September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

मान्छे भेटिएको सूचना !

नेपाली कविताका क्षेत्रमा स्थापित नाम हो, चन्द्र गुरुङ । कविता किन लेख्ने ? कविता कसले पढ्छ र ? भन्नेहरूले चन्द्रका कविता पढे कविताको शक्ति थाहा पाउन सक्छन् ।

Advertisement

मैले चन्द्रलाई सशरीर चिन्नुअघि उनको कवितामार्फत चिनेको हुँ । र, ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ कृतिबाट कवितामा उनको सामर्थ्य बुझेको हुँ ।

Advertisement

दुःखका पहाड जसले बढी उक्ल्यो उत्ति नै जीवन खँदिलो बन्ने रहेछ । मैले व्यक्तिगत रूपमा चन्द्रको जीवनलाई पढ्न नपाए पनि उनका सिर्जनाले उनको जीवन र भोगाइ स्पष्ट रूपमा बुझ्न सकेको छु ।

महलमा बसेर दुःखका कविता के फुर्न सक्छन् होला र ! कंक्रिटको जंगलमा बसेर हिमाल, पहाडका कविता कसरी फुर्न सक्छन् होला र ! खाडीका रापिला बाफहरूसँग साक्षात्कार नभई कसरी त्यहाँका कविता कोर्न सकिन्छ र ?

कविता लेख्नका लागि केही ऊर्जा त अवश्य चाहिन्छ । त्यो ऊर्जाको खानी मैले चन्द्र गुरुङमा पाएको छु भन्दा अतिरञ्जना नहोला ।

यति बेला चन्द्रको दोस्रो कविताकृति ‘जब एउटा मान्छे हराउँछ’ प्रकाशनमा आएको छ । यसमार्फत चन्द्रका कविताहरू फेरि पनि पढ्ने अवसर प्राप्त भएको छ ।

कवि चन्द्र अत्यन्त सरल मिजासका व्यक्ति हुन् । उनका कविताले पनि यही स्पष्टोक्ति दिएको छ । कविता सरल हुनुपर्छ भन्ने मान्यता मेरो छ । र, चन्द्रका कविताहरू पनि सरल, बोधगम्य तथा बौद्धिक छन् ।

विविध शीर्षकमा उपशीर्षक जोडेर लेखिएका ५१ थान कविताहरूको सँगालो ‘जब एउटा मान्छे हराउँछ’ भित्रका कविताहरूले हाम्रै समकालीन युगको प्रतिनिधित्व गरेका छन् ।

कवि चन्द्रले वर्तमान युगको असामान्य प्रवृत्ति तथा नेपाली राजनीतिले गिजोलेका अनेकन् समस्याहरूलाई कवितामार्फत प्रस्तुत गरेका छन् ।

कविसँग दिल खोलेर गफिन पाएको छैन । सँगै चियाको चुस्की लगाउन पाएको छैन । न त सन्ध्याकालीन समयमा सिसीहरूलाई साक्षी राख्न सकिएको छ ! तर, किन–किन उनी मेरा नजिकका आफन्तजस्तै लाग्छन् । वर्षौँदेखिको चिनजान भएजस्तो ।

खासमा मलाई आफन्तभन्दा पनि कविहरू बढी आफन्त लाग्न थालेको छ, अचेल । करिब दुई दशक विदेशी भूमिमा ऊर्जावान् पसिना सिञ्चन गरेका चन्द्र स्वदेशको चिन्ता कवितामार्फत पोख्छन् । कर्मभूमिमा रहँदा बढी देश दुख्दो रहेछ । तर, देशमा रहँदा बेरोजगार र बेथितिको चाङले कर्मभूमि सम्झिँदो रहेछ । यो हाम्रो दुर्भाग्य नै हो ।

गाडी राम्र्रो भएर मात्र नहुने रहेछ, चालक गतिलो नपरेपछि दुर्घटना त पर्ने नै भयो । चालक गतिलो बनाउन चन्द्रका कविताले आग्रह गरेका छन् ।

अर्को कुरा, जनता नभएको देशमा हामी बस्ने रहेछौँ ! किनकि, यहाँ सबै कार्यकर्ता भएका छन् । नेताले कालोलाई सेतोभन्दा पनि ताली पड्काउने, देशमा जनताको खडेरी परेको निष्कर्ष कविको छ ।

कार्यकर्ता–१,२ र ३ कविताहरूको आशय यस्तै छ–
…थुनिएको कान, छोपिएको आँखा 
जब उसलाई देशका लागि बोलाइयो, 
उसले केही सुनेन, उसले केही देखेन ।

चन्द्रका कविताहरू हेर्दा सामान्य लाग्छन् । तर, गहिरिएर सोच्दा कविताभित्र समाजका कटु सत्य उजागर भएको पाइन्छ । एउटा मान्छे हराउँदा खासै फरक नपर्ला । तर, हुलका हुल युवाजत्था हराउँदा देखिएको विकृतिको विकराल पहाडको समाधान कहिले गर्न सक्ला हाम्रो देशले ? छाती भतभती पोल्छ ।

चन्द्र मनमस्तिष्कमा देश राखेर खाडीको रापिलो घाममा पनि देशकै कविता लेखिरहेका छन् । उनको निष्कर्ष देशले के दियोभन्दा पनि हामीले देशलाई के दियाँै नै भन्ने छ ।

चन्द्रका कविताहरूमा जीवनका गीतहरू भेटिन्छन् । आक्रोश पनि भेटिन्छ । चराका कथा, झरीको सौन्दर्य, कवि र कविताका कुरा अनि मान्छेमा हुने जातीय विभेद सबै–सबै भेटिन्छन् ।

उनी सरलतासँगै मिठो व्यंग्यको घोल मिसाएर कविता सिँगार्न खप्पिस छन् । युवाशक्ति परदेशमा हराएर स्वदेशका बारीका पाटा र खेतका गराहरू बाँझो रहेको उनको चिन्ता त छ नै, देश हाँक्नेले चिन्न नसकेका युवाशक्तिको पीडा पनि उनले कवितामार्फत पोखेका छन् ।

आफन्त गुमाउनुको पीडा गुमाउनेलाई मात्र थाहा हुन्छ । विदेशको रापिलो घाममा ढाड सेक्नेहरूको पीडा महलको एसीमा बस्नेहरूलाई के थाहा ! तिनै महलमा बस्नेहरू अनि सुन्दर देशका कुरूप शासकहरूको घैँटोमा घाम लाग्न सक्छ कि भन्ने झिनो आशा चन्द्रका कविताहरूको आवाज हो ।

उनका कवितामा आक्रोश र कुण्ठा मात्र छैन, जीवन र प्रेमका सुन्दर विम्बहरू पनि छन् । उनको विचारमा कविता लेखिरहन्छ जीवनले । लेखिरहेको पनि छ ।

‘…जीवन एउटा कवि हो, निस्कन्छ एक दिन नयाँ यात्रामा र छोडेर जान्छ कविताजस्ता सुन्दर यादहरू ।’ 
जब एउटा मान्छे हराउँछ, 
आमाको आशीर्वाद हराउँछ
भत्किएको घरको डिलमा झोक्रिएको 
बूढो बाको भरोसा हराउँछ 
एउटा सिउँदो बेर्ने न्यानो अँगालो हराउँछ ।

‘…असल कविसँग बालकोचित् गुण हुन्छ रे । तिनमा लोभ–लालच, छलकपट, धुत्याइँ, कुटिलता मरेकाटे भेटिन्न । सरलता, बोधगम्यता अनि मिठास पाएर ती अपार सुखानुभूति गर्छन् । चन्द्रले यस्तै केही गर्न खोजेका छन् कवितामा ।’ राजकुमार बानियाँका यी पंक्तिहरूजस्तै सुन्दर छन् चन्द्रका कविताहरू । चन्द्रजस्तै शालीन छन् कविताहरू । baahrakhari