सिद्धार्थनगर कोभिडविरुद्ध पूर्ण खोप घोषणा
भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । बिहीबार भैरहवामा आयोजित कार्यक्रममा नगरलाई पूर्ण खोप घोषणा गरिएको हो । जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चपाईले कार्यबाहक नगर प्रमुख उमा अधिकारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गरे ।
नगरभित्रका १२ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको कार्यबाहक नगर प्रमुख अधिकारीले बताइन् । नगरपालिकाका अनुसार १२ वर्ष माथिका ६२ हजार १५६ जनसंख्या रहेकामा ६२ हजार ९७५ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
प्रहरी तथा अन्य जिल्लाबाट नगरभित्र बसोबास गर्ने नागरिकले पनि खोप लगाएकाले लक्षित वर्गभन्दा धेरैले खोप लगाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५ वर्ष माथिका बालबालिकालाई पहिलो मात्रामो खोप लगाइसकेको जनाएको छ । यस्तै, दोस्रो मात्रामो खोप लगाउने प्रक्रिया अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए ।
नगरपालिकाले महामारी रोकथामका लागि भन्दै नेपाल–भारत सीमा नाका बेलहियामा विगतदेखि नै हेल्थ डेस्क राखेर नियनमित एन्टिजेन परीक्षण गर्दै आइरहेको छ । स्वास्थ्य शाखा प्रमुख गितादेवी न्यौपाने पोखरेलका अनुसार हालसम्म उक्त हेल्थडेस्कबाट ७७ हजार ८०४ जनाको एन्टिजेन परीक्षण गरिएको छ । यसमध्ये १ हजार ५०१ ज्नामा कोरोना पोजेटिभ देखिएको छ । ९ हजार ७४३ जनाको पीसीआर परीक्षण गरेकामा १ हजार ३४२ जनामा पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ ।
हेल्थडेस्कमा परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई आइसोलेसन सेन्टरमा होल्ड गरी विभिन्न संघसंस्थाको समन्वयमा सम्बन्धित ठाउँमा पुर्याउने गरिएको छ । नगरभित्रका नागरिकलाई भने उपचारको व्यवस्था मिलाइएको पोखरेलले बताइन् ।
कार्यक्रममा समन्वय समिति सभापति चपाईले महामारीको समयमा नगरपालिकाले गरेको काम प्रशंसनीय रहेको जनाए । उनले कोरोनाको जोखिम अझै रहेकाले सचेत रहन आग्रह गरे । कार्यक्रममा महामारीमा खटिएका नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका, चालक, सरसफाईकर्मी, सुरक्षा निकाय, विभिन्न संघसंस्थाहरु, अस्पताल लगायत १८२ जनालाई सम्मानसमेत गरिएको थियो । उपप्रमुख एवं कार्यबाहक नगर प्रमुख अधिकारीले महामारीको रोकथाम तथा नियन्त्रणका लागि रातदिन अग्रपंक्तिमा खटिएर काम गरेका सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्