युसियमएसमा विशेषज्ञ चिकित्सकसहितको विशिष्ट ओपीडी सेवा सुरु


भैरहवा– रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसियमएस)ले ‘विशिष्ट विशेषज्ञ ओपीडी (बहिरङ्ग) सेवा’ सुरु भएको छ । विरामीलाई एकै स्थानबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बिहीबारबाट उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।
सेवा सुरु गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसले विरामीको उपचारमा सुविधा हुने बताए । उनले एउटै कक्षबाट विशिष्ट सेवा लिन पाउँदा विरामी र कुरुवालाई सहजता हुने भन्दै प्रभावकारी सेवा प्रवाहका लागि अस्पताल प्रशासनलाई आग्रह गरे । ‘धेरै सुविधासहित एकै ठाउँबाट सेवा लिँदा विरामीको उपचार पनि राम्रो हुने र समयको पनि बचत हुनेछ’, उनले भने, ‘यसबाट धेरै नागरिक लाभान्वित हुने मैले विश्वास लिएको छु ।’
अस्पतालका प्रशासन प्रमुख कमलराज ढकालले धेरै सेवाहरु एकै ठाउँमा विशेष सुविधासहित दिने गरी विशिष्ट सेवा सुरु गरेको जानकारी दिए । ‘यसले विरामीलाई सहजता हुनेछ’, उनले भने । अस्पतालका अनुसार उक्त सेवा संचालनका लागि छुट्टै कक्ष तयार पारिएको छ । यहाँ खासगरी चारवटा विषयमा विशेषज्ञ सेवा दिइनेछ ।
अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार यस सेवा अन्तर्गत बिरामीले अस्पतालमा अलग्गै एकै स्थानबाट बिशेषज्ञ चिकित्सकसहितको मृगौला रोग सम्बन्धि सेवाहरु, मुत्ररोग सम्बन्धि सेवाहरु, न्युरो शल्यचिकित्सा सम्बन्धि सेवाहरु र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धि सेवाहरु प्राप्त गर्ने छन् ।
‘पहिला विरामी माथि उल्लेखित सेवा लिन अस्पतालभित्रकै धेरै ठाउँमा धाउनु पथ्र्यो, अब भने यो बाध्यता हटेको छ’, गुरुङले भने, ‘विरामी टिकट लिएर उक्त विशिष्ट विशेषज्ञ ओपीडी कक्षमा प्रवेश गरेपछि सबै सेवाहरु एकैठाउँमा उपलब्ध हुनेछ ।’
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पीएसले यस क्षेत्र र आसपासका सबै नागरिकको चाहना चाहना तथा माग बमोजिम बिरामीलाई सहज हुने गरि चारवटा विषयमा एकद्वार प्रणाली अन्तर्गत स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार, बिशिष्ट विशेषज्ञ ओपीडी कक्षमा बिरामीले एकै स्थानमा पूर्ण रुपमा शान्त बातानुकुलित बातावरणमा सम्पूर्ण सेवा प्राप्त गर्नेछन् । उपचार तथा परामर्श, रगत तथा पिसाव संकलन, बिरामी कुरुवा कक्ष, औषधि खरिद, निःशुल्क वाइफाइ, टेलिभिजनको व्यवस्था एकै ठाउँमा उपलब्ध गराइएको छ ।
‘बिशिष्ट विशेषज्ञ ओपीडी सेवा संचालनमा ल्याइएपछि बिरामीले चिकित्सकलाई भेटाउन र ल्यावको सेवा लिन अस्पताल भवनको तल र माथि, यता र उता हिँड्दै भौतारिनु पर्दैन । औषधि खरिद तथा रिपोर्ट लिनका लागि अन्य बिरामीसंग लामो लाइनमा बस्नु पर्ने बाध्यता हुँदैन’ अस्पतालका मुटु, फोक्सो तथा रक्तनली सल्यक्रिया विशेषज्ञ सन्तोष साहले भने, ‘बिरामीले एकै ठाउँबाट सवै सेवा पाउने भएपछि हैरानी हुँदैन ।’
अस्पताल प्रशासनले यो सेवाका लागि ३ सय रुपैयाँ शुल्क लाग्ने र एक हप्तासम्म कायम रहने व्यवस्था गरेको छ । अस्पतालका सूचना अधिकृत गुरुङले भविष्यमा अन्य सेवालाई पनि यसरी नै उत्कृष्ट ढंगले व्यवस्थापन गर्दै लग्ने योजना रहेको बताए ।
पश्चिम नेपालमै सबैभन्दा ठुलो र उपचार सेवासुविधासहित संचालित अस्पतालमा मुटुसम्बन्धी सम्पूर्ण उपचारका लागि क्याथल्याब पनि संचालन छ । यस्तै, जोर्नी फर्नुपर्ने तथा हिप फेर्नुपर्ने सेवाहरुका साथै दूरविन प्रविधिबाट शल्यक्रिया समेत हुँदै आएको छ ।

यहाँ सुविधा सम्पन्न मुटुरोग विभाग संचालित छ । उक्त विभागबाट उच्च रक्तचाप, हृदयघात, पक्षघात तथा मुटु सम्बन्धी सेवाहरु इसीजी, इको, हल्टर, टी.एम.टी समेत उपलब्ध छ । यस्तै, अस्पतालले दाँत तथा मुख सम्बन्धी सेवाहरु, डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, सीटीस्क्यान, एम.आर.आई. सेवा, मेमोग्राफी, फ्लोरोस्कपी, अत्याधुनिक आईसीयू, एनआईसीयू, पीआईसीयू, सीसीयू तथा एमआईसीयू सेवा उपलब्ध गराउँदै आएको छ ।
आमा सुरक्षा कार्यक्रमसमेत संचालित उक्त अस्पतालमा सामाजिक सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बीमा पनि चालु छ । अस्पतालमा बहिरङ्गतर्फ दैनिक आठ सय र आकस्मिक लगायतका सेवा लिने ४ सय गरी दैनिक एक हजार २ सयजनाले सेवा लिँदै आएको प्रशासन प्रमुख ढकालले जनाए ।








प्रतिकृया दिनुहोस्