July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बाथका बिरामीले कस्ता खानेकुराबाट बच्ने ?

सामान्यतः बाथरोगको समस्या बढी मात्रामा महिलालाई देखिन्छ भने पुरुष पनि यसबाट शिकार हुन्छन्। बाथ हुँदा जोर्नी दुख्छ र सुन्निन्छ। यसका लागि उपचार र पेनकिलर्स दिइन्छ। तर, अनुसन्धानहरुबाट के देखिएको छ भने, यदि बाथ बढाउने खालका खाना खाइएको छैन भने यसलाई नियन्त्रण गर्न सकिन्छ। बाथ धेरै प्रकारका हुन्छन्। तिनमा ओस्टियो बाथ र रुमाटाइड बाथ बढी मात्रा हुने गरेको भएको पाइन्छ। 

Advertisement

ओस्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ। यसले ती अंग चलाउन पनि गाह्रो हुन्छ। परिवारमा पहिला कसैलाई बाथ भएकोे छ भने यसको चपेटामा अरु सदस्य पर्ने सम्भावना बढी हुन्छ। बाथ हुँदा जोर्नी दुख्ने, सुन्निने, अंगले काम गर्न समस्या हुने, रातो हुने आदि लक्षण देखिन्छ।

Advertisement

के गर्ने ? 
आराम गर्ने,
बाथ भएको ठाउँमा चिसो या तातोले सेक्ने,
तौल कम गर्ने,
शारीरिक अभ्यासमा जोड दिने,
जोर्नी प्रत्यारोपणको उपचार गर्ने, आदि।

बाथका रोगीले यी खानेकुराबाट बच्नुपर्छ 
फ्राइ गरेको या प्याकेटको खाना

अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको (जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु आदि) खानेकुरा खानु हुँदैन। यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाइ कम गर्न सहयोग पुग्छ। 

बढी तताइएको खाना
सन् २००९ मा गरिएको एक अध्ययनले बाथरोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो। यस्ता खानाले पनि बाथको समस्या बढाउने गर्छ। 

चिनी
आवश्यकताभन्दा बढी खाँदा जुनसुकै खाद्यपदार्थले पनि असर गर्छ। चाहे त्यो नुन होस् या चिनी। गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ। यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुँदैन। 

दूधजन्य पदार्थ
दूध, दही शरीरका लागि फाइदाजनक हुन्छ। यसबाट भरपूर क्याल्सियम पाइन्छ। तर, बाथरोगीका लागि दुग्धजन्य पदार्थ हानिकारक मानिन्छ। अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाइलाई झन् बढाउँछ। यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सिमी, दाल बढी मात्रामा खानुपर्छ। 

मदिरा र सुर्तीजन्य पदार्थ
मदिरा र सुर्तीजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ। झन् बाथका रोगीले त यसलाई छुनै हुन्न। यसले जोर्नी दुख्ने क्रम बढाउँछ। साथै, शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ।