११ लाख विरुवा निःशुल्क वितरण
कपिलवस्तु– यस वर्ष बृक्षरोपणका लागि कपिलवस्तुमा १० लाख ८४ हजार विरुवा वितरण गरिएको छ । जिल्लास्थित दुईवटा डिभिजन, सेक्टर र साझेदारी वन व्यवस्थापन समितिले यति विरुवा निःशुल्क वितरण गरेका हुन् ।
जिल्लाका विभिन्न ६ ठाउँमा रहेका नर्सरीमा ती बिरुवा हुर्काइएको थियो । जिल्लाका सार्वजनिक, निजी, अतिक्रमित जग्गामा वृक्षारोपण गरिएको वन कार्यालयले जनाएका छन् । समुदायलाई वृक्षारोपणका लागि प्रोत्साहित गर्न विरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।
जिल्लाका ४ सय हेक्टर बढी जग्गा हरियाली बनाउने योजना रहेको छ । सदरमुकाममा रहेको वन डिभिजनले काठजन्य २ लाख ५० हजार विरुवा वितरण गरेको छ । त्यस्तै ९ हजार फलपूmलका विरुवा वितरण गरेको छ ।
चन्द्रौटामा रहेको गौतम बुद्ध डिभिजनले काठजन्य ३ लाख ३८ हजार विरुवा वितरण गरेको छ । ९ हजार फलफूलका विरुवा वितरण गरेको छ । वैज्ञानिक वन व्यवस्थापन गरेका जिल्लाका ४ साझेदारी वनले ४ लाख ९६ विरुवा उत्पादन गरी वितरण गरेका हुन् ।
त्यस्तै ४४ हजार फलफूलका विरुवा वितरण गरेका छन् । वृक्षारोपण क्षेत्र बढाउन निःशुल्क विरुवा वितरण गरिएको तिलौराकोट साझेदारी वन व्यवस्थापन समिति संयोजक जयप्रकाश पाण्डेले बताए ।
प्रतिकृया दिनुहोस्