चिन्ता
आफ्नै ठुला बुबा रणोद्दीपलाई अनेकौं षडयन्त्र गरेर मारेपछि वीरशमशेर प्रधानमन्त्री बनेका थिए । त्यस समयमा राजगद्दी पाउने लोभमा आफ्नै भाइ, भतिजा, छोराहरू आफ्नै शत्रु बन्थे । त्यो समयमा राजगद्दी पाउन हत्या गर्नु सामान्य भइसकेको थियो । त्यो समयमा प्रधानमन्त्री बनिसकेपछि चौबिसै घण्टा सचेत बन्नु पथ्र्यो ।
वीरशमशेर प्रधानमन्त्री बनेका दिनदेखि नै निकै चिन्तामा रहने गर्दथे । उनी चौबिसै घण्टा आफू वरपर खतरा भएको महसुस गर्थे । उनी न त राम्रीसँग खान्थे न त राम्रोसँग निदाउँथे । उनी निकै शङ्कालु किसिमका व्यक्ति थिए । उनकी कान्छी श्रीमती महारानी तोपकुमारीले पनि विवाह गरेर आएको पहिलो दिनदेखि नै वीरशमशेरको यो व्यवहारलाई निहाल्दै थिइन् । श्री ३ महाराज वीरशमशेर राति आफू सुत्ने कोठा बदल्थे । उनी सुत्दा पनि एउटा हातले सिरानी च्याप्थे र अर्को हातमा राइफल राख्थे । कान्छी महारानी तोपकुमारी पनि वीर शमशेरसँग राति कोठा बदलेर सुत्थिन् ।
एक दिन तोपकुमारीले वीरशमशेरसँग भनिन्, “यति चिन्ता लिइबक्सिन्छ, यही चिन्ताले गर्दा हजुर राम्रोसँग खाना खाई बसिन्न, न त राम्ररी निदाइ बक्सिन्छ ।” यो कुरा सुनेर वीरशमशेरले जवाफमा भने, “मेरो ज्यान चौबिसै घण्टा खतरामा रहन्छ । यो कुरा थाहा पाउँदा पाउँदै म कसरी चिन्ता मुक्त हुन सक्छु ।”
“हजुर धेरै चिन्ता नलिबक्सयोस्, हजुरलाई केही पनि हुँदैन । बरु हजुरले एउटा राम्रो वैद्यलाई भेटेर कुरा गर्नु ।” तोपकुमारीले सुझाव दिइन् । तोपकुमारीको सुझाव वीरशमशेरलाई मनासिब नै लाग्यो । अहिलेसम्म उनले कसैलाई देखाएका थिएनन् ।
भोलिपल्ट बिहानै वीरशमशेरले एउटा राम्रो वैद्यलाई बोलाए । वैद्य दरबारमा हाजिर भएपछि वीरले आफ्नो समस्या खुलस्त बताए । “मलाई चौबिसै घण्टा केही भइहाल्छ क भन्ने चिन्ता लागिरहन्छ । मलाई आफ्नै भाइ भतिजाबाट खतरा महसुस हुन्छ । जसरी मैले आफ्नो ठुला बुबाको हत्या गरेर यहाँ आइपुगेँ त्यसरी नै मेरा भाइ भतिजाले गरे भने के गर्ने भनेर मलाई चिन्ता लाग्छ । कतै शत्रुले मेरो खानामा विष हालिदिन्छन् कि भनेर मैले भान्सा कोठामा विशेष प्रकारको सुरक्षा नीति अपनाएको छु । यत्रो सुरक्षापछि पनि कतै शत्रुले खानामा विष मिसाएका छन् कि भनेर थाहा पाउन आफ्नै भान्छेलाई पहिला खाना खान लगाएर मात्र आफुले खाना खान्छु । राति आफू सुत्ने कोठा फेर्छु तर पनि म यो डरबाट मुक्त बन्न सकेको छैन । अब तपाई आफै भन्नुस् कि म के गरुँ ?”
वीरशमशेरका कुरा सुनेर जवाफमा वैद्यले भने, “रिसानी माफ होस् सरकार, छोटो मान्छे बढा मुख नहोस् । म केही बिन्ती चढाऊँ ?” “अँ, भनन ।” वीरले आश्वस्त पारे ।
“हेर्नुहोस महाराज, तपाईलाई कुनै रोग लागेको छैन । तपाईलाई अनावश्यक चिन्ताले मात्र सताइरहेको छ र यस्को कुनै उपचार छैन । त्यसै पनि दरबारमा जुन घटना घट्यो त्यसमा तपाईको मात्र हात रहेको थिएन, सबैको सहयोग थियो । तर तपाईको मनले त्यसलाई गलत कर्म ठान्यो र आफूलाई अपराधि मान्यो । त्यसैको परिणम तपाई डरबाट निस्कन सक्नुभएन । यदि हजुरले कुनै राम्रो काम गर्नुभयो भने सायद तपाईको मनबाट डर टाढा हुन सक्छ ।” यति भनेर वैद्य दरबारबाट बाहिरिए ।
वैद्य निस्किएपछि वीरले निकैबेर सोचिरहे । ‘वैद्यको कुरा गलत थिएन । काका रणोदिपलाई मार्न सबैले सहयोग गरेका हुन् । फेरि म मात्र किन आफू दोषी मानू ?’ उनलाई लाग्यो । ‘मनलाई बहलाउन कुनै राम्रो काम त गर्नै पर्यो ।’ उनले सोचे ।
त्यसपछि उनले काठमाडौंमा पानीको लागि वीरधारा बनाउन लगाए, जनताले राम्रो स्वस्थ पाउन भनेर वीरअस्पलालको स्थापना गरे । उनले दरबार हाई स्कुललाई सुधार गरेर सर्वसाधरणले पनि पढ्न पाउने व्यवस्था मिलाए । त्यस अघि दरबारका बालबच्चाले मात्र त्यहाँ पढ्न पाउँथे । जनताहरूले वीर शमशेरको जय जयकार मनाउन थाले । विस्तारै उनको मनबाट डर पनि हराउँदै जान थाल्यो । वीरशमशेरमा परिवर्तन आएको देखेर तोपकुमारीले मन मनमा भनिन्, ‘चिन्ताले आफूलाई मार्नुभन्दा अगाडि आफूले चिन्तालाई मार्नु पर्दो रहेछ ।’ – nepalisahityaghar
प्रतिकृया दिनुहोस्