रुपन्देहीमा एसईईको नतिजा कमजोर


भैरहवा– यसपटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीका विद्यालयको नतिजा कमजोर आएको छ । सरोकारवालाका अनुसार बिगत वर्षका तुलनामा यसपाली नतिजा कमजोर देखिएको हो । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका अनुसार कोरोना महामारीका कारण नतिजामा असर परेको अनुमान गरिएको छ ।
इकाइ प्रमुख दीपेन्द्र ढकालले यसपटक गत वर्षको तुलनामा नतिजा कमजोर आएको बताए । एकातिर कोरोना महामारी र अर्कोतर्फ विद्यार्थीमा पढ्ने विषयमा गम्भीरमा आएको कमीले नतिजामा असर परेको हुनसक्ने उनले बताए ।
‘विद्यार्थीले ग्रेड सिस्टममा आउने जीपीएलाई महत्व दिएको पाइँदैन,’ उनले भने, ‘कोरोना महामारीले विद्यार्थीको समग्र पढाइमा नकारात्मक असर पारेको हो ।’ भौतिक रुपमा कक्षामा उपस्थित भएर पढेको जस्तो अनलाइन माध्यामबाट प्रभावकारी नहुने उनले बताए ।
दुई वर्ष महामारीको त्रास झेलेका विद्यार्थीले पढ्ने वातावरण सोचेजस्तो नपाउँदा नतिजा त्यहीअनुरूप आएको उनले बताए । विद्यालयले नै मूल्यांकन गरेर पठाएको अंकका आधारमा ग्रेड अपलोड हुने गर्दा विद्यार्थीको अध्ययन लेभलसमेत पत्ता नलागेको उनले बताए । ढकालले तथ्यांकमा देखिएपछि अपेक्षाकृत नतिजा भने जिल्लाले ल्याउन नसकेको जनाए ।
जिल्लामा यसपटक ५ जनाले मात्र जीपीए ४ ल्याएका छन् । बुटवलस्थित अक्सफोर्डका २, होराइजनका २ र सामुदायिक तर्फको कालिका मानव ज्ञान माविबाट १ जनाले जीपीए ४ ल्याएका हुन् । सबैभन्दा कम १ दशमलव २ जीपीएभन्दा कम ल्याउने विद्यार्थी जिल्लामा ८७ जना रहेका छन् । ३ सय ५७ जनाले ३ दशमलव ६ भन्दा माथि ल्याएको जिल्ला शिक्षा इकाइले जनाएको छ ।
रूपन्देहीका ३ सय ३५ विद्यालयका १७ हजार ६ सय ९२ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएको जिल्ला शिक्षा इकाइ रूपन्देहीले जनाएको छ । ०७७ सालमा जिल्लामा एसईई दिएका १७ हजार ९ सय ५ मध्ये ३ सय ७२ विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।








प्रतिकृया दिनुहोस्