September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

सबैको सहमतिमा नागरिकता विधयेक पारित भएको हो: गृहमन्त्री खाँण

भैरहवा– रुपन्देही जिल्ला कोरोना भाइरसविरुद्धको पूर्ण खोप जिल्ला घोषणा भएको छ । शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणको जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप घोषणा गरेका हुन् ।

Advertisement

कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सरकार नागरिकको जीवन रक्षामा कटिबद्ध रहेको बताए । ‘वर्तमान गठबन्धन सरकार बनेपछि हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने वातावरण मिलाइएको हो’, उनले भने, ‘सरकार अन्य किसिमका स्वास्थ्य जटिलताबाट नागरिकलाई उन्मुक्ति दिलाउन लागि परेको छ ।’

Advertisement

गृहमन्त्री खाँणले कोरोना संक्रमण पछिल्लो समय फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । ‘तपाईं हामी सबैलाई थाहा छ, कोरोना एक व्यक्तिबाट अर्कोमा सहजै सर्छ, त्यसैले गंभीर भएर स्वास्थ्य मापदण्डको पालना गरौं’, उनले भने ।

अर्को प्रसंगमा गृहमन्त्री खाँणले नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले अध्यादेश मात्रै ल्याएर नहुने जनाउँदै यो विधयेक बन्नु पर्ने र संसदबाटै पारित हुनुपर्छ भन्ने काँग्रेसले विगतदेखि नै बताउँदै आएकाले सोही अनुसार पारित गरिएको बताए । ‘प्रतिपक्षले लामो समय संसद चल्न दिएन र संसद चलेपछि सबैको सहकार्यमा नागरिकता विधयेक पारित गरिएको हो’, उनले भने, ‘पूर्ववर्ती सरकारले ल्याएकै विधेयकअनुसार सबैको सहमतिमा नागरिक विधयेक पारित भएको छ ।’ उनले नागरिकता विधयेकका विषयमा जनतालाई भ्रम फैलाउन नहुने जनाए ।

खाँणले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले तोकिएको समयमै निर्वाचन हुने बताए । ‘निर्वाचन तोकिएकै समयमा भयरतिह, स्वच्छ वातावरणमा सम्पन्न हुन्छ’, उनले भने । सरकार निर्वाचनको तयारीमा लागिसकेको उनको भनाई छ ।

कार्यक्रममा रुपन्देहीलाई १२ वर्ष उमेर माथिको कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मको बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लामा ८ लाख ५३ हजार ७८ जनाले पूर्णमात्रामा खोप लगाएका छन् ।

१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मायादेवी, मर्चवारी, कोटहीमाई, ओमसतिया, रोहिणी, शुद्धोधन, गैडहवा गाउँपालिकाका नागरिकले भने पूर्ण खोप लगाएका छैनन् । तर, सहरी इलाकाका पालिकाहरुमा भने शतप्रतिशत भन्दा बढीले पूर्ण खोप लगाएका छन् । सहरी क्षेत्रका पालिकामा अन्यत्रबाट आएर बसोबास गर्ने नागरिकले पनि खोप लगाएकाले लक्ष्य भन्दा बढीले भएको हो ।

ग्रामीण क्षेत्रका पालिकाका नागरिकले पूर्ण खोप नलगाए पनि घरघरमा गएर डाटा संकलन गर्दा खोप नलगाएका नभेटिएकाले पूर्ण खोप घोषणा गरिएको ढकालले जानकारी दिए । ‘ग्रामीण क्षेत्रका पालिकाहरुमा केही मात्रामा खोप कम लगाएजस्तो देखिएको छ तर वास्तविकता त्यस्तो छैन । हामीले घरघरमा पुगेर नमूना संकलन गरेका छौं । कोही बाँकी छ की भनेर खोजेका छौं । त्यस्तो नपाइएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो’, ढकालले भने । समग्रमा जिल्लाको खोप प्रगति १०२ प्रतिशत रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।