ज्वरो र डेंगुका बिरामीको अस्पतालमा भीड


भैरहवा– कोरोना संक्रमणसँगै एक महिना यता उच्च जरो र डेंगुका बिरामी बढेका छन् । लक्षण मेल खाने यस्ता संक्रमितले रुपन्देहीका अस्पतालमा भीड बढेको छ । जिल्लाका सहर र ग्रामीण क्षेत्रमा यस्ता बिरामी ह्वात्तै बढेका छन् । जरो, रुघाखोकी जस्ता लक्षण भएका बिरामी घरमै छन् । गम्भीर लक्षण देखिएका बिरामीले अस्पतालका बेड भरिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असार यता बिरामी बढेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी केदार शाहले साउन पहिलो सातादेखि उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढेको छ । यही अवधिमा कोरोना संक्रमण समेत उकालो लागेको उनले बताए । रुपन्देहीमा प्रत्येक वर्षायाममा डेंगुको संक्रमण ह्वात्तै बढ्ने गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पताल र बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको भीड छ । लुम्बिनी प्रादेशिकमा बेड अभाव भएपछि भुइँमै राखेर उपचार भइरहेको छ । ‘बुटवल, तिलोत्तमा र सैनामैनाका धेरै बिरामी छन,’ साहले भने, ‘धेरै बिरामी घरमै आराम गरिरहेकाले यकिन तथ्यांक निकाल्न सकिएको छैन ।’
यस्ता बिरामीमा उच्च जरो, शरिर दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर चिलाउने, लगायत लक्षण देखिन्छन् । डेंगुको संक्रमणले विरामीको प्लेटलेट्स ह्वात्तै घटाउँछ । प्लेटलेट्सको मात्रा ६० हजार भन्दाकम भएमा ताजा सेतो रगत चढाउनुपर्छ ।
एडिस एजिप्टाइ नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । प्रायः सफा पानीमा बस्ने यो लामखुट्टेमा बाघको जस्तै बुट्टा हुने गरेका छन् । मुलुकका रुपन्देही र चितवन डेंगु संक्रमणका केन्द्र हुन् । यी जिल्लामा लामखुट्टे मात्र औषधि छर्ने, झुल वितरण गर्ने अभियान सञ्चालन हुँदैं आएका छन् । चिकित्सकले घर बाहिर निस्किँदा बाहुला भएका लुगा लगाउन सुझाव दिएका छन् ।








प्रतिकृया दिनुहोस्