बाँध्ने किला थियो ।

ती किलाहरूमा बाख्रा लहरै बाँधिएका थिए । सबै बाख्राहरू पाज (उग्राउनु) गर्दै बसिरहेका थिए । ढोकको छेउमा नरिवलको रुख, नरिवलको रुखमुनि पम्प थियो ।

पम्पको छेउमा सानो बारी, त्यही बारीमा पम्पबाट निस्केको पानी जम्मा गर्न खाल्डो खनिएको थियो । खाल्डोको छेउ ओसिलो ठाउँमा सप्रेका केराका थम्बाहरू थिए ।

बारीमा सिकैट, बघहन्डीको झाङ र गुर्जोको लहरा झांगिएको थियो । बारीमै पश्चिमतिर लहरै गुइँठाको नौवटा छोहा (गुइँठाको खलियो) थियो । गुइँठाको छोहानजिकै एउटा कुनामा म गुइँठा बनाइरहेकी थिएँ ।

म गुइँठा बनाउँदै गर्दा मेरा लोग्ने मेरो छेउमा खैनी माड्दै बसिरहेका थिए । मेरो कपालतिर हेरे उनले । एक छिन केही बोलेनन् । सायद उनी भनिरहेका थिए, ‘यो कुरा भनूँ कि नभनूँ ।’

फेरि उनले क्रमशः मेरो ओठ, आँखा र गालामा हेरे । हेर्दै मेरो गालाको छाला ताने । उनले फेरि अनुहारतिर हेर्दै भने, ‘तेरो नि कपाल फुलिसक्यो है ? अब तँ पनि बूढी भइस् !’

उनको कुरा सुनेर मलाई मनमनै रिस उठ्यो । मनमनै भनेँ– कस्तो मान्छे, चित्त दुख्ने कुरा किन भनेका होलान् ?

आफू बूढी भएको कुरा कुनै पनि स्वास्नीमान्छेले पटक्कै सुन्न खोज्दैनन् । स्वास्नीमान्छे प्रशंसाका भोका हुन्छन् । आफनो प्रशंसा सुनेर कहिल्यै थाक्दैनन् । जो कोहीले पनि आफ्नो प्रशंसा गरिरहून्झैँ लाग्छ ।

मैले आफ्नो क्रोधलाई शान्त पार्दै बनाइएको गुइँठा छोहामा राखेर उनको अनुहारमा हेरेँ । उनको हेराइले भनिरहेको थियो, ‘तँ बूढी भए पनि म तँलाई सधँैझँै उस्तै प्रेम र हेरचाह गरिरहनेछु ।’

उनले माडेको खैनी तल्लो ओठभित्र हाले । तुरुन्तै छेउमा पिच्च थुके । खैनी माडेको हात र औँला बारीको दुबोमा रगड्दै पुछे । उनले आफनो तालु मुसार्न थाले । मुसार्दै भने, ‘म पनि बूढो भएँ । लगभग मेरो पनि सबै कपाल फुलिसक्यो ।’

उनको कुरा सुने मात्र । केही जवाफ फर्काइनँ । तर, मनमनै भनँे, ‘म पनि हजुरको खुइलेको तालु, चाउरिएको अनुहार र फुलेका कपालसित किन–किन पहिलेभन्दा बढी पे्रम गर्न थालेकी छु । हजुरको तालु खुइलिनु र कपाल झर्नुको संघर्षपूर्ण इतिहास छ । युवावास्थामा आकर्षणसहितको प्रेम गर्थेँ । तर, अहिले करुणा, हेरचाह र अगाध माया मिसिएको पे्रम गर्न थालेकी छु ।’

मलाई घर र खेतको कामदेखि फुर्सद विरलै हुन्थ्यो । उनले मेरो कपाल फुल्यो भनेको दिन मैले समय निकालेर आफनो अनुहार ऐनामा हेरेँ । आफ्नो रूपलाई नजिकबाट नियाल्ने मौका योबाहेक अरू के नै हुनसक्थ्यो र मजस्तो व्यस्त र साधारण गृहिणीका लागि ।

म आँगनमा बसेर ऐनामा आफ्नो अनुहार नियाल्न थालेँ । मेरो निधार, आँखा वरिपरि गहिरो चाउरी थियो । मैले आफ्नै गाला तन्काएँ । दुवै परेलाको बीचमा, नाकको ठिक माथि निधारमा चाउरिएर गहिरो खाल्डो परिसकेको रहेछ ।

निधारको छाला पनि तन्काएँ । तन्काएपछि तरुणी देखिएँ । तन्काउन छोडेपछि जस्ताको त्यस्तै । मनमनै भनेँ, ‘छ्या ! कस्तो बूढी देखिएकी म । कहिलेबाट यस्तो देखिन थालेकी हुँ हँ ?’

मेरो आँखा कपालमा पुग्यो । टाउको निहुराउँदै कपाल ओल्टाइपल्टाइ हेरेँ । कपाल धेरै फुलिसकेको रहेछ । मलाई आफ्नै रूप देखेर सुर्ता (चिन्ता) लाग्यो । म धेरै उदास भएँ । आफैँसित प्रश्न गरेँ, ‘यतिका दिनसम्म किन मैले ऐना हेरिनँ ?’

भान्सा र खेतको कामको व्यस्तताले ऐना हेर्ने फुर्सदै हुँदैन्थ्यो । कपालै नकोरी जुरो बाटेर काम गर्न कुद्थेँ । तीन–चार दिनसम्म पनि कपाल कोर्दिनथेँ । ऐना हेर्ने फुर्सद मेरा लागि त धेरै परको कुरा थियो ।

बाख्रा चराउनु, गाईगोरुका लागि घाँस काट्नु, खेत, भान्साको काम र छोराछोरीको भविष्य सजाउने सपना देख्नमै व्यस्त रहन्थेँ ।

मलाई सम्झना छ, हतारमा खाली खुट्टा हिँडेर खेत पुग्थेँ । चप्पलको फित्ता चुँडिएको बेला कति दिन चप्पल आलीमा राख्दै जेठको घाम र माघको शीतलहरमा खेतमा काम गर्न पस्थेँ ।

खासमा मैले आफ्नो उमेर बढ्दै गरेको कहिल्यै चालै पाइनँ । चाल पाउनु पनि कसरी, आमा बनेदेखि आफ्ना बारेमा सोच्ने फुर्सदै थिएन । उमेर बढेसँगै मेरो जिउ बिग्रिँदै गएको बारे पहिले थाहा पाएकी भए केही गरेर रोक्न सक्थेँ कि ! यस्तै–यस्तै सोचेर ऐना हेरेपछि मेरो मनमा सुर्ता उत्पन्न भयो ।

मलाई त्यतिले’नि पुगेन । घरभित्र गएँ । म ठूलो ऐनाको अगाडि निर्वस्त्र उभ्भिएँ । मेरो जिउको छालाहरू खाली प्लास्टिकको झोला खुम्चिएझैँ चाउरिन थालेको देखेँ । छोराछोरी पेटमा हुँदा मेरो गालामा आएको पोतो जस्ताको त्यस्तै थियो ।

गर्भवती हुँदा तल्लो पेटमा निस्केका गहिरा सेता डामहरूले चाउरीको रूप लिइसकेको थियो । छोराछोरीका लागि अनिदो बस्दा–बस्दा आँखा वरिपरि निस्केको कालो दागले पनि चाउरीको स्वरूप लिइसकेको रहेछ ।

उमेर बढेसँगै मोटाएको कम्मर, झोलिएका स्तन, तिघ्रा, पहिलाको लुगा नअट्ने जिउ देखेर ममा हजारौँ सुर्ता उत्पन्न हुँदै गयो ।

भित्तामा टांगिएको यौवनकालको आफ्नो तस्बिरतिर हेरेँ । खुसीले धपक्क बलेको कलिलो अनुहार, लोभलाग्दो पातलो जिउ, कालो कपाल, चिन्ताको भनक पनि नलागेको मृगनयनी आँखा, गुलाबी जिउ, लालुपाते ओठ र सलक्क परेका हातखुट्टा ।

आहा ! कति मिठो यौवनकाल । कहाँ गयो त्यो यौवन ? ती दिनहरू कति रमाइला ! ती दिनहरू सम्झिँदा मन अहिले पनि चञ्चल हुने ।

मेरी छोरीले भन्छे, ‘आमा, हजुरले पनि कपालमा कालो मेहेन्दी लगाउनुस् न । अनि, मेरो स्याम्पुले कपाल धुनुस् ।’

म छोरीको कुरा नसुनेझैँ गर्छु । किन–किन शृंगार गर्न मलाई कति पनि रुचि लाग्दैन ।

म भित्र–भित्रै अत्यन्त गहिरो सुर्तामा थिएँ । मेरो जिउबाट एउटा अंग सदाका लागि सुकेर जानेछ भनेर मलाई राति निद्रा लाग्नै छोडिसकेको थियो ।

मध्यरातमा ब्युँझिन्थेँ । पसिनाले जिउ निथ्रुक्कै भिजेको हुन्थ्यो । सारीको आँचल हम्किँदै पसिना ओभाउँथेँ । बिनाकारण झिँजो उत्पन्न हुन्थ्यो ।

छाला र ओठ, मुख सुक्खा अनि चमक हराएको जस्तो देखिन्थ्यो । म आफैँलाई आफू कुरूप लाग्न थालेकी थिएँ । लोग्नेसँग बिनाकारण कचकच र झगडा गर्थेँ । यो क्रम दिनदिनै चल्थ्यो ।

पहिले–पहिले उनी घुरेको पनि मिठो सुनिन्थ्यो । तर, आजभोलि उनी घुरेको सुनेर मलाई रिस उठ्छ । अत्यन्त क्रोधित हुन्छु ।

मध्यरातमा उनी घुरेको घ्वारघ्वार आवाज आइरहेको थियो । उनले घुरेर मेरो निद्रा बिथोलेको आरोप मैले उनलाई लगाउँदै रिसाएँ । रिसाएर उनको जिउ कुहिनाले ठेल्दै भनेँ, ‘मेरो निद्रा बिथोलिन्छ, हजुर किन यति धेरै घुर्नुहुन्छ ? घुर्ने भए भोलिदेखि छुट्टै सुत्नुस् ।’

उनी मस्त निद्रामा थिए । तैपनि, मेरो कुरा सुने क्यार ! केही बोलेनन् । तर, कोल्टो फेर्दै घुर्न बन्द गरे ।

म जति व्यस्त भए पनि मनमा एक प्रकारको भय र व्यग्रताले सताइरहन्थ्यो । आफ्नो जिउको सम्पूर्ण थोक स्वीकार्न सक्नेले एउटा परिवर्तन स्वीकार्न किन तयार थिइनँ म ?

चिन्ता र अनिद्राले मेरो जिउ झनै सुक्दै गइरहेको थियो । अनुहार पहिलाको भन्दा बढी चाउरिएको थियो । ओठ सुक्खा हुन्थ्यो । भयले हो कि सुर्ताले हो, तल्लो पेट पोल्थ्यो र छिनछिनमा पिसाब लाग्थ्यो । पिसाब नियन्त्रण गर्नै सक्दिनथेँ ।

अर्को रात फेरि म मध्यरातमै ब्युँझेँ । उनले घुरेका थिएनन् । तर, मेरो जिउमा टाँसिएर सुतेका थिए । मेरो ज्यानमा टाँसिएर सुतेको देखेर मलाई औडाहा भयो । उनलाई हातले धकेल्दै भनेँ, ‘हजुर पर सुत्नुस् । पूरै ओछ्यान एक्लै ओगटेर सुत्नुहुन्छ ।’

मेरो कुरा सुनेर उनले पर सर्दै भने, ‘राति–राति किन किचकिच गर्छेस् सधैँ ?’

उनले बोल्दा उनको सास गन्हाएको अनुभव भयो मलाई । झर्किँदै भनेँ, ‘कर्चीको दतुवाइनले दाँत माझेर हुन्छ ? भोलिदेखि निमको दतुवाइनले दाँत माझ्नुस् । मुख कस्तो गन्हाएको छ, छि ! खैनी खाँदाखाँदा दाँत पनि त्यस्तै कालो छ ।’

मेरो कुरा सुनेर उनले भने, ‘तँ आजभोलि निहुँ खोज्दै झगडा गर्छेस्, भयो के तँलाई ?’

यति भन्दै उनले सिरानीमाथि निधारनेर हात राखे । उनको काखी ह्वांग थियो । उनको काखीको पसिना पनि गन्हाइरहेको अनुभव मलाई भयो ।

यही निहुँमा रिसाउँदै भनेँ, ‘आजभोलि स्नान पनि गर्नुहुन्छ कि गर्नुहुन्न, कुन्नि ! काखी पनि ठुस्स गन्हाएको छ । बान्ता आउलाजस्तो भइसक्यो मलाई त ।’

मेरो कुरा सुनेर उनले खाटबाट ओर्लिएर अलमारी खोले । अलमारीबाट पुरानो तन्ना झिके । भुईँमा ओछ्याए । खाटबाट सिरानी तानेर लगे । भुईँमा सुत्दै भने, ‘तँ खाटमा एक्लै सुत् साला ! रातभरि कचकच गरेर कान खाइसकिस् मेरो ।’

सत्य यही थियो । म सत्यबाट भाग्न सक्दिनँ । म सृष्टिको रचना गर्ने एक स्वास्नीमान्छे । आफ्नो उद्देश्य पूरा गर्न यो संसारमा पाइला टेकेकी थिएँ मैले ।

उमेरसँगै आएका मानवीय परिवर्तनलाई स्वीकार्दै मैले मेरो जिम्मेवारी र कर्तव्य पूरा गर्दै दिनचर्या बिताउनु छ । म मेरा सबै अभावहरूसित प्रेम गर्न सिक्नुपर्छ । यही नै जीवन हो । यदि, मैले त्यस्तो गर्न सकिनँ भने म ठूलै मानसिक रोगी बन्नेछु । तनाव झेल्न बाध्य हुनेछु । त्यति मात्र कहाँ हो र, म झन्झन् खिइँदै जानेछु । त्यसैले अब भो ।

आज र अहिलेबाटै पारिवारिक जिम्मेवारी र जीवनचक्रको मिठो कहानीलाई मैले स्नेह गर्छु । छोराछोरी पेटमा हुँदा मेरो गालामा आएको पोतोलाई म औधी पे्रम गर्छु । गर्भवती हुँदा पेटमा निस्केका गहिरा डामलाई औधी सुकोमल तरिकाले पुलपुलाएर राख्नेछु ।

आमा बनेपछि झोलिएका स्तन, तन्केको पेट, मोटाएको कम्मर र तिघ्रा, पहिलाको लुगा नअट्ने जिउ, मासिक धर्मको बिदाइ, यिनीहरूसित मेरो निर्मल सम्बन्ध छ ।

छोराछोरी शैशवकालमा हुँदा रातभरि हेरचाह गर्दागर्दै अनिदो बस्दा आँखा वरिपरि आएको कालो दागसित मेरो लालित्यमय सम्बन्ध छ । परिवारका लागि भान्सामा खर्चिने समयसित प्रीति गाँसेकी छु । मेरा कमजोरीहरूलाई ऊर्जावान् प्रेमिल बनाएकी छु ।

पूर्ण, अपूर्ण, बचेका, खर्चिएका, चेत, अर्धचेत, मदहोस र आत्मविलाप म मेरा यावत् भावहरूसित चोखो प्यार गर्छु ।

परिवारका लागि खर्चिएको समयमा फुलेका कपालहरूसित मेरो गहिरो सम्बन्ध छ । मेरा चर्चरी च्यातिएका कुर्कुच्चाहरूसित म मधुमासले भरिएको प्रेम गर्छु ।

अब त, घाँस काट्न जाँदा घाँसको रङले रंगिएको हरियो नङ र गुइँठा बनाउँदा गोबरसँग साक्षात्कार गरेर कुरूप बनेका मेरा हातहरूलाई आमाले शिशुलाई गर्नेजस्तै माया र हेरचाह गर्न थालेकी छु । -baahrakhari