सिकलसेल थारु बाहेक समुदायमा पनि
भैरहवा– अहिलेसम्म सिकलसेल एनिमिया थारु समुदायमा मात्रै पाइएको थियो । त्यसैले यसलाई उक्त समुदायमा लाग्ने रोगका रुपमा बुझिँदै आएको थियो । बाँके, बर्दिया लगायत थारु समुदायको बसोबास रहको जिल्लामा मात्रै अहिलेसम्म परीक्षण केन्द्रित गरिएको थियो ।
बाँके र बर्दियामा धेरै बिरामी पाइएका थिए । त्यस्ता बिरामीको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चाप छ । पछिल्लो समय सरकारले सिकलसेल परीक्षण दायरा बढाएको छ । यसअघि लुम्बिनी प्रदेशका बाँके र बर्दियामा मात्र रहेको सिकलसेल कार्यक्रम अहिले तराईका सबै जिल्लामा पुर्याइएको छ । जसले गर्दा परीक्षण बढ्न थालेको छ ।
परीक्षण उपकरण नभएका जिल्ला अस्पतालमा नयाँ मेसिन जडान गर्न थालिएको छ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा परीक्षण मेसिन जडान गरिएको छ । यसैक्रममा बर्दियाको गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका बासिन्दाको स्वास्थ्य परीक्षण गर्दा थारु बाहेक अन्य समुदायका व्यक्तिमा पनि सिकलसेल पाइएको छ ।
यसले स्वास्थ्य कार्यालयले जिल्लाभर सबै जातजातीका मानिसको सिकलसेल परीक्षण गर्नु पर्ने देखाएको छ । पहिलो चरणमा बर्दियामा थारु समुदायका बाहेक दुई जना अन्य समुदायका व्यक्तिमा सिकलसेल पत्ता लागेको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार यसरी पत्ता लाग्ने एक जना पहाडबाट बसाइँ सरेर आएका व्यक्ति हुन भने एक जना मधेशी समुदायका छन् ।
बर्दियामा पछिल्लो पटक १ हजार ८ सय ३४ जनालाई सिकलसेलको परीक्षण गरिएको थियो । ती मध्ये २ सय ७४ जनामा सिकलसेल पत्ता लागेको थियो । २ सय ७४ मध्ये २ जना थारु बाहेक समूदायका भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्