December 10, 2024, Tuesday
२०८१ मंसिर २५

ट्रक हत्याउन साथीको हत्या

भैरहवा– पछिल्लो समय रुपन्देहीमा हत्याका घटना बढेका छन् । परिवार र साथीभाईबीच रिसर्इंवीका कारण हत्याका घटना भइरहेका छन् । आर्थिक लेनदेन र पारिवारिक बेमेलले गर्दा यस्ता घटना भइरहेको प्रहरीले बताएको छ ।

रुपन्देहीको सैनामैना–६, कलौनीमा यस्तै अर्को घटना सार्वजनिक भएको छ । कलौनीका एक व्यक्तिले ट्रक हत्याउन साथीको हत्या गरेका छन् । त्यहाँका ४३ वर्षीय दिपक भनिने कुलचन्द्र गौतमले १६ लाख मूल्य पर्ने ट्रक आफ्नो नाममा गराउन साथीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गौतम अर्घाखाँचीको पाणिनी–२, डाँडाकटेरीका बासिन्दा हुन् । अहिले सैनामैना बस्दै आएका छन् ।

Advertisement

गौतमले अर्घाखाँचीकै विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ट्रक आफ्नो नाममा गराउन हत्या गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गौतमले बिष्णुबहादुरलाई रुपन्देहीबाट अर्घाखाँची पुर्याएर हत्या गरेको खुलेको छ । गौतमले आफ्ना साथी विष्णुसँग पछि पैसा बुझाउने गरीे १६ लाख रुपैयाँमा ट्रक खरिद गरी यातायात कार्यालयमा गई आफ्नो नाममा गरेका थिए । ट्रक नामसारी गरेपछि पैशा बुझाउन भन्दै पहाड घर अर्घाखाँची लिएर गएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अुनसार साउन ९ गते उनिहरु अर्घाखाँचीतर्फ लागेका थिए । अर्घाखाँची पाणिनी घरमा पुगेपछि पहिलो दिनसँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट बिहानै आरोपित गौतमले जँगलमा कालिज मार्न जाउँ भनि विष्णुलाई लगेका थिए । जँगलमा लगेपछि एकान्त पारी पछाडीबाट फलामको रडले टाउँकामा हानी हत्या गरेका थिए ।

२–३ पल्ट टाउकोमा हिर्काएपछि मृत्यु भएका पाण्डेलाई भिरबाट धकेली दिएको प्रहरीले बताएको छ । फरार रहेका गौतमलाई नेपाल भारतको सीमानाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका दाजु तेजबहादुर पाण्डेले साउन १५ गते आइतबार नै ईलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् । प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा साउन १५ गते जंगलमा शव फेला परेको थियो ।