September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

बिबादमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख

भैरहवा– पछिल्लो समय रुपन्देहीका स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष बिबादमा पर्न थालेका छन् । केही दिन अघिसम्म तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी चर्चामा थिइन् । नगरका विभिन्न समिति गठनमा प्रतिनिधित्वको विषयमा सुरु भएको बिबाद अन्तिममा व्यक्ति केन्द्रित भएको थियो । उपप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतबीच पानी बाराबारको अवस्था सिर्जना भयो । यही विषयमा सञ्चारकर्मी र उपप्रमुख चौधरीबीच फाटो आयो ।

Advertisement

तिलोत्तमामा सेलाए लगत्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन बिबादमा परेकी छन् । उक्त नगरपालिका स्रोतका अनुसार आफूले भनेजस्तो नभएपछि प्रतिशोध साँधेर उपप्रमुख हरिजनले प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयको सरुवा गराएकी छन् । स्रोतका अनुसार गत असार ३० गतेको नगरसभाका क्रममा न्यायिक, लेखा, प्रशासन र विधायन समिति गठनको विषयमा सहमती भएन । त्यसपछि उक्त सभाबाट नगरको बजेट मात्र पारित गरिएको थियो ।

गत साउन १ गते करारका कर्मचारीको नविकरण गर्ने–नगर्ने विषयमा छलफल भएको थियो । उक्त नगरपालिकामा यस्ता करिब ३० कर्मचारी थिए । उक्त छलफलका क्रममा कार्य सम्पादन राम्रो भएकालाई निरन्तरता दिने निर्णय भएको थियो । तर, कार्य सम्पादन कमजोर भएका, दरबन्दीमा नपरेका, सिमित अवधि र निर्धारित कामका लागि नियुक्त गरिएका व्यक्तिलाई हटाउने निर्णय भएको थियो । ‘कर्मचारी राख्ने–नराख्ने नितान्त प्रशासनिक कार्य हो,’ नगरपालिकाका एक अधिकृत भन्छन्, ‘यसमा नगरप्रमुख र उप प्रमुखको राय नलिन पनि सकिन्छ ।’

छलफलबाट करारका हटाएर आर्थिक भार नपर्ने भएकाले ज्यालादारीमा केही कर्मचारी नियुक्त गर्ने निर्णय गरिएको थियो । नगरपालिकाका अनुसार साउनमा कानुनी सल्लाहाकार, चालक, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, असिसटेन्ट सब इन्जिनियर गरेर ११ जना ज्यालाका कर्मचारी राखिएको छ । यसमा प्रमुख, उपप्रमुखले भनेका व्यक्ति समेत छन् । उक्त निर्णयपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेय पारिवारिक कामले बिदामा बसेका थिए ।

त्यसपछि उपप्रमुख हरिजनले आफ्नो सहमति बिना कर्मचारी नियुक्त गरिएको भन्दै आपत्ती जनाइन । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले यस विषयमा नगर प्रमुखसित कुरा गर्न सुझाव दिए । उपप्रमुखले प्रमुखसित छलफल नगरेर उल्टै पाण्डेयबिरुद्ध अभियान चलाएको नगरपालिकाका कर्मचारी बताउँछन् ।

अहिले नगरपालिकाका कर्मचारी दुई खेमामा विभाजित छन् । करार सेवाबाट हटाइएका र नगरपालिकाका केही स्थायी कर्मचारी उपप्रमुखको पक्षमा गुटबन्दी गरिरहेका छन् । बाँकी कर्मचारी प्रमुख प्रशासकीय र नगर प्रमुखको पक्षमा छन् । स्रोतका अनुसार नगरपालिकामा सुनुवाई नभएपछि उपप्रमुख हरिजन आफ्नो पार्टी एमालेको नगर कमिटिमा सहयोगका लागि पुगेकी थिइन । नगर कमिटिले प्रशासनिक विषय भएकाले यसबारेमा नगरपालिका भित्रै समाधान खोज्न सुझाव दियो ।

त्यसपछि उपप्रमुख प्रमुख प्रशासकीयको सरुवाका लागि दबाब दिन तीन पटक काठमाडौं पुगेको उनी निकट कर्मचारीले बताए । सम्बन्धित मन्त्रालय र सचिवले सरुवाका लागि नगर प्रमुखको सहमती जरुरी रहेको बताउँदै फर्काएका थिए । त्यतिले मात्र उपप्रमुख थामिनन् । उनले एमाले बाहेक दलको समेत सहयोग लिएर पाण्डेयको सरुवा गराएको नगरपालिका भित्र चर्चा चलिरहेको छ । यसमा उनको पूर्व दल माओवादी केन्द्रले सघाएको पाण्डेय निकट कर्मचारीले आरोप लगाए ।

माइन्युट घरमा, गाडीको चाबी खोसिन
नगरपालिका अनुसार उपप्रमुख हरिजनमाथि नगरसभा र कार्यपालिकाको माइन्युट आफ्नो घरमा लगेको आरोप लागेको छ । प्रमुख प्रशासकीयले कार्यालयका कर्मचारीलाई माइन्युट सुरक्षित राख्न जिम्मा लगाएका थिए । गत साउन १५ गते ती माइन्युट नगर प्रमुखले खोजी गर्दा उपप्रमुखले आफूले घरमा लगेको जानकारी गराएकी थिइन । ‘नगर प्रमुखले माइन्युट माग्दा उप प्रमुखले मेरो घरमा छ भन्नुभयो,’ नगरापालिकाका एक कर्मचारीले भने, ‘माइन्युट यसरी घरमा लैजान मिल्दैन ।’

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको चाबी खोसेकी छन् । साउन २२ गते उनले चालकबाट गाडीको चाबी खोसेकी थिइन् । उपप्रमुख हरिजनले तल्लो तहका कर्मचारीलाई राम्रो व्यवहार नगर्ने र हप्काउने समेत गर्ने गरेको पीडित कर्मचारी बताउँछन् ।

प्रमुख प्रशासकीय पाण्डेयले आफ्नो सरुवा भएको खबर पाएको तर, आधिकारिक पत्र प्राप्त नभएको बताए । ‘सरुवाका पनि विधि र पक्रिया हुन्छन्,’ उनले भने, ‘तर, अहिलेको पक्रियाले म लगायत सम्पूर्ण कर्मचारीको प्रतिष्ठामा ठेस पुग्छ । यसले मनोबल गिराउँछ । साथै स्थानीय तहमा बिकृती बढ्छ ।’ उनले उपप्रमुखले तपाईंको सरुवा गर्नुभएको हो भन्ने विषयमा भने केही नबोल्ने बताए ।

उपप्रमुख हरिजनले नगर कार्यपालिकामा कुनै प्रस्ताव पेश नगरी कर्मचारी चयन गर्नेदेखि सक्षम कर्मचारीलाई प्रमुख प्रशासकीयले उचित जिम्मेवारी नदिएको आरोप लगाइन् । ‘उहाँले नगर प्रमुख भए पुग्छ जस्तो गर्नुभयो’, उनले भनिन्, ‘दिउँसो कार्यालय नआउने, रातिमा आएर निर्णय गर्नुभयो ।’ प्रमुख प्रशासकीयको सरुवा नियम अनुसार भएको उनले दावी गरिन् । उनका अजुसार डेढ वर्ष काम गरिसकेकाले सरुवा भएको हो । ‘मैले पनि साउन १५ गते सरुवाको जानकारी पाएँ’, उनले भनिन्, नगरपालिकाले सरुवाको पत्र नदेखाएपछि मैले साउन १८ गते मेरो मेलमा मगाएकी हुँ ।’

राम्रो काम गरेका थिए पाण्डेयले
रुपन्देहीको मर्चवार जस्तो जिल्लमै पिछडिएको छाउँमा जन्मिएका पाण्डेय प्रशासनिक क्षेत्रमा अब्बल छन् । अध्ययन र प्रशासनिक काम चुस्त राख्न उनी सक्षम रहेको पाण्डेयसँग काम गर्दै आएका कर्मचारीहरु बताउँछन् । पाण्डेयले निजामति सेवा सम्बन्धी केही पुस्तक लेखेर प्रकाशनमा समेत लिएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आए पछि पाण्डेयले आन्तरिक राजस्व बृद्धि, वडाहरुमा अनलाइन सिफारिस प्रणाली लागू गर्ने, असारे विकास रोक्ने काम गरेका थिए । असरा महिनामा कालोपत्रे गर्न रोक लगाइएपछि पूर्वाधार बलियो हुँदै गएको स्थानीय बताउँछन् । व्यवसाय दर्ता अभियान संचलन गरेर करको दायरा फराकिलो बनाउने, योजना समयमै सक्नका लागि एक्सन प्लान गराएर काम गरेका थिए ।

यस्तै, बेरुजु फछ्र्यौट, कर्मचारीसँग कार्यविवरणसहितको कार्यसम्पादन सम्झौता, शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग प्रतिबद्धता पत्रमा हस्ताक्षर लगायतका काममा उनले योगदान गरेका छन् । यसले नगरको विकासनिर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार राम्रो बनाउने सहयोग पुगेको छ ।