December 5, 2024, Thursday
२०८१ मंसिर २०

उद्योगी खड्का रूपन्देही–३ बाट निर्वाचन लड्ने

भैरहवा– उद्योगी केशव विक्रम खड्काले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । भैरहवा निवासी खड्का सफल उद्योगी हुन् । ६१ वर्षीष खड्काले मुलुकको वर्तमान परिस्थिति जटिल भएको र अहिलेका नेताहरुबाट कुनै अपेक्षा नभएकाले आफूले राष्ट्र निर्माणका लागि संसदीय निर्वाचनमा होमिएको बताए । आध्यात्मिक नाम तथागत स्वामीबाट परिचित समेत रहेका खड्का खरो स्वभावका मानिन्छन् ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म उद्योगी हुँ, राजनीति मेरा लागि नितान्त फरक विषय हो, म उद्योगीका रुपमै बाचुञ्जेल राष्ट्रलाई सबै किसिमका कर तिरेर सेवा गर्न चाहान्थे तर भ्रष्टाचार, बेथिति, कुशासनले मुलुक जर्जर भएपछि निर्वाचन लड्ने मनस्थितिमा पुगेको हुँ ।’

Advertisement

प्राकृतिक चिकित्सक एवम् पशुपंक्षी पोषणविद् समेत रहेका खड्काले भैरहवामा दाउन्ने फिड उद्योग संचालन गर्दै आएका छन् । ‘राष्ट्रप्रति निष्ठा भएको कुनै नेता हाम्रो मुलुकमा छैन, सेवासुविधा र व्यक्तिगत लाभमा सबै केन्द्रित छन्, फोहोरी खेल मात्रै छ’, उनले भने, ‘मसँग निष्ठा छ, इमान्दारीता छ’, उनले भने, ‘यहाँका जनताले जिताएमा नेपालमा यस्ता पनि सांसद छन् है भन्ने हिसावले काम गर्छु । त्यसका लागि आउँदो मंसिर ४ गतेको निर्वाचनबाट मलाई क्षेत्र नम्बर ३ बासी जनताले अवसर दिनुहुनेछ ।’

उनले एउटा सफल उद्योगी राजनीतिमा आउँदा अत्यधिक चुनौती रहेको जनाउँदै त्यसका लागि आफूले ठूलै संघर्ष गर्न पर्ने बताए । ‘हो, म उद्योगी हुँ, राजनीतिमा आउँदा र अहिलेका नेताले देश विगारे भन्दा मलाई कुनै डर, त्रास हुनुपर्ने हो’, उनले भने, ‘तर, मलाई कुनै डर, त्रास छैन, किनभने आजसम्म इमान्दारीपूर्व उद्योग चलाए, कमाईबाट सबै किसिमका कर राज्यलाई तिरेको छु । राष्ट्रिय ढुकुटीमा योगदान दिएको छु ।’

खड्काले आफूले निर्वाचन जिते सधै मुलुक, जनता र राष्ट्र हितका पक्षमा काम गर्ने बताए । ‘म स्वतन्त्र उम्मेदवार हुँ र निर्वाचन जितेपछि पनि स्वतन्त्र हुन्छ’, उनले भने, ‘मलाई कुनै दलीय ह्वीप लाग्दैन, त्यसैले सधै राष्ट्रियताको पक्षमा उभिन्छु, राष्ट्रिय ढुकुटीबाट एक पैसाको पनि सुविधा लिन्न, निरन्तर नेपाल आमाको सेवामा लाग्छु ।’

उनले निर्वाचित भए पछि आफ्नै निजि गाडी प्रयोग गर्ने र इन्धन, घरभाडा लगायत कुनै सुविधा नलिने बताए । ‘मैले उद्योग चलाएर आर्जन गरेकै रकमबाट सधै जनताको सेवामा लाग्छु’, उनले भने । उनले निर्वाचनमा पनि भड्किलो खर्च नगर्ने र निश्चित रकम खर्चेर निर्वाचित हुने बताए ।

‘निर्वाचनका लागि मैले जम्मा ५ लाख छुट्टयाएको छु, त्यसैबाट सबै खर्च गरेर निर्वाचनमा विजयी हुन्छु भन्ने विश्वास छ’, उनले भने, ‘अब हामीले सोच्नेबेला आएको छ । सबै जनाले आफ्नो दल र वाद भन्दा माथि उठेर सोच्नुस् र मतदान गर्नुस् ।’

उनले अघि थपे, ‘आम मतदाता र नेपालीहरु यदि मुलुकको वर्तमान दुरावस्था, व्याप्त गरिबी, भ्रष्टाचार, दण्डहिनताको स्थितिबाट खुसी र सन्तुष्ट हुनुहुन्छ भने मलाई केही भन्नु छैन, होइन भने एकपटक सोच्नुस् र मतदान गर्नुस् ।’ खड्काले यदि मुलुक बनाउने हो भने मंसिरमा हुने निर्वाचनबाट जनतासँग भएको शक्ति प्रयोग गरेर पुराना सडेगलेका, देशद्रोहीहरुलाई कुचोले कसिगंर बढारेझै बढार्नु पर्ने बताए ।

उनले हाम्रो धर्म, संस्कृति बचाउन, राष्ट्रियताको जगेर्ना गर्न, सुशासन र आर्थिक विकासका निम्ति आफूलाई निर्वाचित गर्न सबैलाई आग्रह गरे । ‘हाम्रो मुलुकमा फोहोरी राजनीति छ, मलाइ त्यसो गर्न आउँदैन’, उनले भने, ‘तर, मप्रति राष्ट्रियता, राष्ट्रप्रति माया, निष्ठा छ, जिम्मेवारी थाहा छ, त्यसैले मलाई मतदान गर्नुस् ।’ उनले देशको अहित हुने काम कहिल्यै नगरेको र अब पनि नगर्ने बताए । उनले निष्ठा र देशप्रतिको माया नै आफूले निर्वाचन जित्ने आधार भएको बताए ।