कुटपिटमा उत्रिएकी राज्यमन्त्री बुटवलतिर, प्रेमी खोज्दै प्रहरी


भैरहवा– आफ्नो प्रेमीको श्रीमती र बालबच्चालाई कुटपिटको आरोप लागेकी लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई दाङबाट बुटवल पठाइएको छ । मंगलबार बिहान घरभित्र पसेर प्रेमीको श्रीमती र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई दाङ प्रहरी नियन्त्रणमा लिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीस्थित एकराज बस्नेतको घरमा राज्यमन्त्री वली प्रवेश गरी पत्नी मिना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । राज्यमन्त्री वली मंगलबार बिहान बडी गार्ड र गाडीसहित उनका प्रेमी भनिँदै आएका बस्नेतका घर पुगेकी थिइन् ।
राज्यमन्त्री वली बस्नेतको घरमा पुगेको देखेपछि स्थानीय पहिले नै सशंकित भएर निगरानी बढाएका थिए । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले उत्तेजित भिडले राज्यमन्त्री वलीमाथि आक्रमण प्रयास गरिरहेको अवस्थामा उद्धार गरिएको जनाए । ‘मन्त्रीज्यू, घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा हामीले उद्धार गरेका हौं’, उनले भने ।
राज्यमन्त्री घरभित्र प्रवेश गरी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना र उनकी अढाइ वर्षीया छोरीलाई कुटपिट गर्नुको साथै सरसमान यत्रतत्र फालिदिएको थाहा पाएपछि स्थानीय जम्मा भएर उनलाई घरभित्रै थुनेर राखेका थिए । त्यो सूचना पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई उद्धार गरी ल्याएको थियो । ‘मिना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएको हुँदा बाहिर मानिसहरू जम्मा भई मोसो दल्ने वा कुटपिटको तयारी भइरहेको रहेछ,’ उपाध्यायले भने, ‘त्यहीबेला प्रहरी पुगेर उहाँलाई उद्धार गरी इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइएको हो ।’
वातावरण केही शान्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा आपसमा छलफल गराई विवाद साम्मे तयारी गरिरहेको बेला खबर बाहिरिएपछि स्थानीय सर्वसाधारण पनि राज्यमन्त्रीविरूद्ध उत्रिएका थिए । इप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले दिउँसो पौने १ बजेतिर राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्याएको थियो ।
राज्यमन्त्री विमलाले कुटपिटमा उत्रिनुको पछाडिको कारण के थियो ? भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन । प्रशासनमै रहेकाबेला लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले डिआइजीलाई फोन गरेर विमलालाई बुटवल पठाउन भनेका थिए । त्यसपछि उनलाई बुटवल पठाइएको हो । ‘हामीले परिस्थिति सबै सहज भएकाले र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरेको हुँदा यहाँबाट पठाएका छौं’, डिआइजी उपाध्यायले जनाए ।
यसैबीच राज्यमन्त्री विमलाकुमारी खत्री वलीले आफू र छोरीलाई घरमै आएर कुटपिट गरेको भन्दै तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर उजुरी दिएकी छन् । डिआइजी उपाध्यायले मिनाले विमलाविरूद्ध आफू र छोरीमाथि अनाहक घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएको जानकारी दिए । प्रहरीले विमलाको प्रेमी भनिएका मिनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन भएको जनाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले बतायो ।








प्रतिकृया दिनुहोस्