February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

शैक्षिक गुणस्तर सुधार गर्न लुम्बिनीमा प्रधानाध्यापकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर

लुम्बिनी– नगरभित्रको शैक्षिक अवस्था सुधार गर्न स्थानीय तहहरुले विभिन्न उपायहरु अपनाइरहेका छन् । निःशुल्क शिक्षा, दिवाखाजा, विद्यालय पोसाक वितरणलगायत धेरै योजनाहरु स्थानीय तहले अघि सारिरहेका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले भने विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कक्षा आठसम्म सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुसँग प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएको छ । यसले शिक्षकलाई थप जिम्मेवार बनाई विद्यालयको पठनपाठन प्रभावकारी हुने विश्वास गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताए ।

Advertisement

कक्षा ८ को नगरस्तरीय परीक्षामा १२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको र कतिपय विद्यालयको नतिजा शून्य नै आएपछि नगरपालिकाले शैक्षिक गुणस्तर खस्केको निष्कर्ष निकालेको थियो । नतिजा निराशाजनक आएपछि अधिकांश विद्यालयमा कक्षा ९ सञ्चालन नै हुन नसक्ने अवस्था सिर्जना भएको छ । नतिजा खस्किएपछि केही प्रधानाध्यापकहरुले सबै विद्यार्थी उत्तीर्ण गराई दिन नगर प्रमुख सजरुद्दिन खाँन समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।

नगर कार्यपालिकाको जेठ २६ गतेको पहिलो बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी सबै विद्यार्थीलाई न्युनतम ग्रेड प्रदान गरी उत्तीर्ण गराउने र शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ८ सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकलाई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जनाए ।

प्रतिबद्धतापत्रमा समयमै विद्यालयमा उपस्थित हुने, विदा स्वीकृत नगराई अनुपस्थित नहुने, राजनीतिक गतिविधिमा भाग नलिने, विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान अभिवृद्धिमा जोड दिने एवं विद्यालयको सरसफाईमा ध्यान दिने लगायतका विभिन्न १० वटा बुँदाहरु समेटिएका छन । यसका साथै कार्यपालिकाले नगरको समग्र शिक्षा क्षेत्र सुधारका लागि राय सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा सुधार समिति समेत गठन गरेको छ ।

‘नगरमा शैक्षिक स्तर खस्किएपछि हामीले विशेष चासो दिएका हौं’, पाण्डेयले भने, ‘शिक्षकका कारण विद्यालयको शैक्षिकस्तर नखस्कियोस् भन्नेमा हामी सजग हुँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएका छौं । यसले शिक्षा सुधारमा केही मात्रामा भए पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’ पाण्डेयले नगरको शैक्षिक अवस्था सुधार गर्न विशेष योजना बनाएर काम गर्ने जनाए ।

बीचमै विद्यालय छाड्ने विद्यार्थीलाई रोक्ने, विद्यालयको पहुँच बाहिरका विद्यार्थीलाई अभिभावकहरुसँगको सहकार्यमा विद्यालयसम्म ल्याउने, विद्यालयका भौतिक संरचना निर्माणदेखि आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने नगरपालिकाको योजना छ । ‘हाम्रो चाहना लुम्बिनीको शिक्षा जिल्लामा मात्रै होइन्, मुलुकभरमै अब्बल हुनुपर्छ भन्ने हो’, पाण्डेयले भने, ‘यसका लागि हामी स–साना कुराहरुबाट सुधार गर्दै लैजान्छौं ।’ नगरभित्र कक्षा आठ संचालित निजी, सामुदायिक र मदरसा गरी ३२ विद्यालय छन् ।