September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

तिव्र गतिमा सवारी चलाए ठाउँका ठाउँ कारबाही

भैरहवा– तिव्र गतिमा सवारी साधन चलाउने ४१ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ठाउँका ठाउँ कारबाही गरेको छ । दुई दिन अघिबाट ‘राडर गन’ मार्फत् सवारी साधनको गति मापन गरिरहेको ट्राफिक प्रहरीले बिहीबार तीव्र गतिमा सवारी चलाउने ४१ जना चालकलाई कारबाही गरेको हो ।

Advertisement

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव केसीले ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि अभियान नै चलाएको बताउँदै यदि तिव्र गतिमा सवारी चलाएको पाइए ठाउँका ठाउँ कारबाही गरिने बताए । ‘सवारी कति स्पिडमा छ भन्ने ‘राडर गन’ले जानकारी दिन्छ’, उनले भने, ‘तोकिएभन्दा बढी गतिमा चलाएको पायौं भने तुरुन्तै कारबाही गर्छौं ।’

उनले तिव्र गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेको बताए । यस्ता दुर्घटनामा कयौं नागरिकको ज्यान जाने गरेको केसीले जनाए । ‘रुपन्देहीका विभिन्न सडक खण्डहरुमा बढ्दै गइरहेको सवारी दुर्घटनाका विभिन्न कारणहरुमध्ये तिब्र गति मुख्य हो’, केसीले भने, ‘हाम्रो अनुसन्धानबाट ९० प्रतिशत सवारी दुर्घटना तिव्र गतिकै कारण हुने गरेको छ । यसलाई न्युनीकरण गर्न हामी लागिपरेका छौं ।’

केसीले सवारी दुर्घटना न्युनीकरण गर्नका लागि अभियान सुरु गरिएको जनाए । उनले भने, ‘अहिले हामीले ‘राडर गन’ मार्फत् सवारीको गति मापन गरिरहेका छौं, तीव्र गतिमा सवारी चलाउनेलाई धमाधम कारबाही गरेका छौं । यसबाट धेरैजनालाई सचेतना फैलिएको छ । दुर्घटना न्युनीकरण हुने हाम्रो अपेक्षा छ ।’

उनले सवारी तोकिएको भन्दा बढी गतिमा नचलाउन सबैलाई आग्रह गरे । ‘तिव्र गतिले चालकमात्रै होइन्, सवारीमा सवार यात्रु, पैदलयात्रीलाई समेत जोखिम हुने गरेको छ’, केसीले भने, ‘दुर्घटना हुँदा मानवीयसँगै आर्थिक क्षति पनि धेरे हुन्छ ।’

जिल्ला अन्तर्गतका विभिन्न सडक खण्डहरुमा सवारी दुर्घटना बढ्दै गएपछि यसलाई न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकिङको क्रममा राडर गन प्रयोगमा ल्याएको हो । नियमअनुसार प्रतिघण्टा ६० किमी मात्रै सवारी कुदाउन पाउने प्रावधान छ । यो भन्दा बढी स्पिड चलाए ट्राफिकले तुरुन्त कारबाही गर्ने गरेको छ । ट्राफिक कारबाहीमा पर्नेमा दुई र चारपाँग्रे सवारी बढी छन् ।