कथा : प्रार्थना
‘सोभन बाबु छिटो उठ ! ८ बज्यो । चिया ल्याएको छु छिटो हात मुख धोएर चिया पिऊ ।’ मामुको स्वरमा आज पनि उस्तै माया मिसिएको थियो । एक वर्ष पछि घरको न्यानो ओछ्यान पाएको थिएँ मैले । गएको वर्ष त मेरो जेलमै बित्यो । नखाएको विष लाग्यो मलाई । मेरो कारणले मामु बाबा निकै दुःखी हुनुभयो तर आफ्नो सन्तानले जति नै दुःख दिए पनि उनीहरू आफ्नो अभिभावकको लागि सधैँ प्यारा हुँदा रहेछन्, विशेष गरी आफ्नी आमाको ।
म सोभन अधिकारी । बाबा र मामुको मुटुको टुक्रा, बाबा मामुको एक मात्र छोरो । परिवारमा बाबा, मामु, बहिनी र म थियौँ । बाबा र मामुले राम्रो संस्कार दिएर हुर्काउनु भएको थियो । बहिनी र मेरो पढाई राम्रै थियो । बाबा सरकारी वकिल हुनुहुन्थ्यो भने मामु गृहिणी । मेरो पढाई राम्रो भएको कारणले बाबा सधैँ मलाई अस्ट्रेलिया पढ्न जानको लागि अनुरोध गरिरहनु हुन्थ्यो । तर मामुको इच्छा थियो कि म नेपालमै पढूँ । मलाई पनि विदेशप्रति खासै मोह थिएन । त्यसैले म आफैँले पनि विदेश जाने खासै चासो देखाइन । नेपालमै पढ्ने मेरो मनसाय बुझेपछि बाबाले कर गर्न छोड्नुभयो ।
त्यसपछि काठमाडौँकै नाम चलेको कलेजमा मैले वीएस्सी पढ्न थालेँ । प्लस टु पढ्दा खासै साथीको सङ्गतमा नपरे पनि ब्याच्लर लेभलमा साथीहरूसँग मेरो अधिकांश समय व्यतीत हुन थालेको थियो । म आफैँलाई डर लाग्थ्यो कि साथीहरूको सङ्गतले गर्दा कतै मेरो पढाई नबिग्रियोस् ।
साथीहरूको समूहमा मसँग सबैभन्दा मिल्ने साथी सोनाम थियो । सोनाम गुरुङ, जसको बुवा विदेशमा हुनुहुन्थ्यो । जो धनाढ्य परिवारको एकमात्र सन्तान थियो । उसको बुवाले उसको हरेक इच्छा बिना कुनै हिचकिचाहट पूरा गरिदिनु हुन्थ्यो । त्यसैले पनि होला, उसको रवाफ हाम्रो समूहमा अलि भिन्न थियो । सोनामको पढाइ पनि खासै राम्रो थिएन । म प्रायः ऊसँग टाढै बस्ने बहाना खोजिरहन्थेँ । तर सोनाम कुनै न कुनै बहानामा मेरो नजिक आइरहन्थ्यो । ऊसँग म जस्तो कोही पनि मिल्दैन थिए । सायद उसको आनीबानीको कारणले पनि होला, ऊसँग कोही नजिकिन सकेनन् ।
म सोनामसँग नजिकिएको देखेर मलाई धेरै साथीहरूले चेतावनी समेत दिन्थे तर म कसैको पनि कुरा सुन्दिन थिएँ । सुनेर पनि के गर्न सक्थेँ र ? सोनाम यसै पनि लिसो टाँसिएझैँ मसँग हरेक समय सँगै हुन्थ्यो । सोनाम बदमासहरूको समूहमा पर्थ्यो । उसलाई त केही कुराको परवाह नै थिएन । तर मलाई आफ्नो बाबा र मामुको धेरै डर लाग्थ्यो । उहाँहरूले धेरै सपना सजाउनु भएको मेरो भविष्यको लागि । तर मलाई जुन कुराको डर थियो, त्यही भयो । म सोनामको सङ्गतमा धेरै रमाउन थाले । पढाइमा मेरो ध्यान कम जान थाल्यो । उसले जतिबेला जहाँ भन्यो, म त्यही उसको पछिपछि लागेर जान्थेँ । मलाई बाबा र मामुको डर लाग्न छोडिसकेको थियो ।
हाम्रो कलेजमा दिया नाम गरेकी राम्री केटी थिइन् । गोरी अनि अग्ली । केटाहरू उनको लागि मरिहत्ते गर्थे । बीबीएस पढ्ने दिया र मेरो पढाई एउटै समयमा हुन्थ्यो । दिया बस्नेत पढाइमा पनि निकै तेज थिइन् । उनी खासै कसैसँग पनि धेरै बोल्दिन थिइन् । उनी स्कोलरशीपमा अध्ययन गरिरहेकी थिइन् ।
सोनाम दियाको पछि पछि लागिरहन्थ्यो । सोनाममा दियालाई जसरी पनि आफ्नो बनाउँछु भन्ने अहम् थियो । त्यसैले त बुवाले विदेशबाट पठाइदिनु भएको पैसाले उसले दियाको लागि महँगो महँगो उपहार किन्थ्यो । तर सोनामले जति उपहार दिए पनि दियाले त्यो उपहार सोनामलाई नै फिर्ता गरिदिन्थिन् ।
‘भ्यालेन्टाइन डे’ आयो । पश्चिमी संस्कृति भए पनि यसले नेपालीहरूको मस्तिष्कमा बलियो जरो गाडेको थियो । त्यस दिन कलेजमा खासै पढाई भएन । दियाले मलाई एक्लै भएको मौका पारेर एउटा पत्र मेरो हातमा राखिदिइन् । मलाई उनको त्यो पत्र कतिखेर खोलौँ झैँ भइरहेको थियो । फेरि मलाई सोनामको डर पनि लाग्न थाल्यो । त्यसदिन सोनामले दियालाई प्रेमपत्र दियो अनि दियाले मलाई दिइन् । घर पुगेर दियाको पत्र पढ्न थालेँ ।
“प्यारो सोभन !
धेरै दिनदेखि मनमा लागेको कुरा आज तिमीलाई यस पत्रमा लेख्दै छु । हुन त मनमा लागेको कुरा भन्न प्रणय दिवस नै पर्खिनुपर्ने त थिएन तर आजै जुरेछ । तिमी र सोनाम धेरै मिल्ने साथी हौ मलाई थाहा छ । तर सोनाम राम्रो मान्छे हैन । उ घमण्डी छ । त्यतिमात्रै हैन, उ आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छ । म सोनामलाई हैन, तिमीलाई मन पराउँछु । तिमीलाई म पुरानै ट्यालेन्ट सोभन भएको हेर्न चाहन्छु । अनि म तिम्रो हात समाएर सारा जीवन सँगै हिँड्न चाहन्छु । यदि मेरो प्रस्ताव तिमीलाई स्वीकार्य छ भने भोलि क्लास सकिएपछि म तिमीलाई कलेज बाहिरको पार्कमा पर्खिरहेको हुन्छु । बाँकी तिम्रो इच्छा
उही तिमीलाई माया गर्ने
दिया ”
दियाको प्रेमपत्र पढिसकेपछि मलाई खल्खल्ती पसिना आयो । माया त मलाई पनि दियाको लाग्थ्यो तर उनलाई भन्ने आँट कहिल्यै पनि आएन मलाई । किनभने सोनामले एकोहोरो पाराले दियालाई मन पराइरहेको थियो । र, म यो राम्रोसँग जान्दथें कि उ आफूले चाहेको कुरा पाउन जे गर्न पनि तयार थियो ।
मैले दियालाई फोन गरी उनलाई कलेज बाहिरको क्याफेमा भेट्ने बाचा गरेँ ।
भोलिपल्ट सोनाम मक्ख पर्दै कलेज आयो । “सोभन, तँलाई थाहा छ ? दियाले मेरो प्रेम प्रस्ताव स्वीकार गरिन् नि ।” उसले त्यसो भन्नासाथ मलाई भाउन्न छुट्यो । एकदिन अगाडिसम्म मलाई सोनामबाट टाढा बस्न सुझाव दिने दियाले त्यस्तो कसरी गर्न सक्छिन् ? सोनामको कुरा सुन्दै थिएँ, दियाले ठ्याक्कै म्यासेज गरिन् । “२ बजे बाहिरको क्याफेमा है ।” सोनामको कुरा सुनेपछि दियासँग भेट्ने इच्छा त सेलाइसकेको थियो तर पनि दियाको कुरा सुन्न पनि म त्यहाँ उनले दिएको समयमा पुगें ।
दियालाई भेटेपछि थाहा भयो ,उनले सोनामको डरले मात्रै त्यो प्रस्ताव स्वीकारेकी रहिछिन् । अबको बाटो कसरी हिँड्ने भन्नेबारे दुवैले सोच्न सकेका थिएनौँ । तर मैले केही न केही उपाय निकालौँला भनेर दियालाई आश्वासन दिएँ । दियाले क्यापचिनो मगाइन् अनि मैले मोक्का ।
कफी पिएर दुबैजना बाहिर के निस्केका थियौँ, ठ्याक्कै सोनामसँग भेट भयो । रिस र क्रोधले चुर भएको सोनामले केही नबोली आफ्नो ब्यागबाट बोतल झिकेर दियाको अनुहारमा तरल पदार्थ छ्यापिदियो । दिया छट्पटाउन थाली । सोनामले छ्यापेको त्यो तरल पदार्थ एसिड थियो ।
त्यसपछि सोनाम सुइँकुच्चा ठोक्यो । तुरुन्तै पुलिसको भ्यान आयो । देख्नेहरू सबै चुप रहे । पुलिसले मलाई समातेर लग्यो । दियालाई उनको आफन्तहरूले अस्पताल लिएर गए । पुलिसलाई मैले सही साँचो बयान दिने धेरै कोसिस गरे पनि पत्याइएन । किनभने सोनामले छ्यापेको त्यो एसिडको बोतल मेरै ब्यागमा राखिदिएको रहेछ । अनि पुलिसलाई खबर गर्ने पनि उ नै रहेछ । एक वर्षसम्म मैले बिना गल्तीको सजाय भोगिरहेँ । आफ्नै बाबा सरकारी वकिल भएर पनि निर्दोष छोराको पक्षमा मुद्दा लड्न सक्नु भएन । यस्तो लाग्यो, आज पनि पैसा र पावर जस्तो ठूलो कुरा केही छैन ।
एक वर्षदेखि एसिड आक्रमणले पीडित मेरी दियाको अवस्थामा केही सुधार आयो । एसिडले उनको अनुहारको आधा भाग जले पनि उनी मेरो लागि उत्तिकै सुन्दर थिइन् । बाबा र मामुसँग मैले दियासँग विवाह गर्ने अनुमति मागेँ । उहाँहरूले खुसी खुसी मलाई अनुमति दिनुभयो । हाम्रो सामान्य तरिकाले विवाह भयो ।
दियाको अनुहार बिगारेर जाने सोनाम त कता पुग्यो थाहा छैन । तर, दियाको अनुहारमा खुसी देखेर मैले सजिलै एक वर्षभरि आफूले पाएको सजायलाई बिर्सेँ । दिया मेरो साथ पाएर खुसी भई । उनलाई सधैँभरि खुसी देख्न पाऊँ भनेर मैले ईश्वरसँग प्रार्थना गरेँ । – Ratopati
प्रतिकृया दिनुहोस्