December 10, 2024, Tuesday
२०८१ मंसिर २५

भन्दैन मेरो मन

हिंसा गर्दिन कान भर्दिन झुटा आवाज घोकीकन
आगो बल्दिन सत्य छल्दिन कतै भेडा बनाई जन
मेरो कृष्ण त ग‍ोपिनीसँग भुली लुक्तैन वृन्दावन
त्यस्तो रूप रहन्छ ब्रह्मपटमा भन्दैन मेरो मन॥१

बाँचेकै दिन स्वर्ग भोग जति होस्  भोग्दैछु यै लोकमा
पोखेकै पसिना पवित्र छ यहाँ नाचेँ त्यही शोखमा
तिम्रो स्वर्ग मरे पछाडि पुगिने  को देख्छ त्यो नन्दन ?
त्यस्तो स्वर्ग रहन्छ मृत्यु पछिको भन्दैन मेरो मन॥२

Advertisement

कोही ईश्वर छैन रूप न त होस् ढाँट्छौ नदेखे पनि
आफैँमा छ अदृश्य चेत बलियो प्रज्ञा विवेकी धनी
मेधा नित्य रहन्छ ईश्वर बनी वैदेह द्रष्टा घना
त्यस्तो रूप रहन्छ वाह्यपटमा भन्दैन मेरो मन॥३

कात्रो बाँस चिता गरून् कि नगरून् दोधारमा पर्दिन
आफ्नै स्वर्ग म टेक्छु जीवन हुँदा मुर्दा जली तर्दिन
राखून् लास कि फालिऊन् भिर कतै मर्छन् सबै जीवन
त्यस्तो दुर्गति पर्छ कर्मपटमा भन्दैन मेरो मन॥४

वैतर्णी अनि रौरवादि भल वा कोसी र गंगा तरेँ
अन्धोभक्त म काग खेद्दिन कुदी यी कान छामी मरेँ
जेमा पर्नु परेँ तरेँ विगतमा चुक्ता तय्रो जीवन
त्यस्तो सत्य रहन्छ मृत्यु पटमा भन्दैन मेरो मन॥५

ढुङ्गा मूर्ति समान मूर्ख जनले पुज्छन् खुनी देवता
गर्छन् तारिफ दुर्गुणी विजयको देखाउँछन्  सभ्यता
बुझ्ने कौशल छैन जोसँग बढी त्यो मूर्ति ढोग्ने जन
त्यस्तो अन्ध पुरातनी कवि बनोस् भन्दैन मेरो मन ॥६

ढुङ्गामा कृति काव्य कौशल कला छैनन् भने त‍ड त्यो
टुक्रा पार धुलो उडोस् कि अथवा पर्खालमा जोड त्यो
तोड्दा वज्र तुरुन्त बल्छ बिजुली गर्जिन्छ कालो घन
त्यस्तो पाषण हुन्छ शब्दपटमा भन्दैन मेरो मन ॥७

-nepalisathiyaghar