December 5, 2024, Thursday
२०८१ मंसिर २०

‘पदमा रहँदासम्म अस्पताल सुधारको प्रयास गरेँ’

भैरहवा– भीम अस्पताल विकास समिति अध्यक्ष कुलप्रसाद न्यौपानेले आफू व्यवस्थापन समितिमा रहेर काम गर्दा सुधारको प्रयास गरेको बताएका छन् । उनले अस्पतालको सेवा प्रवाह र स्तर बृद्धिका लागि सक्दो प्रयास गरेको जनाए । बुधबार अस्पतालमा पत्रकार सम्मेलन गरी उनले भने, ‘म जति दिन यहाँ जिम्मेवारीमा रहेर काम गरेँ, सधै अस्पतालको सेवामा समर्पित भएँ, आगामी दिनमा पनि रहने छु ।’

तत्कालीन अध्यक्ष नारायणप्रसाद भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते न्यौपानेलाई अध्यक्ष नियुक्ति गरेको थियो । तर, दुई वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए । अदालतले भण्डारीलाई अध्यक्षमा यथावत राख्न अन्तरकालीन आदेश दिए पछि न्यौपानेले अध्यक्ष पद छाडेका हुन् ।

Advertisement

पत्रकार सम्मेलनमा न्यौपानेले सीमित कर्मचारीबाट बढी सेवा प्रवाहका लागि आफूले काम गरेको जनाए । ‘सेवाप्रवाहसँगै सरसफाई, नाला सफाईलगायतका काम पनि भए’, उनले भने, ‘सरसफाई सबैभन्दा महत्वपूर्ण कुरा हो, अस्पताल आउँदा दुर्गन्ध नहोस् भन्नेमा सचेत रहेर यसमा बढी फोकस गरेका थियौं ।’ उनले आफू व्यवस्थापन समिति अध्यक्षमा हुँदा आन्तरिक आय बृद्धि गर्नका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको, सटर टेण्डर तथा आगामी वर्षमा गरिने कामहरुलाई व्यवस्थित तरिकाले गर्न–गराउन योजना बनाएर बजेट विनियोजन गरेको बताए ।

यस्तै, न्यौपानेले विशेषज्ञ सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सक राख्न बजेट बिनियोजन गरेको, अस्पतालको सेवा प्रवाहमा सहजता ल्याउन स्वास्थ्य उपकरण तथा जनशक्ति आवश्यक भएकाले प्रदेश सरकारसँग माग गरिएको जनाए । ‘त्यसपछि केही उपकरण र जनशक्ति थप गर्न बजेट पनि प्राप्त भइसकेको छ’, उनले भने, ‘यसबाट धेरै सहजता हुनेछ ।’

नाक, कान, घाँटी र छाला सम्बन्धी सेवा यही साउनदेखि सुरुवात गरिएको बताए । उनले आफूहरुको पहलमा सिटीस्क्यान मेसिन पनि केही समयमा जडान हुने तयारी भएको जनाए । अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन गर्न तथा पार्किङ निर्माणका लागि सिद्धार्थनगर नगरपालिका मार्फत् एक करोड रुपैयाँ बजेट छुट्याउन सफल भएको उनले बताए । पटक–पटक कर्मचारीहरुबाट हुँदै आएको आन्दोलनलाई मत्थर पारी सेवा प्रवाहमा असर हुन नदिएको, लीलाराम–कुन्तीदेवी ट्रस्टद्वारा निर्माण गरिएको इमरजेन्सी भवन निर्माण गर्न पहल गरेको जनाए ।

आफू अध्यक्ष भएर आएपछि अत्याधुनिक प्रसूति भवन निर्माण प्रक्रिया अघि बढेको उनले बताए । ‘बजेट अभावमा चाहे जति काम हुन नसके पनि केही सुधारका प्रयास भने मेरो कार्यकालमा भए’, न्यौपानेले भने । उनले अस्पतालको स्तरीकरणका लागि आफू पदमा नरहे पनि निरन्तर खटेर काम गर्ने प्रतिबद्धता जनाए । उनले यस अघिका अध्यक्ष भण्डारी पदका लागि जे पनि गर्ने भएको जनाउँदै त्यसो नगर्न आग्र समेत गरे । अदालतको आदेश पछि न्यौपानेले बुधबारबाट नै अध्यक्षको पद छाडेका छन् ।