December 5, 2024, Thursday
२०८१ मंसिर २०

डेढ वर्षपछि प्रदेशसभाका विषयगत समिति क्रियाशील

भैरहवा– लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समिति डेढ वर्षपछि क्रियाशील बनेका छन् । मिनी संसद मानिए पनि लामो समय समितिमा छलफल हुन सकेको थिएन । लामो समयपछि यी समितिले पूर्णता पाएका थिए । त्यससँगैं समितिमा छलफल हुन थालेका छन् ।

सरकारलाई निगरानी गर्ने जिम्मेवारी भएका समितिले बल्ल काम र योजनाको विवरण माग्न थालेका छन् । सुरुवातमा गठन भएका समिति तत्कालीन नेकपाको विघटनसँगै निस्क्रिय बनेका थिए । त्यसपछि केही समितिका सभापतिले पार्टी फेरबदल गरेका थिए । केही सभापति मन्त्री बनेपछि २०७७ फागुनदेखि समिति नेतृत्वविहीन थिए ।

Advertisement

लुम्बिनी प्रदेश सभामा पाँच विषयगत समिति र एक विशेषाधिकार समिति छ । तिमध्ये विशेषाधिकार समितिमा सुरुदेखि नै एमालेका कमलराज श्रेष्ठले नेतृत्व गर्दै आएका छन् । विभिन्न समयमा रिक्त भएका समितिको नेतृत्व सरकारबाट बाहिरिएको एमालले खोजेपछि नेतृत्व चयन हुन सकेको थिएन् ।

दुई साताअघि सरकार र प्रतिपक्षबीच सहमति भएपछि समितिले पूर्णता पाएका हुन् । सत्तापक्ष र प्रतिपक्षबीच चार समितिमा एमालेले, एक जनमोर्चा र एकमा माओवादीको नेतृत्व हुने सहमति भएको थियो । त्यहीअनुसार प्रदेश सभा सचिवालयले प्रकृया अघि बढाएर दुई साता अघि नेतृत्व चयन भएको हो ।

प्रदेश सरकारले गर्ने कामको अनुगमन, बजेट वितरण र सरकारका महत्वपूर्ण कामको निगरानी गर्ने सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन् । उनी एमाले नेतृत्वको शंकर पोखरेल नेतृत्वको सरकारमा अर्थ तथा सहकारी मन्त्रीको दावेदार थिए ।

लामो समयपछि सामाजिक विकास समितिमा बाबुराम गौतम र कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल निर्वाचित भएका छन् । दुवै एमालेबाट प्रदेशसभा सदस्य हुन् । राष्ट्रिय जनमोर्चाकी तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा भएकी छन् ।

प्रदेश सभाले प्रत्येक समितिमा सभापतिसहित ११ सदस्यीय समिति बनाएको छ । अर्थ, उद्योग पर्यटन समिति १३ सदस्यीय छ । समितिमा सबै दलको दलीय प्रतिनिधित्व हुने गरी सदस्य चयन भएका छन् । एमालेले नेतृत्व लिएका समितिमा कांग्रेस, माओवादी र मधेशवादी दलका प्रदेश सभा सदस्यहरु सदस्यको रुपमा छन् । प्रदेश सभामा एक मात्र सदस्य रहेको राष्ट्रिय जनमोर्चाले अर्थ, उद्योग पर्यटन विकास समितिको नेतृत्व पाएको हो ।