September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

लघुकथा : ​डेंगी र भोड्का

गाउँमा जँड्याहा भनेर ख्याती कमाएका डिकबहादुरजी एकाएक डेंगीबाट सङ्क्रमित भए । सङ्क्रमित भएपछि उनले झन धेरै रक्सी पिउन थाले, त्यो पनि बिहानैदेखि । 

Advertisement

उनी डेंगी सङ्क्रमित भएको खबर कमरेड शिखरले पनि सुने । सुनेको भोलिपल्टै कमरेड शिखर उनलाई भेट्न र स्वास्थ्य लाभको कामना गर्न भनेर विहानै डिकबहादुरजीको घर आए ।

डिकबहादुरजी भोड्काको फूल बोतल अगाडि राखेर मस्तसँग पिइरहेका थिए । यस्तो दृश्य देखेर कमरेड शिखरले सोधे, ‘हैन के ताल हो यो कमरेड ? डेंगीको बिरामी रे । भटाभट भोड्का पो पिइ राख्नु भाछ त । त्यो पनि विहानै विहानै ।’

बोली लर्बराउँदै डिकबहादुरजीले स्पष्टीकरण दिए, ‘के गर्नु कमरेड, मैले छोड्छु भनेको त हो नि । अस्ति डाक्टरलाई जचाउँदा डाक्टरले नै डेंगी भारैछ तपाईंलाई, झोल कुराहरू प्रशस्त पिउनू भन्या छन् । आफूलाई मनपर्ने झोल कुरा यही हो । पानीबाहेक आफूले जानेको झोल पनि यही हो । त्यसैले पिएको नि ।’ 

 उनले जर्किन र बोतल देखाउँदै मख्ख पर्दै भने, ‘यतिले नपुग्ला भनेर अरू दस फूल भोड्का र एक जर्किन लोकलको पनि जुगाड गरेको छु कमरेड  । पैसाले नभ्याएर मात्र हा, नभए अझै जम्मा गर्थें र डेंगुलाई बाइबाइ गर्दिन्थें ।’

यो सुनेर कमरेड शिखर छक्क परेनन् । उनलाई अचम्म पनि लागेन । किनभने आफ्नो क्षणिक र कुत्सित लाभ पूर्ति गर्न डिकबहादुरजीको र उनको तर्क गर्ने शैली काटीकुटी मिलेको थियो । आफूले गरेको गलत कामलाई गलत भनेर स्वीकार नगर्ने बरू आफैं सिद्धिने दुबैको बानी मिलेको थियो । 

डिकबहादुरजी त्यस्तो अवस्थामा खानै नहुने चीज खाएर पनि आफूले एकदम ठीक गरेको पुष्टि गर्न तल्लीन थिए भने कमरेड शिखरहरू संविधानतः गर्नै नहुने काम दोहोर्याई दोहोर्याई गरेर पनि त्यसैलाई ठीक, युगान्तकारी, समय सापेक्ष  भनेर पुष्टि गर्न न्वारान्देखिको बल लगाइरहेका थिए । र, अझै पनि बल लगाइरहेकै छन् । 

डेंगी लाग्दा प्रशस्त भोड्का पिउने डिकबहादुरजीको हालतमा कमरेड शिखरहरू नपुगुन् । -ratopati