December 5, 2024, Thursday
२०८१ मंसिर २०

निरन्तरता पाउँदै लिस्नु कप फुटबल प्रतियोगिता

भैरहवा– कोरोना संक्रमणका कारण बिगत दुई वर्षसम्म स्थागित लिस्नु कप नकआउट फुटबल प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाउने भएको छ ।

आउँदो भदौ १८ गतेदेखि लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको २०औं संस्करण हुने भएको हो । तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपती उच्च माविको मैदानमा लिस्नु युवा क्लब, रुपन्देहीको आयोजनामा प्रतियोगिता संचालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जारी दिएका हुन् ।

Advertisement

प्रतियोगिताका संयोजक तथा क्लबका बरिष्ठ उपाध्यक्ष नेमबहादुर गुरुङले प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र स्याङ्जा जिल्लाका १६ वटा फुटबल टिमको सहभागिता रहने बताए । प्रतियोगिता आसोज ३ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितामा आयोजक टिम लिस्नु युवा क्लब, सम्पूर्ण स्पोर्ट्स क्लब, संजिवनी युवा क्लव, झरना स्पोटर््स क्लब, फर्साटिकर युवा क्लब, नवयुवा सांस्कृतिक तथा खेलकुद परिवार, अंचलपुर युवा क्लब, गोर्खा व्वाइज क्लब, सहारा युवा क्लब, मुर्गिया फुटबल क्लब, देवदह युवा क्लब, सनराइज फुटबल क्लब, पाल्पा ११, राइजिङ स्टार क्लब, वालिङ नगरपालिका र फोर ब्रदर्स फुटबल क्लब सहभागिता रहने छ ।

आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले प्रतियोगितामा बिजेता टिमलाई नगद ३ लाख रुपैयाँ र उपबिजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने जानकारी दिए । सेमिफाइनल पुगेका दुईवटा टिमलाई २५–२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ उपलब्ध गराइने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई स्थानीय डिमबहादुर गुरुङको स्मृतिमा उनको सुपुत्री श्रीमाया गुरुङले प्रायोजन गरेकी छन् । प्रतियोगिता हेर्नका लागि क्वाटर फाइनलसम्म १ सय रुपैयाँ र सेमिफानल तथा फानलमा ३ सय रुपैयाँ टिकट दर राखिएको छ ।